भक्तपुरको रमणीय ऐतिहासिक सिद्धपोखरी

376
Shares

हरेक दिनको व्यस्त दिनचर्यापछि जब समय निस्किन्छ मानिसहरू त्यस समयलाई निकै खुशीसाथ बिताउन र आफ्ना परिवार वा साथीसँग समय बिताउन कुनै निश्चित गन्तव्यतिर जान्छन् ।

सुन्दर वातावरण, मनोरम दृश्य अनि स्वच्छ वातावरणमा मानिसले आफ्ना दुःख अनि पीडा केही समयको लागि भए पनि बिर्सिएर खुशी महसुस गर्दछन् । आफ्नो मस्तिष्कका हरेक रोदन अनि तनावलाई हटाएर सकारात्मक ऊर्जा प्रदान गर्न पनि यस्ता ठाउँहरूले महत्त्वपूर्व भूमिका निर्वाह गर्दछन् ।

शायद हामी कोही पनि छैन होला जसलाई घुम्न मन पर्दैन अनि कहीँ पनि घुम्न गएका छैनौं । झन् अहिलेको समयमा मानिसहरूलाई विभिन्न किसिमका तनावले सताइरहेको हुन्छ । आफ्नो दायित्व, कामको दबाब, साथीसँगको चिसिएको सम्बन्ध हरेक कुरालाई पन्छाउँदै मनमा आनन्द र उत्साह थप्नलाई नै मानिसहरू नयाँ ठाउँमा गएर आफ्नो निश्चित समय बिताउँछन् । त्यहाँको वातावरणमा रमेर, त्यस ठाउँलाई नियालेर आफैंमा पोजिटिभ भाइव महसुस गर्दछन् । जसले अर्को समय नमिलुन्जेलसम्ममा काम गर्ने ऊर्जा अनि शक्ति प्रदान गरिरहोस् ।

आजका दिनहरू व्यस्त मात्र होइन, तनावपूर्ण पनि छन् । अनि ती तनावमा रहेका मानिसहरूको गन्तव्यस्थल बन्दै गइरहेको छ भक्तपुरको केन्द्रमा रहेको एउटा पोखरी, जुन सदियौँदेखि सुन्दरताको प्रतीकको रूपमा रहँदै आएको छ । सिद्धपोखरी भक्तपुर जिल्लामा अवस्थित ऐतिहासिक पोखरी हो, जुन भक्तपुर दरबार क्षेत्रबाट केही दूरीमा रहेको छ ।

यो भक्तपुरकै सबैभन्दा ठूलो पोखरी हो, जसले ऐतिहासिक, धार्मिक, पर्यटकीय र मनोरञ्जनात्मक महत्त्व बोकेको छ । राजा जयस्थिति मल्लको पालामा निर्माण भएको सिद्धपोखरी आज आन्तरिक पर्यटकहरूको प्रमुख गन्तव्य बन्दै गएको छ । यसको भौगोलिक अवस्थितिको कुरा गर्ने हो भने यसको लम्बाइ करिब २७५ मिटर, चौडाइ करिब ९२ मिटर र गहिराइ १० फिट रहेको छ । सिद्धपोखरीको चारैतिर हरियाली, ऐतिहासिक पाटीपौवा, मठमन्दिर र परम्परागत वास्तुकलाका संरचनाहरू छन् । यसको वरिपरि बनेका ढुंगे पाटी तथा बस्ने ठाउँहरूले यसलाई झन् सुन्दर बनाएको छ ।

शहरको भीडभाड, सवारीसाधनको कोलाहल र दैनिक तनावबाट टाढा गएर केहीबेर शान्त वातावरणमा हराउन खोज्नेहरू जो–कोहीले पनि यहाँ पुगेपछि शान्त वातावरण अनुभव गर्न सक्छन् । पोखरीको पानीमा परावर्तित नीलो आकाश, वरिपरिका बुट्टेदार काठबाट बनेका ती फलचाहरु र पोखरीमा रहेका रंगीविरंगी माछाहरूले विशेष सुन्दरता दिन्छ । प्राचीन वास्तुकला हेर्ने, फोटोग्राफी गर्ने र शान्त वातावरणमा समय बिताउनेहरूका लागि यो आकर्षक गन्तव्य हो ।

आन्तरिक पर्यटकको प्रमुख गन्तव्य भए तापनि भक्तपुर दरबार स्क्वायर नजिक भएका कारणले गर्दा बाह्य पर्यटक पनि उत्तिकै मात्रामा देख्न सकिन्छ । सिद्धपोखरी भक्तपुरको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्य हो । मल्लकालदेखि वर्तमानसम्म यसको आकर्षण यथावत् रहनुले यसको सांस्कृतिक मूल्य दर्शाउँछ ।

सिद्धपोखरीको चारैतिर हरियाली र यसको जलस्रोतले वातावरणीय सन्तुलन कायम राख्न मद्दत पु¥याउँछ, तर बढ्दो शहरीकरण र प्रदूषणका कारण यसको संरक्षण चुनौतीपूर्ण बन्न थालेको छ । शान्त वातावरण, सुन्दर दृश्य र ऐतिहासिक सम्पदासँगको सम्बन्धले यसलाई आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि एक अद्वितीय स्थान बनाएको छ ।

संरक्षण तथा प्रवद्र्धनका पहलहरू जारी राख्ने हो भने सिद्धपोखरी केवल भक्तपुरकै होइन, नेपालकै प्रमुख सांस्कृतिक सम्पदामध्ये एक बन्न सक्छ । भक्तपुर भ्रमण गर्नेहरूका लागि छुटाउनै नहुने गन्तव्यको रूपमा सिद्धपोखरी रहेको छ ।