अन्ततः नेप्सेमा चापागाईं


काठमाडौं ।

सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) चुडामणि चापागाईंलाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले उहाँलाई नियुक्त गर्ने निर्णय गरेको हो।

मंगलबार नियुक्तिपत्र बुझे पनि अर्थ मन्त्रालयमा बुधबार मात्रै पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम आयोजना गरिएको छ।
झापा जिल्लाका चापागाईंले यसअघि सानिमा रिलायन्स इन्स्योरेन्समा नायब महाप्रबन्धकको जिम्मेवारी सम्हाल्नु भएको थियो। सरकारले नेप्सेका प्रमुख कार्यकारी अधिकृत पद खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्न तीन सदस्यीय छनोट समिति गठन गरेको थियो।
उक्त पदका लागि संक्षिप्त सूचीमा परेका ५ जना प्रतिस्पर्धीलाई गत चैत ६ गते अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि आमन्त्रण गरिएको थियो। सीईओ पदका लागि आवेदन दिएका १० जनामध्ये पाँच जना संक्षिप्त सूचीमा पर्नुभएको थियो। संक्षिप्त सूचीमा झापाका चापागाईंसहित सर्लाहीका नारद कुमार लुइँटेल, इलामका पूर्णबहादुर आचार्य, नुवाकोटका बद्रिप्रसाद प्याकुरेल, तथा पाल्पाका हेमन्त बस्याल समावेश हुनुहुन्थ्यो ।

अघिल्लो साताको मन्त्रिपरिषद बैठकले सर्लाहीका नारद कुमार लुइँटेललाई नियुक्त गर्ने निर्णय गरेको थियो। तर, उहाँको नाममा विवाद उत्पन्न भएपछि निर्णय पुनरावलोकन गरिएको जनाइएको छ ।