काठमाडौं ।
गणतन्त्रवादी र राजतन्त्रवादीहरूले शुक्रवार काठमाडौंमा छुट्टाछुट्टै कार्यक्रम र प्रदर्शन गर्ने भएका छन् । गणतन्त्रवादीहरूले काठमाडाैंको भृकुटीमण्डपमा र राजावादीहरूले तीनकुनेमा कार्यक्रम र प्रदर्शन गर्न लागेका हुन् ।
दुवै पक्षले उत्यकाका विभिन्न ठाउँहरूबाट नारा जुलुससहित सभा गर्ने छन् । गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा)ले गरेका छन् ।
पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीको संयोजकत्वमा गठित राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आयोजना गरेको शुक्रवारको प्रदर्शनको कमान्डर भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तोकिएको छ ।
काडमाडौं प्रशासनले गणतन्त्रवादी र राजावादीलाई सकेसम्म आमने–सामने हुनै नदिने रणनीति तय गर्दै सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ । त्यसैले प्रशासनले नै दुवै पक्षलाई प्रदर्शन गर्नका लागि अलग–अलग ठाउँ तोकिदिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार गणतन्त्रवादीहरूको नेतृत्व गरेको समाजवादी मोर्चालाई भृकुटीमण्डप प्रदर्शनीमार्गमा र राजावादीहरूलाई तीनकुनेमा सभा गर्ने ठाउँ नै तोकिएको छ ।
प्रहरीले कार्यक्रमलाई शान्तिपूर्ण बनाउन सुरक्षाव्यवस्था कडा पारिएको जनाएको छ । केही दिनअघि गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले १५ चैतमा दुई पक्षको प्रदर्शनको सुरक्षा चुनौती विश्लेषण गर्दै आवश्यक तयारी गर्न निर्देशन दिएको थियो । सोही अनुसार सुरक्षा रणनीति बनाइसकिएको गृहमन्त्रालयले जनाएको छ ।











प्रतिक्रिया