१२ देशका १७ नाटकको सहभागितामा अन्तर्राष्ट्रिय नाट्य महोत्सव शुरू

1.32k
Shares

काठमाडौं ।

१२ देशका एक सयभन्दा धेरै अन्तर्राष्ट्रिय कलाकारले १७ नाटक मञ्चन गर्ने गरी राजधानीमा बुधबारबाट तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) २०२५ शुरू भएको छ । १२ देश, १७ नाटक, २ वार्ता, ४ विमर्श, ३ कार्यशाला, ३ मञ्चमा कविता, ३ रैथाने संगीत, ३ सांस्कृतिक प्रस्तुति अनि प्रत्यक्ष चित्रकला तथा प्रदर्शन कला महोत्सवको विशेषता हुनेछ ।

थापागाउँस्थित मण्डला थिएटरबाट शुरू भएको नाट्य महोत्सव एक सातासम्म चल्नेछ भने पोखरा, चितवन र वेलबारीसम्म पुग्नेछ । प्रमुख अतिथि एवम् नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा पोखरेलले नेपाली मौलिक बाजा दमाहा बजाएर शुभारम्भ गर्नुभएको थियो । त्यस अवसरमा बाद्यवादकको टोलीले रैथाने बाजाको प्रस्तुति दिएका थिए ।


पोखरेलले अन्तर्राष्ट्रिय कलाकारको सहभागितामा हुने यस प्रकारको महोत्सव प्रतिष्ठाले गर्नुपर्ने भए पनि कार्यालय सञ्चालनमै सकिने गरी प्राप्त हुने बजेटबाट सम्भव नभएको बताउनुभयो । ‘देशलाई चिनाउने भनेकै कला संस्कृतिले हो । पर्यटक हिमाल र पहाडमात्र हेर्न आउँदैनन्, कला संस्कृति पनि हेर्न आउँछन् । यस कारण पर्यटन र कला संस्कृतिलाई पनि उत्तिकै महत्वका साथ सँगसँगै लैजानुपर्छ । तर, यस्तो कार्यक्रम गर्नका लागि प्रतिष्ठानसँग बजेटकै अभाव छ’ –उहाँको भनाइ थियो ।

विशेष अतिथि तथा जर्मन विकास सेवा संस्थाकी प्रतिनिधि मालिन फ्रेडार्टले सामाजिक रूपान्तरणका लागि नाटकका माध्यमबाट विभिन्न देशका कला संस्कृति र ज्ञान एकआपसामा साटासाट गर्नु निकै राम्रो विषय भएको चर्चा गर्नुभयो ।
महोत्सव निर्देशक तथा अभिनेता दयाहाङ राईले नेपाली नाट्य क्षेत्रका अग्रज, समकालीन र नव कलाकारलाई समेटेर आफ्नो अनुभव बाँड्ने तथा अग्रजबाट सिकेका ज्ञान र सीप नयाँ पुस्तालाई बाँड्ने हेतुले महोत्सव आयोजना गरिएको बताउनुभयो ।

महोत्सवको पहिलो दिन बुधबार पशुपति राईद्वारा निर्देशित नाटक उम्लँदो खरानी र लेम्लेम्मा प्रदर्शन गरियो भने साँझ कविताको रैथाने रंग नामक कविता वाचन कार्यक्रम भएको छ । जहाँ विप्लप प्रतीकलगायत करिब दुई दर्जन कविले कविता वाचन गरे । त्यस्तै, किरण नेपालीको संयोजकत्वमा फ्ल्कट्रोनिक्स नामक सांगीतिक प्रस्तुति प्रस्तुत गरियो ।

महोत्सवमा नेपाल, जापान, स्कटल्यान्ड, बेलायत, चीन, भारत, जर्मनी, ट्युनिसिया, इरान, लिथुआनिया, स्पेन र नर्वेका कलाकारले नाटक प्रस्तुत गर्नेछन् । महोत्सव काठमाडौंको मण्डला थिएटरसहित पोखरा, चितवन र वेलबारीमा पनि हुने रंगकर्मी, अभिनेता तथा मण्डला थिएटरका सञ्चालक दयाहाङ राईले जानकारी गराउनुभयो ।
तस्वीर: रंगराज आचार्य