अराजनीतिक बौद्धिकता र मन्थरावाद

564
Shares

हाम्रो समाज गतानुगतिक परम्पराबाट कति अगाडि बढेको छ त ? मापन सजिलो छैन । राजनीतिक स्थिति हेर्दा त झनै जटिल छ । एकपटक तलको संवाद हेरौँ ।
‘तपाइँ ?’
‘म ! म त कांग्रेस, बा कांग्रेस, हजुरबा कांग्रेस, म पनि कांग्रे्रेस ।’
‘कांग्रेस भनेको के ?’

‘त्यो त थाहा छैन । कांग्रेस भनेको कांग्रेस, यति मात्र थाहा छ । पाँच वर्षमा चुनाव आउँछ । नेताहरु घर–घरमा आउँछन्, नमस्कार गर्छन् । चुनावका दिन हाम्रा पेटमा मासुभात जान्छ । मात लाग्ने झोल पनि जान्छ । हातमा केही थान नोट पर्छ । यही मज्जा छ !’
‘तपाइँ ?’
‘म ! एमाले । बा एमाले, हजुरबा एमाले, म पनि एमाले ।’
‘एमाले के हो ?’
‘एमाले ! एमाले हाम्रा बाको पार्टी हो । बा भासन गर्दा गज्जब हँसाउनुहुन्छ । एमाले हुन मज्जा छ । चुनाव आएपछि कांग्रेससँग भेट हुन्छ । खानपिन गर्न पाइन्छ । पैसा पनि पाइन्छ । अघिपछि पनि हाम्रो पार्टी रमाइलो छ ।’
‘तपाइँ ?’

‘म त एकताका कांग्रेस, पछि एमाले, त्यसपछि माओवादी । हिजोआज अलमलमा छु । यसैमा बसौँ कि कतै जाऊँ । प्रचण्डले कुम हल्लाएर भासन गरेको हेर्न मन पर्छ । रवि लामिछाने पनि मन पर्छ । बालन मन पर्छ । चुनावमा कसैले खान दिए खाने हो । पैसा दिए लिने हो । भोट हाल्दा चिनोलाई दिने हो । जुनसुकैमा परोस् । कसैले हाम्रो दुःख लिने हैन । उनीहरुको सुख दिने हैन । आफ्नो समस्या आपैmँसित ।’
‘तपाइँ ?’
‘म त अब राजावादी ! गण भनेको कांग्रेस गण र कम्निस्ट गण होला । कांग्रेस कम्निस्ट कुनै गणले मुलुक र जनताका गागि केही राम्रो गरेनन् । गाउँ–गाउँमा गण–गणका नयाँ राजा । प्रदेशमा राजा । केन्द्रमा राजा । जताततै राजा । राजैराजा । धमिरै धमिरा । रंगरंगका धमिरा । मुलुक गरिब, जनता गरिब । नेता धनी । यो व्यवस्थाले हामी जनताको अवस्था परिवर्तन गरेन । सन्तान सबै विदेशिए । जताततै विहारी र बंगाली भरिएका छन् । मुलुक आफ्नो हो कि अर्काको हो जस्तो भा छ । यसै भएर म त अब राजावादी ।’

‘राजावाद भनेको के हो ?’
‘मैले बुझेको राजावाद के हो भने, बनमाराजसरी जताततै उम्रेका राजा मासिएर मुलुकभरि एउटा मात्र राजा हुने वाद हो । एउटा मात्र राजा हुने वाद आयो भने यी अनगिन्ती धमिरा राजा मासिएलान् कि ! गुन्डागर्दी, भ्रष्टाचार, लुटपाट मासिएला कि ! यत्ति आशा हो । हुन त बुबा भन्नुहुन्थ्यो, राजा भएका मुलुकमा जनता होचा हुन्छन् ।

जो होचो उसका मुखमा घोचो हुन्छ । बुबा के पनि भन्नुहुन्थ्यो भने, राजा महेन्द्रले यो मुलुक छिमेकी मुलुकको गाँस बन्नुबाट जोगाएका थिए । पूर्व–पश्चिम रोड खुलाएका थिए । ठाउँ–ठाउँमा उद्योग, इलम खुलाएका थिए । राजा वीरेन्द्रले उनका बाबाले जत्तिकै गर्न नसकेपनि मुलुक बैरीका मुखमा पर्नबाट त जोगाएकै थिए । फेरि कांग्रेस सत्तामा आएपछि मुलुक ध्वस्त भयो । अहिले फेरि यो मुलुक जोगाउनुपर्ने अवस्था आइपरेको छ । राजाले जोगाउन सक्छन् कि ! मैले जानेको राजावाद यत्ति हो ।’
‘तपाईंको आफ्नै अनुभव केही छैन ?’

‘त्यो त छ नि ! धेरै छ । हाम्रा जेठा हजुरबा प्रधानपञ्च हुनुहुन्थ्यो रे ! कान्छा हजुरबा पञ्चायत विरोधी । हाम्रा हजुरबा माहिला । उहाँ बनपाले हुनुहुन्थ्यो रे ! हाम्रा हजुरबा पाले भएकै बनमा कान्छा हजुरबालाई पुलिसले गोली ठोकेर मारिदिएछ रे ! अन्यायी पञ्चको विरोध पञ्चायतको विरोध हुने, पञ्चायतको विरोध राजाको विरोध हुने ।

अनि ज्यान जहिले पनि छुराका धारमा । बा भन्नुहुन्छ– न्याय, अन्याय जहाँ जेसुकै होस्, वास्ता नगरेर एकलग गरिखाने जनतालाई कुनै लगडीझगडी थिएन । कुनै पार्टीमा लाग्नै पर्छ भन्ने पनि थिएन । वर्षको एकपटक पञ्च ¥यालीमा डाक्थे । गए पनि हुन्थ्यो, नगए पनि हुन्थ्यो । यो बहुदल आएपछि त कुनै न कुनै दलका नेताको चाकरी नगरी बाँच्नै नसक्ने अवस्था आयो । अड्डाअदालतमा पार्टीका मान्छेले भनिदिएपछि मात्र काम हुन्छ, नत्र हुँदैन । पार्टीका मान्छे पनि घुस नलिई काम गर्दैनन् । गाह्रो छ । अरुभन्दा पनि नेताहरुको यो गाँडे व्यवस्थामा नयाँ पुस्ताले घरजम गर्नै सकेन । बलिया पाखुराहरुले कामको खोजीमा भटाभट देश छोडे । गाउँबस्ती सुनसान । बूढाबूढी टामाटुमी । मर्दापर्दा साथ दिने कोही नहुने । शहरमा पनि नेपाली अनुहार पातलो । जता हे¥यो इन्डियन । उराठ लाग्ने ।’

‘अब के गर्ने त ?’
‘खै के गर्ने भन्ने ? पहिले त अब यो व्यवस्था बदल्नुपर्छ अनि अवस्था बदल्नुपर्छ । यही व्यवस्थाले नेपालको यो उराठ अवस्था बदलिँदैन । नेता जति सबै भ्रष्ट, विदेशका दलाल । नेपाललाई माया नगर्ने । विदेशलाई माया गर्ने । बा भन्नुहुन्छ– फटाहा त पञ्चायत कालमा पनि थिए । शोषण थियो । अन्याय अत्याचार थियो । नेताहरु विदेशका दलाल थिएनन् । यो देशमा केही हुँदैन भन्ने निराशा थिएन । बस्तीमा खेती थियो । शहरबजार छिरेपछि कतै न कतै काम पाइन्थ्यो । मुलुकभित्र जनता थिए । जनताका हातमा मुलुक थियो ।’
‘तपाईंका छोराछोरी कहाँ छन् ?’
‘सबै विदेश । सन्जोगले माहिलो छोरो फर्केर आएको थियो । उसले भन्थ्यो– ‘यही चालाले मुलुक सुध्रँदैन । नेताहरुको चरित्र देखियो । राजा पनि नदेखेको चरा हैन । राजा आए पनि जनताको अवस्था फेरिँदैन । अवस्था फेर्न त अहिले जे छ नि त्यो पूरै चपरी फर्किनुपर्छ । झारैझार भरिएको बारीका पाटामा कोदालीले चपरी फर्काएर कोदो रोपेजस्तै नयाँ व्यवस्था रोप्नुपर्छ । अहिलेका नेता–कार्यकर्ता र तिनका पिछलग्गु झारपातलाई चपरीमुनि पु¥याउनुपर्छ । त्यति गरेर नयाँ व्यवस्था ल्याउन सकियो भने अवस्था फेरिन्छ । नत्र यस्तै हो ।’ यस्तै–यस्तै कुरा गथ्र्यो माहिलो । अब ऊ पनि विदेशै फक्र्यो ।’

‘कति वर्ष हुनुभयो ?’
‘६० वर्ष । पहिले–पहिले त यो उमेरमा नातिनातिना घरमा हुन्थे । अहिले ८४ वर्षका बा–आमा हुनुहुन्छ । हामीलाई हेरेर रुनुहुन्छ । अब त बाटोघाटो, चौतारो जताततै बाँदर भेटिन्छन् । पँधेरामा भालु भेटिन्छ ।
‘बरु शहरका कुरा भन्नुस् न !’ उहाँ मलाई सोध्नुहुन्छ, ‘यो देश यसै गरी बाँच्न सक्छ ?’
‘म प्रचण्डको भाषण सम्झन्छु । ओलीको भाषण सम्झन्छु । शेरबहादुरको अनुहार र तिनले हातमा लिएको रुमाल सम्झन्छु । शरीर मर्न लाग्दा पनि मर्न नसकेका तिनका महत्वाकाङ्क्षाहरु सम्झन्छु । आपूmतिर फर्केर हेर्न र अपराध सकार्न नजानेका तिनका निरस रसनावाराङ्गनाका नाङ्गा नाचहरु सम्झन्छु ।

स्वयं लज्जा नै लज्जित भएर सार्वजनिक रुपमा निरीहता व्यक्त गरिरहेको स्थिति अनुभूत हुन्छ । समकालीन बौद्धिकहरु, बुद्धिजीवीहरु र तिनका अलमल, अत्यास सम्झन्छु । प्रायः अराजनीतिक बौद्धिकता र मन्थरावाद प्रभावी रहेको प्रतिभासित हुन्छ । देशभक्तिका फाँटहरुमा पसेका बाढीपहिरोको विम्बले मन भरिन्छ । बोल्न त मन छ । यस्तो यस युगान्तापेक्षी आक्रान्त स्थितिमा कसैले एकाध बोली निरस्त्र बोलेर के हुन्छ ? आवश्यकता त अदम्य आँधीबेहरीको छ । कहिले त लाग्छ, हाम्रो समाज बूढो भएको छ, मुढो भएको छ । युवा जोश, जाँगर, कल्पना, सपना केही छैन । बाढीमा परेको मुढोजस्तै आत्मचेतना र आत्मगति शून्य । समयले जता पछार्छ त्यतै, डङ्ग्रङ्ग ।

भुक्तभोगी बूढापाकाहरु भन्छन्– नेपालको आजको राजनीतिमा राजतन्त्र पुनस्र्थापना गर्ने प्रयास प्रहसन भए पनि, दुःखान्त भए पनि यो यहाँका समकालीन सत्तासीन काङ्ग्रेस–कम्युनिस्ट भनिई आएका दलका नेता–उपनेताहरुको अनन्त स्वार्थलम्पटता प्रेरित सत्ता दुरुपयोगको स्वाभाविक परिणाम हो ।

घरमा हिंस्रक डाँकाहरु सशस्त्र प्रवेश गरेका अवस्थामा सम्पत्ति जोगाउन नसके पनि ज्यान जोगाउने हुटहुटीले तीन–चार तल्ले भवनका छतबाट तल सडकमा हाम फाल्नुजस्तै रणनीतिक चेतनाको बहादुरी हो आजको यो राजतन्त्र पुनस्र्थापनाको हुटहुटी । भाग्नु र हाम फाल्नेतिर लाग्नु पराक्रम होइन । हुती–गति बटुलेर डाँकाहरुसँग जुध्नु र विजय हात पार्नु नै आवश्यकताको माग हो । डाँकाहरुलाई लखेटेर घरको रक्षा गर्नु नै सच्चा बहादुरी हो ।

यसैबाट स्वाभिमान र स्वतन्त्रताको रक्षा हुन सक्छ । प्रगतिको नयाँ उपाय निस्कन सक्छ । अन्यथा अग्रगमनमुखी सम्भावनाका अरु–अरु ढोकाहरु पनि बन्द हुन सक्छन् । समाजलाई गतानुगतिक मन्थरावादी परम्पराबाट मुक्त गर्न र प्रगतिको अभिनव मार्गमा हुइँक्याउन आज जनतामा समसामयिक लक्ष्यबोध र अदम्य साहसको थप आवश्यकता छ । हैन र ?’