एजेन्सी ।
पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ ।
मंगलवार भएको खेलमा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गरेको हो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । टोलीको जितमा ओपनर प्रभसिमरन सिंहले ३४ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ६९ रन जोडे ।
प्रभसिमरनले दोस्रो विकेटका लागि कप्तान श्रेयास अयेरसँग मिलेर ८४ रनको साझेदारी गरे । कप्तान अयेर ५२ रनमा नटआउट रहे । तेस्रो विकेटका लागि कप्तान अयेर र नेहाल बदेराले ६७ रनको साझेदारी गरे । नेहालले २५ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ४३ रनमा नटआउट रहे । लखनउका लागि दुवै सफलता दिग्वेश राठीले दिलाए ।
त्यसअघि लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । टोलीका लागि निकोलास पुरनले सर्वाधिक ४४ रन जोडेका थिए । आयुष बदोनीले ४१ रन बनाएका थिए ।
पञ्जाबका लागि अर्शदिप सिंहले ३ तथा लकि फर्गुसन, ग्लेन म्याक्सवेल, मार्को यानसन र युजभेन्द्र चहलले समान १ विकेट लिएका थिए । लगातार दोस्रो जितका साथ पञ्जाब ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो ।
यस्तै, लखनउले तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ । लखनउ ३ खेलमा २ अंकका साथ तालिकाको छैठौं स्थानमा छ । दिल्ली क्यापिटल्ससँगको पहिलो खेल गुमाएको लखनउले दोस्रोमा सनराइजर्स हैदराबादलाई पराजित गरेको थियो ।
प्रतिक्रिया