प्रधानमन्त्री ओलीद्वारा पत्रकार रिसालको निधनप्रति दुःख व्यक्त


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रज पत्रकार भैरव रिसालको निधन भएकोमा दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले रिसालको निधन भएको खबरले मर्माहत बनाएको उल्लेख गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । ओलीले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

रिसालको ९७ वर्षको उमेरमा आइतबार निधन भएको थियो । ओलीले गत फागुन २१ गते रिसालसँग भएका भेट नै अन्तिम भेट हुन पुगेको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

‘हितैषी मित्र भैरव रिसालसँग गत फागुन २१ गते भेट भएको थियो, त्यही भेट अन्तिम हुन पुग्यो, उनको आइतबार निधन भएको खबर सुनेर मर्माहत छु, वरिष्ठ पत्रकार दिवङ्गत भैरव रिसालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, ओलीले लेखेका छन्।