ऐन नआएसम्म आन्दोलन नरोकिने
–आन्दोलनरत शिक्षकले खर्च आफैं बेहोनुपर्ने
–एसईईको उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण नगर्ने,
–आन्दोलन र पढाइ सँगसँगै
–४ लाख शिक्षकमध्ये २ लाख बोलाइयो
काठमाडौं ।
नेपाल शिक्षक महासंघले चैत २० गतेबाट २ लाख शिक्षक सडकमा उतार्ने भएको छ । विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने एकसूत्रीय माग राखी आन्दोलन घोषणा गरेका हुन् । हाल शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा अनशनरत शिक्षकले सरकारले मागको सुनुवाइ नगरेका कारण देशभरका शिक्षक राजधानी केन्द्रित आन्दोलनमा सहभागी हुन सर्कुलर जारी गरेको हो ।
महासंघका महासचिव तुलाबहादुर थापाले ४ लाख शिक्षकमध्ये २ लाखलाई जिल्ला र २ लाख राजधानी केन्द्रित आन्दोलनमा सहभागी हुन निर्देशन जारी गरेको जानकारी दिनुभयो । आन्दोलनका क्रममा पर्ने आर्थिक व्यवस्थापन स्वयम् शिक्षकले गर्ने गरी आन्दोलनमा सहभागी हुन निर्देशन दिएका हो । एक शिक्षकबापत एक सय रुपियाँ संकलन गर्न निर्देशन दिइएको छ । उक्त रकममध्ये ५० रुपियाँ जिल्ला र ५० रुपियाँ केन्द्रमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ ।
यसअघि महासंघले २०८० असोज ३ बाट ‘काठमाडौं जाआंै आन्दोलन’ शुरू गरेको थियो । त्यस बेला सरकार र महासंघबीच सम्झौता भएर आन्दोलन स्थगित भएको छ । अबको आन्दोलन अन्तिम हुने गरी तयारी गरेको महासंघले जनाएको छ । महासचिव थापाले भन्नुभयो– ‘शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन रोक्ने छैनौं । आवश्यकताका आधारमा थप शिक्षकलाई राजधानीमा बोलाउनेछौं ।’ अघिल्लो वर्ष साउन २८ बाट आन्दोलन शुरू भएको थियो । त्यसको ३ महिनापछि अन्तिम आन्दोलनका रूपमा सडक आन्दोलन घोषणा गर्दै सरकारसँग सम्झौता गरेको थियो ।
‘अब गत वर्षको भन्दा फरक र निर्णायक आन्दोलन गर्नेछौं, हाम्रो आन्दोलनलाई कसैले रोक्न सक्दैन’ –महासचिव थापाले नेपाल समाचारपत्रसँग भन्नुभयो । महासंघले आन्दोलनका लागि शिक्षक र कर्मचारीलाई सातबुँदे सर्कुलर जारी गरेको छ । आन्दोलन अवधिभर एसईई लगायतका कुनै पनि परीक्षाका उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण नगर्न तथा नगराउन भनेको छ ।
त्यस्तै, शिक्षा मन्त्रालयलगायतका निकायले आयोजना गर्ने कार्यक्रमहरूमा समेत सहभागी नहुन भनेको छ । हरेक जिल्लाले २०८० सालको वार्षिक सदस्यता शुल्क प्रतिशिक्षक २ सय ५० रुपियाँ प्राप्त गरी प्रतिसदस्य ५० रुपियाँ केन्द्रको खातामा पठाउन समेत सर्कुलर जारी गरिसकेको छ ।
सरकारले भने ऐन बन्ने प्रक्रियामा रहेकाले आन्दोलन स्थगित गर्न आग्रह गरेको छ । तर, महासंघले भने ऐन जारी नहुँदासम्म घर नफर्किने अडान लिएको छ । राजावादी र गणतन्त्रबादीबीच आन्दोलन भइरहेको समयमा शिक्षकले आन्दोलन गर्नु उचित नहुने धारणा केही शिक्षकको छ । तर, महासचिव थापाले भने आफूहरू र उनीहरूबीचमा कुनै सम्बन्ध नभएको टिप्पणी गर्दै आन्दोलन जारी रहने जिकिर गर्नुभयो ।
यसअघि गत साता संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन भन्दै संसदीय समितिले उपसमिति गठन गरेको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले एमालेका सांसद छविलाल विश्वकर्माको अध्यक्षतमा ११ सदस्यीय उपसमिति गठन गरेको हो । विधेयकमा देखिएका विवादहरूका बारेमा सरोकारवालाहरूसँग आवश्यक छलफल, परामर्श एवं अप्ठ्यारो परेका विषयमा समितिसँग परामर्श गर्दै ३५ दिनभित्र प्रतिवेदन बुझाउन उपसमितिलाई अवधि तोकिएको छ । अन्य आवश्यक कार्यविधि आवश्यकताअनुसार उपसमितिले आफंै तय गर्ने गरी बैठकले म्यान्डेड दिएको समितिका सचिव दशरथ धमलाले जानकारी दिनुभयो ।
उपसमितिमा पूर्व शिक्षा मन्त्रीहरू समुना श्रेष्ठ र देवेन्द्र पौडेल सदस्यमा सरीता भुसाल, रेखा शर्मा, डिगबहादुर लिम्बू, महेन्द्रकुमार राय, रामप्रसाद चौधरी, बिना जैसवाल र विनिताकुमारी सिंह छन् । समितिले प्रतिवेदन बुझाएपछि आन्दोलनको कार्यक्रम गर्नु उचित हुने राय अधिकांशको छ । तर, महांसंघले घोषित आन्दोलन फिर्ता नहुने जनाएको छ । महासंघले यो अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने अडान दोहो¥याएका छन् ।
उता, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफ्नो कार्यकालमा शिक्षा ऐन ल्याएरै छाड्ने प्रतिबद्धता जनाउनुभएको थियो । मन्त्रीले भनेजस्तो सजिलै ऐन आउन अवस्था देखिँदैन । तर, महासंघले ऐन पारित गराउन कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले आन्दोलनको नारा ‘कि जितिन्छ, कि बितिन्छ’ राखेको छ ।
प्रतिक्रिया