काभ्रेको रोशीमा बस दुर्घटना, ११ जना घाइते


काभ्रे ।

काठमाडौंबाट रामेछापको उमाकुण्ड गाउँपालिका–बाम्तीभण्डारतर्फ जाँदै गरेको बस काभ्रेको रोशी गाउँपालिका–९ दाउन्नेमा दुर्घटना भएको छ। प्रदेश ०१–००६ ख १३३९ नम्बरको उक्त बस बिहीबार बिहान साढे ८ बजे विपी राजमार्गमा चिप्लिएर बाँसको झ्याङमा खसेको हो।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख इन्सपेक्टर कृष्ण गिरीका अनुसार दुर्घटनामा ११ जना यात्रु घाइते भएका छन्, जसमा एक जनाको अवस्था गम्भीर छ। घाइतेहरूको मंगलटारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

दुर्घटनास्थल नजिकै काठमाडौंतर्फ आउँदै गरेको मे १ ख ३३९४ नम्बरको हाइस गाडी समेत बससँग ठोक्किएको थियो। यद्यपि हाइसका सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ। बस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।