कोरियासँग द्विपक्षीय व्यापारमा जोड


काठमाडौं । गत वर्ष दक्षिण कोरियाबाट ८ अर्ब ७० करोड रुपियाँको वस्तु आयात हुँदा नेपालबाट जम्मा ३३ करोड ५० लाखको मात्रै निर्यात भएको भन्दै व्यापार असन्तुलन कम गर्न द्विपक्षीय व्यापार तथा लगानीलाई अभिवृद्धि गर्न व्यापार तथा लगानी प्रवद्र्धनमा जोड दिइएको छ ।


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग कोरियाली लगानी मूल्याङ्न टोलीसँगको भेटघाटका क्रममा उक्त कुरामा जोड दिइएको छ । भेटमा कोरियाली प्रतिनिधिमण्डलले नेपालमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र दक्षिण कोरियाबिच कूटनीतिक सम्बन्धको ५० औँ वार्षिकोत्सवको अवसरमा डिसेम्बर २०२४ मा द्विपक्षीय व्यापार तथा लगानीलाई अभिवृद्धि गर्न व्यापार तथा लगानी प्रवद्र्धन फ्रेम वर्क स्थापना गर्ने सम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर गरिएको उल्लेख गर्दै सरकार विदेशी लगानीकर्ताहरूको लागि नीतिगत स्थिरता र सुरक्षा प्रदान गर्न समर्पित रहेको बताउनुभयो ।

वैदेशिक व्यवसायको वृद्धिलाई समर्थन गर्ने स्थिर नीतिगत ढाँचा कायम राख्न प्रतिबद्ध रहेको उहाँको भनाइ छ । कोरियाली व्यवसायहरूलाई नेपालमा लगानी साझेदारी अन्वेषण गर्न आमन्त्रण गर्नुभयो । उहाँले जलविद्युत, उत्पादन र पर्यटन जस्ता क्षेत्रहरूमा सहकार्यको अपार सम्भावना रहेको बताउनुभयो ।