नेपालको फाइनल सम्भावना बलियो


काठमाडौं ।

नेपालले हङकङमा जारी चार देश सम्मिलित टी २० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । पहिलो खेलमा कतारलाई ८ विकेटले हराएको नेपालले बिहीबार कुवेतलाई ६ विकेटले हराएको हो । योसँगैं ४ अंक जोड्न सफल नेपालले फाइनल पुग्ने संभावना बलियो बनाएको छ ।

मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । पहिलो विकेटका लागि १ सय २७ रनको शतकीय साझेदारी गर्दै कुशल भुर्तेल र आसिफ शेखले जित्ने आधार बनाएका थिए । कुशल ८१ रन र आसिफ ५३ रनमा आउट भए ।

उनीहरू आउट भएलगतै कुशल मल्ल पनि आउट हुँदा नेपालमाथि दवाव परेको थियो । तर, दीपेन्द्रसिंह ऐरीले १२ बलमा ३१ रन बनाएर जित पक्का गरेका थिए ।

यसअघि पहिलो ब्याटिङ गरेको कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो । नेपालका बलरमा सोमपाल कामीले ३, नन्दनले २ तथा ललित राजवंशी र कुशल भुर्तेलले १–१ विकेट लिए ।