बक्सिङ महासंघको अनुमतिविनै खेलाडी विदेशमा


काठमाडौं ।

नेपाल बक्सिङ महासंघले आफ्नो स्वीकृति बिना बक्सिङ खेलाडी र प्रशिक्षकलाई विदेश पठाएको आरोप लगाउँदै आवश्यक छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) मा निवेदन दर्ता गरेको छ ।

महासंघका महासचिव मानबहादुर भण्डारीले चैत्र २५ गते सोमबार राखेपमा छानबिनका लागि निवेदन दर्ता गरेका हुन् । महासंघले २०२५ को अप्रिल ४ देखि १४ तारिखसम्म सर्बियाको ज्लातिबोरमा आयोजना हुँदै गरेको आईएसएफ यु–१५ जिम्नासियाड २०२५ को लागि नेपाल बक्सिङ महासंघले कुनै छनौट प्रक्रिया सञ्चालन नगरेको र उक्त प्रतियोगितामा सहभागिता जनाउने खेलाडी र प्रशिक्षकलाई स्वीकृति नदिएको जानकारी दिँदै राखेपमा दर्ता गरेको निवेदनमा उल्लेख गरिएको छ ।


सर्वियामा जारी रहेको उक्त प्रतियोगितामा नेपालबाट बक्सिङ खेलाडी रुम्बा लामा र प्रशिक्षक दोर्जे घले सहभागी भएका छन् । महासंघले भने उक्त खेलाडी र प्रशिक्षकलाई स्वीकृति नदिएको र राखेपले अनुमति दिएको भए त्यसको छानबिनको लागि निवेदन पठाएको बताएका छन् । महासचिव भण्डारीले आईएसएफ प्रतियोगितामा आफ्नो अनुमतिको बिना खेलाडीलाई जबरजस्ती पठाएको बताएका छन् । उनले नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष राजकुमार कार्कीसँग यो विषयमा लामो समय छलफल गरिसकेको र महासंघले छनौट प्रक्रिया नगरी खेलाडी र प्रशिक्षकलाई प्रतियोगितामा पठाउन अनुमति नदिएको जानकारी दिएका छन् ।

बक्सिङ खेलाडीलाई गैरकानुनी तरिकाले प्रतियोगितामा पठाइएको र प्रशिक्षक दोर्जे घले प्रमाणित प्रशिक्षक नभएको आरोप महासचिव भण्डारीले लगाएका छन् । उनले कार्कीले खेलाडीबाट ठूलो रकम लिएर उक्त प्रतियोगितामा पठाएको आरोप पनि लगाएका छन् ।

महासचिव भण्डारीले खेलाडी र प्रशिक्षकलाई उक्त प्रतियोगितामा सहभागी गराउन अध्यक्ष कार्कीले करिब तीन लाख रकम उठाएको आरोप पनि लगाएका छन् ।

यस विषयमा कार्कीले लामो समयदेखि बक्सिङ महासंघसँग स्वीकृति प्राप्त गर्न प्रयास गरेपनि अनुमति नदिएको बताए । उनले यो प्रतियोगितामा सहभागी हुनका लागि विद्यालयको अनुमतिपत्र मात्र आवश्यक पर्ने भएकाले बक्सिङ महासंघको स्वीकृति नचाहिने बताएका छन् ।