राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा रिपोर्टिङ गरिरहेका पत्रकारको मृत्यु र सञ्चारसंस्थामाथि भएको सांघातिक आक्रमणको घटनालाई लिएर नेपाल पत्रकार महासंघको अगुवाइमा शनिबार देशभर विरोध प्रदर्शन गरिएको छ ।
प्रदर्शनका क्रममा विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकारहरुले रिपोर्टिङका क्रममा दिवंगत भएका भिडियो पत्रकार सुरेश रजकलाई श्रद्धाञ्जलि अर्पण गर्दै पत्रकारहरुको पेसागत सुरक्षाको ग्यारेन्टीको माग गरेका छन् ।
लामो राजनीतिक अस्थिरता, दलहरूको लोकतन्त्रप्रतिको कमजोर प्रतिबद्धता, भ्रष्टाचार र सरकारको फितलो प्रदर्शनबाट जनमानसमा पैदा भइरहेको निराशालाई चलाखीपूर्वक दुरुपयोग गर्न राजधानी केन्द्रित आन्दोलनमा उत्रिएका राजावादीहरुले शुक्रबार राजधानीमा तोडफोड, आगजनी र लुटपाट मच्चाएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउने ध्येयले सञ्चालित आन्दोलनको एउटा निजी कम्पलेक्सभित्र रहेर भिडियो खिचिरहेका एभिन्युज टेलिभिजनका पत्रकार रजकलाई भित्र थुनेर आगो लगाइदिएपछि जलेको अवस्थामा मृत भेटिएका हुन् ।
नेपाली पत्रकारले समाचार प्रकाशित गरेकै कारण अपराधी तत्वबाट हत्या, हिंसा र सरकारी कारबाही भोग्दै आएका छन् । मुलुकमा सञ्चालित दशबर्से हिंसात्मक द्वन्द्वकालमा पनि नेपाली पत्रकारहरू हत्या र हिंसाका सिकार नभएका होइनन् । २०५२ साल फागुन १ गतेदेखि शुरु भएको सशस्त्र द्वन्द्व २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा आएर टुंगियो । यो अवधिमा कृष्ण सेन ‘इच्छुक’, गोपाल गिरी, नवराज शर्मा ‘वसन्त’, ज्ञानेन्द्र खड्का, ईश्वर बुढाथोकी, डेकेन्द्रराज थापा, अम्बिका तिम्सिना, जितबहादुर घिमिरे, राजकुमार केसी, देवकुमार आचार्य (डी. कौडिन्य), कमल एसी, महेश्वर पहारी, खगेन्द्र श्रेष्ठ र धनबहादुर रोक्का मगर गरेर १४ जना होनहार पत्रकारहरु मारिए । थुपै्र पत्रकारहरु बेपत्ता पारिए । अपहरण गरेर कतिपयलाई धम्क्याइयो । क्रूर यातना दिइयो ।
विस्तृत शान्ति सम्झौता भएपछि पनि पत्रकारहरू मारिने र बेपत्ता हुने क्रम रोकिएन । उमा सिंह, वीरेन्द्र साह, जमिम शाह, अरूण सिंघानिया, जेपी जोशी, रोहन चौधरी, देवीप्रसाद धिताल र पुष्करबहादुर श्रेष्ठ गरी नौजनाको हत्या शान्ति सम्झौतापछि अर्थात् माओवादी सशस्त्र द्वन्द्वोत्तरकालमा भएको थियो । सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका महेन्द्रनगरका अग्रज पत्रकार प्रकाश ठकुरीको अवस्था अझै अज्ञात छ । नेपाल पत्रकार महासंघले हत्या भएका ३६ जना र बेपत्ता पारिएका चारजना पत्रकारहरुको नाम अभिलेखमा जनाएको छ ।
पत्रकारहरू मारिएको घटनाको वास्तविकता छानबिन विरलै हुने र अपराधीलाई न्यायको कठघरामा उभ्याउने काम नगन्य मात्रामा हुने भएकाले मुलुकलाई दण्डहीनताको संस्कृतितिर डो¥याएको मात्र छैन, स्वतन्त्र प्रेसमाथि आक्रमणका घटनाहरु बढ्दै गएका छन् । माओवादीको हिंसात्मक विद्रोहले देशमा दण्डहीनताको आधारभूमि खडा गरेको थियो । शान्ति सम्झौतामा हस्ताक्षर भएपछि पनि मुलुकमा संगठित समूहलाई मान्छे मार्न छुट दिएजस्तो अवस्था बन्न गयो । व्यक्ति–हत्याको जिम्मेवारी संगठित समूहले लिएपछि हत्यामा संलग्न व्यक्तिले उन्मुक्ति पाउने गरेकाले नै देशमा दण्डहीनता मौलाउँदै गएको हो । अराजकता र दण्डहीनताले प्रश्रय पाउने समाजमा पत्रकारिता अपराधीहरुको निसानामा पर्नु अस्वाभाविक होइन । पत्रकार रजकको बीभत्स हत्या बर्बरताको इतिहासमा थपिएको अर्को कालो अध्याय हो ।
कुनै पनि समाजमा त्यहाँको अवस्था, चेतनाको स्तर, घटना–परिघटना तथा सकसपूर्ण एवं सहज दिनचर्या र उतारचढाव स्वीकार्य हुन्छ । समाजको यस्तो चरित्र कायम रहने क्रममा हुने उतारचढावको जीवन्त साक्षीका रूपमा त्यहाँको पत्रकारिता हुन्छ । नेपालको पत्रकारिता पनि मुलुकका हरेक उतारचढावको जीवन्त साक्षी हो । पत्रकारिताको अहिलेको अगुवा पुस्ता नेपालको १० बर्से सशस्त्र द्वन्द्वको समाचार लेखनबाट खारिएर आएको पुस्ता हो । सशस्त्र द्वन्द्वका क्रममा थुपै्र अनुभव सँगालेको नेपाली पत्रकारिताले पत्रकारहरुको जीवन सुरक्षाका सन्दर्भमा अझ चनाखो बन्न जरुरी रहेको सन्देश पत्रकार रजकको हत्या प्रकरणले पनि प्रवाह गरेको छ ।
राजावादीहरूको उद्दण्ड आन्दोलनबाट भएको क्षतिले नेपालको गृह प्रशासन चलाउने निजामती कर्मचारी, अनुसन्धान निकाय, प्रहरी र उनीहरूको नेतृत्व गर्ने सरकारका मन्त्री सबैको निरीहता प्रस्ट पारिदिएको छ । प्राध्यापन र वकालतसँगै पत्रकारिता पृष्ठभूमिबाटै राजनीतिमा उदाएका गृहमन्त्री रमेश लेखकले पत्रकार रजकको बीभत्स र बर्बरतापूर्वक हत्या गरिएको घटनामा नैतिकताका आधारमा तुरून्त राजीनामा दिनुपर्ने हो । तर, अहिलेका सत्ताधारीलाई नैतिकताको समान्य सरोकार हुन्थ्यो भने मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनाको छाटो समयमै राजतन्त्रका पक्षमा आवाज उठाउने हिम्मत कसैले गर्न सक्ने थिएनन् ।
मुलुकमा हिंसा र नृशंसताले संस्थागतरुपमा मौलाउने अवसर पाउदैनथ्यो भने निहत्था पत्रकारहरुले आफ्नो ड्युटीका क्रममा बीभत्स हत्याको सिकार हुनुपर्दैनथ्यो ।
प्रश्नसँग आत्तिने, आलोचनासँग झर्किने र परिवर्तनका खातिर पैदा हुने इतर विचारलाई निषेध गर्ने प्रवृत्तिले मौलाउने मौका पाएका बेला बोली निचोरिएका र आवाजविहीन नागरिकहरूको अभिव्यक्ति स्वतन्त्रताका पक्षमा काम गरिरहँदा अझ कति नेपाली पत्रकारहरुले बर्बरतापूर्वक अकाल मृत्युवरण गर्नुपर्ने हो ? सोचनीय छ ।
केही महिनापहिला मात्रै कैलालीका पत्रकार सुरेश भुलको हत्या भएको अवस्थामा पत्रकार रजकको हत्या प्रकरणसम्म आइपुग्दा नेपाली पत्रकारहरुको भौतिक सुरक्षा प्रमुख चुनौतीका रुपमा देखिएको छ । पत्रकारलाई धम्की दिने वा आक्रमण गर्नेमा अधिकांश अपराधी पृष्ठभूमिका राजनीतिकर्मी हुने गरेका छन् । आज हामी जे बोलिरहेका छौँ या लेखिरहेका छौँ, यो विकास गर्न मानव सभ्यताले लाखौँ वर्षसम्म कष्टसाध्य प्रयास गरेको हो । प्राप्त जीवाशेष प्रमाणअनुसार नेपालकै बुटवलको तिनाउ नदी किनारमा रामापिथेकसको बंगारा उत्खनन गर्ने वैज्ञानिकहरूले एक करोड वर्षअघि नै नेपालमा मानव बसोबास रहेको अनुमान गरेका छन् ।
यति लामो समयदेखि संस्कार र सभ्यता सिक्दै आएको नेपाली समाजले हिंसालाई प्रश्रय दिन सक्दैन । मुलुकको एक दशक लामो सशस्त्र द्वन्द्व व्यवस्थापनलाई संसारकै मौलिक ढङ्गको अभ्यास मानिन्छ । द्वन्द्वमा पक्ष–विपक्ष मिलेर सरकार चलाउने मात्र हैन, मिलेरै चुनाव लड्नेसम्मको अभ्यास यहाँ भएको छ । यसले छोटो समयमा नेपाली समाजले द्वन्द्व भुलेर सहयात्राको बाटो रोज्न चाहेको देखाउँछ । कुनै पनि सामाजिक वा राजनीतिक द्वन्द्वलाई समयमै शान्तितर्फ रुपान्तरण गर्न नसकिएमा हिंसा भड्किने सम्भावना प्रबल हुन्छ । हिंसा र उद्दण्डता कुनै पनि समस्याको समाधान होइन ।
अनाहकमा हिंसा भड्काउने र मुलुकमा अराजकता निम्त्याउनेहरुलाई बेलैमा कानुनी कठघरामा उभ्याएर सजाय दिन अब राज्य चुक्नुहुँदैन । दण्डहीनताको अन्त्य हुन सकेमात्रै मुलुकमा पत्रकारहरु सुरक्षित बन्नेछन् र लोकतन्त्र थप परिष्कृत बन्नेछ । लोकतन्त्रको अनुभूति आम नागरिकले गर्न पाएमात्रै राजावादीहरुको अराजकता सधैँका लागि परास्त हुनेछ । व्याप्त जनवितृष्णा र निराशाको पहिचान गरेर आम नेपाली सर्वसाधारणको जीवनस्तरमा सुधार ल्याउन सकिएमात्रै नेपाली पत्रकारहरुले दिएको प्राणको आहुतिले सार्थकता पाउनेछ । यो दिवंगत नेपाली पत्रकारहरुप्रतिको सच्चा श्रद्धाञ्जलि पनि हो । कर्मठ सहयोद्धा रजकप्रति भावपूर्ण श्रद्धाञ्जलि ।
प्रतिक्रिया