भूपदेवको योजनामा अनियमितता भएको हुन सक्ने आशङ्का

बालेन र भूपदेवविरुद्ध अख्तियारमा उजुरी


–३५ वटा एम्बुलेन्स किन्दा भ्रष्टाचार गरेको आरोप
काठमाडौं ।
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहका (बालेन)का स्वकीय सचिवको भूपदेव शाहको योजनामा एम्बुलेन्स खरिदमा अनियमितता भएको हुनसक्ने आशंकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।


एम्बुलेन्स खरिदमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)को स्वकीय सचिव भूपदेव र बालेनमाथि नै कारबाहीको माग गर्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले छानबिन अघि बढाएको हो । ‘काठमाडौं महानगरपालिकाले एम्बुलेन्स खरिदमा अनियमितता गरेको भन्ने विषयमा उजुरी परेकाले छानबिन थालिएको छ ।’ अख्तियार स्रोतले भन्यो –‘बालेनका स्वकीय सचिव भूपदेवले बद्मासी गरेको हुनसक्छ । ’

यद्यपि एम्बुलेन्स खरिद प्रक्रिया भने बालेनकै निर्देशनमा भएको थियो । त्यसको सम्पूर्ण चाँजोपाँजो भूपदेवले मिलाएकाले उनीमाथि थप अनुसन्धान हुने अख्तियार स्रोतको भनाइ छ । अख्तियारमा परेको उजुरीमा बालेनसँगै उनका स्वकीय सचिव भूपदेव साह र खरिद प्रक्रियामा संलग्न कर्मचारीहरूमाथि कारबाही माग गरिएको छ । सी–०४०५६९ दर्ता नम्बर भएको उक्त उजुरीपत्रमा भनिएको छ, ‘बालेन साहको निर्देशनमा भूपदेव साहको नेतृत्वमा पश्चिम नेपालका पालिकालाई एम्बुलेन्स वितरण गर्ने कार्यक्रम ल्याइयो । सो योजनाअनुसार ३५ वटा एम्बुलेन्स खरिद गर्न स्पेसिफिकेसन निर्माण र लागत अनुमानको चरणमै भ्रष्टाचार गर्ने नियत देखिन्छ ।’

स्वकीय सचिव शाहले एम्बुलेन्स आपूर्ति गर्ने बोलपत्रदाता गाडी कम्पनीसँग २१ मोडलको स्कर्पियो गाडी घुसस्वरूप लिने सहमति गरेको र उनले त्यसैअनुसार खरिद प्रक्रिया अघि बढाएको आरोप उजुरी पत्रमा उल्लेख गरिएको छ ।
बोलपत्र दस्तावेज (बिड डकुमेन्ट) अनुसार सामान आएपछि मात्र भुक्तानी हुने प्रावधान हुँदाहुँदै पनि गाडी कम्पनीले शुरूमै भुक्तानी दिने सर्त राखेको र त्यसलाई महानगरले स्वीकार गरेर खरिद ऐन, २०६३ को दफा ५२(क) विपरीत कार्य भएको उजुरीमा उल्लेख छ ।

उजुरीकर्ताले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(क) र ९ बमोजिम कानुनी कारबाहीको माग गरेका छन् ।
आर्थिक वर्ष २०८०-८१ को बजेटमार्फत ३५ वटा एम्बुलेन्स खरिद गरेर विभिन्न गाउँपालिकाहरूलाई सहयोग गर्ने घोषणा महानगरले गरेको थियो ।