वैदेशिक रोजगार व्यवसायीहरु भोट माग्नमा व्यस्त

गेलाल र गुरुङ समूहबीच प्रतिस्पर्धा


काठमाडौं ।

वैदेशिक रोजगार व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि दुई समूहबीच रस्साकस्सी चलेको छ । आगामी २९ चैतमा हुने निर्वाचनको दिन नजिकिएसँगै व्यवसायीबीच चुनावी सरगर्मी बढेको हो ।

आइतबार मात्र नरेश गेलाल नेतृत्वले काठमाडौंको वसुन्धरामा रहेको यति प्यालेसमा चुनावी सभा गरेको छ । यस्तै भुवनसिंह गुरुङ समूहले पनि आफ्नो चुनावी सभालाई द्रुत गतिमा अगाडि बढाएको जनाएको छ । निर्वाचनका लागि संघको अध्यक्षमा गेलाल र गुरुङको समूहबीच प्रतिस्पर्धा हुने भएको हो ।

नयाँ नेतृत्व आफ्नो पक्षमा पार्न एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको असन्तुष्ट पक्षका र एकीकृत समाजवादी निकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको ’सयुक्त व्यावसायिक समूहले अध्यक्षका प्रत्याशी उम्मेदवार गेलालको समूहबाट उम्मेदवारी सार्वजनिक गरेको हो ।

यसैगरी, नेपाली कांग्रेस निकट लोकतान्त्रिक एसोसिएसनको आधिकारिक तर्फबाट अध्यक्षका प्रत्याशी उम्मेदवार भुवनसिंह गुरुङको समूहले एकीकृत माओवादी निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसँगको तालमेलमा आफ्नो १७ सदस्यीय उम्मेदवारी सार्वजनिक गरेको छ । दुवै समूहको जुनावी एजेण्डा न्यूनतम कामदार १ सय हटाउने देखि दुतावास मागपत्र प्रमाणितमा सहज बनाउने सम्म रहेको छ ।