६ खेलअगावै पिएसजी लिग च्याम्पियन


लन्डन, (एजेन्सी) ।

फ्रान्सको क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले ६ म्याच खेल्नुअघि नै घरेलु लिग १ को उपाधि जितेको छ । शनिवार राति आफ्नो घरेलु मैदानमा फ्रेन्च लिग वानअन्तर्गत भएको ३०औं चरणको खेलमा एन्जर्सविरुद्ध १–० गोलअन्तरको जित निकाल्दै पिएसजी ६ म्याच खेल्नु अघि नै घरेलु लिगको च्याम्पियन बनेको हो ।

पिएसजीले लिग १ मा अझै अन्तिम ६ खेल खेल्नै बाँकी छ । तर, २८ खेलबाट ७४ अंक सुरक्षित गरेपछि पिएसजीले ६ खेलअघि नै लिग उपाधिमा आफ्नो नाममा लेखाउन सफल भयो । २८ खेल सकिँदा पिएसजीले लिग तालिकामा ७४ अंक जोडेको छ । दोस्रो स्थानको टिम मोनाकोको खातामा ५० अंक छ ।

शनिवार राति मोनाको आफ्नो खेलमा पराजित भएपछि र पिएसजीले आफ्नो खेल जितेपछि उपाधि जित्न सफल भएको हो । यो समेत पिएसजीले कूल १३औं पटक लिगको उपाधि जितेको हो । साथै, लगातार चौथो सिजन उपाधि जितेको हो ।

अब पिएसजी युईएफए च्याम्पियन्स लिगमा केन्द्रित रहने अनुमान गरिएको छ । पिएसजीले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा इंग्लिस क्लब एस्टोन भिल्लालाई प्रतिस्पर्धी पाएको छ । पिएसजीलाई यस सिजन च्याम्पियन्स लिगको समेत एक प्रमुख दावेदार टिम मानिएको छ ।