भाटभटेनीले सुरक्षा गार्ड पराजुलीलाई पुरस्कृत, पाँच लाख नगद र पाँच ग्रेड बढुवा


काठमाडौँ ।

भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको लुटपाट घटनामा अद्भुत बहादुरी देखाएका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई विशेष सम्मानका साथ पुरस्कृत गरेको ।

सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले एक कार्यक्रमबीच उनलाई ५ लाख १ हजार १ सय ११ रुपैयाँ नगद, एक फूली र पाँच ग्रेड बढुवा प्रदान गर्दै दुबोको माला लगाइदिएर सम्मान गरेका हुन् ।

बुधवार आयोजित एक कार्यक्रमका बिच भाटभटेनीले अर्का एक सुरक्षा गार्डलाई ५१ हजार रुपैयाँ सहित सम्मान गरेको छ । यसैगरी सोही बेला ड्युटीमा अर्का थप दुई जनालाई पनि २५ हजारका दरले सम्मान गरेको छ । यसैगरी कमर्चारीहरुलाई सम्मान गरिएको थियो ।

कोटेश्वरस्थित भाटभेटनी सुपरमार्केटमा अध्यक्ष मीन बहादुर गुरुङले पुरस्कारसहित सम्मानित गरेका हुन् । सुपरमार्केटमा तोडफोड तथा लुटपाट गरिरहेको समयमा कर्तव्य निर्वाह गर्दै अग्रपंंक्तिमा खटिएका कर्मचारी तथा व्यापारलाई निरन्तरता दिन रातभर मर्मत सम्भारमा लाग्न खटिएका कर्मचारीको मनोबल उच्च बनाउन सम्मान गरिएको सुपरमार्केटका सिइओ राजु पौडेलले बताए।

पुरस्कृत पराजुलीले लुटपाटमा संलग्नमाथि गरेको प्रतिकार अहिले सामाजिक सञ्जालमा भाइरल छ । दर्जनौँ सङ्ख्यामा रहेका व्यक्तिहरूलाई उनले लिस्टीले कुट्दै भगाएको भिडियोमा देख्न सकिन्छ । उक्त घटनाका क्रममा करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको कम्पनीले जनाएको छ ।