काठमाडौं
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आज कम्पनीका सञ्चालक समिति तथा उच्च व्यवस्थापनको उपस्थितिमा अध्यक्ष डा. रामहरि अर्यालले ई–लोन सेवा उद्घाटन गरेका छन् । योसँगै कम्पनीले अब घरबाटै बीमितले ऋणका लागि आवेदन दिन र ऋण प्राप्त गर्न सक्ने सुविधा उपलब्ध गराएको छ ।
यो सेवाअन्तर्गत बीमितले घरबाटै आईएमई लाइफ मोबाइल एप वा आइएमइलाइफ डट कमका माध्यमबाट ५ हजार रुपियाँदेखि १ लाख रुपियाँसम्म ई–लोनका लागि आवेदन दिन सक्नेछन् ।
बीमितले कम्पनीको वेबसाइटमार्फत ऋण आवेदन चौबीसै घन्टा आफू रहेको स्थानबाटै दिन सक्नेछन् भने कार्यालय समयभित्र तुरुन्तै र बिदाको दिन कार्यालय समय सुरु हुनेबित्तिकै सजिलै ऋण आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् । यसरी ऋण लिनका लागि कुनै पनि अतिरिक्त सेवा शुल्क लाग्ने छैन ।
ऋण सुविधा पाउनका लागि बीमितको केवाईसी प्रमाणीकरण पूरा हुनुका साथै बीमाशुल्क भुक्तानी गरेको कम्तीमा ३ वर्ष पूरा भइसकेको हुनुपर्नेछ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले आइएमई लाइफ ई–लोन सेवाले कम्पनीका बीमितलाई सरल र सहज कर्जा सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले डिजिटाइजेसन, अटोमेसन र द्रुत सेवा दिने कम्पनीको उद्देश्यमा निरन्तरता दिँदै ग्राहकसेवा र अनुभवलाई थप परिष्कृत र उत्कृष्ठ बनाउँदै लैजाने प्रयासको निरन्तरता रहेको बताए ।
आवेदन दिने बीमितको केवाईसी प्रमाणीकरण गर्ने प्रक्रिया र आवेदन फारम कम्पनीको आधिकारिक वेबसाइट आइएमइ लाइफल डट कम वा लाइफ मोबाइल एपमा प्राप्त गर्न सकिनेछ । ई–लोन सेवासम्बन्धी थप जानकारी लिन परेमा ०१४०२४०७१ सम्पर्क गर्नुपर्नेछ ।











प्रतिक्रिया