सवारी दुर्घटनामा चार जनाको मृत्यु


काठमाडौं।

अर्घाखाँची, मालारानी गाउँपालिका-३ ढुङ्गाडेस्थित सडकमा सोही गाउँपालिका-४ लुटीपोखरीदेखि खनदहतर्फ जाँदै गरेको लु.२ च २९९० नम्बरको जिप अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा जिप चालक मालारानी गाउँपालिका-४ लुटीपोखरी बस्ने २१ वर्षीय दिलिप खनाल र जिपमा सवार २१ वर्षीय बालकृष्ण रिजालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य २ जनालाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ ।

सोलुखुम्बु, सोताङ गाउँपालिका-२ जुकेस्थित सडकमा सोताङबाट जुकेतर्फ जाँदै गरेको प्र.३-०१-०२४ च ६८१४ नम्बरको बोलेरो गाडी शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार सोताङ गाउँपालिका-५ बस्ने ३० वर्षीया सरिता राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सोताङ प्राथामिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नुवाकोट, ककनी गाउँपालिका-३ ढुङ्गानागाउँ बस्ने ३३ वर्षीय धर्मराज ढुङ्गानाको ना.६ त २०८२ नम्बरको ट्याक्टरमा जडान भएको थ्रेसर मेसिनले च्यापिएर शनिबार दिउँसो मृत्यु भएको छ । आफ्नै बारीमा थ्रेसर मेसिन लगाई फर्किने क्रममा थ्रेसर मेसिन पल्टिएर च्यापिँदा गम्भीर घाइते भएका उनको वीर अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।