दुर्गा प्रसाईंमाथि  अनुसन्धान गर्न १२ दिनको म्याद थप


काठमाडौं । 

तीनकुने घटनाका मुख्य आरोपी बिबादस्पद ब्यापारी दुर्गा प्रसाईंविरुद्ध १२ दिन म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौँले उनीमाथि अनुसन्धान गर्न शुक्रबार प्रहरीलाई १२ दिनको म्यादको समय सीमा दिएको हो । 

साथै, जिल्ला न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले उनी क्यान्सरको बिरामी भएकाले उपचारको उचित प्रबन्ध गर्न निर्देशनात्मक आदेश समेत दिएका छन् । 

 प्रहरीले झापाको बिर्तामोडबाट शुक्रबार उनी  पक्राउ परेको जनाएको छ । प्रहरीले उनलाई आजै झापाबाट काठमाडौँ ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराएको हो । 

गत  चैत १५ मा तीनकुनेमा उनी संयोजक रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को नेतृत्वमा तीनकुनेमा प्रदर्शन आयोजना गरिएको थियो, जो पछि हिंसात्मक हुनु पुग्दा २ जनाको ज्यान गएको थियो भने करोडौंको क्षति हुन पुगेको थियो ।