हिन्दु धर्ममा विष्णु भगवान्को साक्षात् रूप मानिने शालिग्राम पाइने एकमात्र स्थान जुन मुक्तिनाथबाट प्रवाहित हुने कृष्णगण्डकी नदी र रसुवाको गोसाइँकुण्डबाट प्रवाहित हुने त्रिशूली नदीको संगम स्थल देवघाटधाम हो ।
शिव भगवान् र विष्णु भगवान्को सानिध्य भएकाले यस देवघाटको अर्को नाम ’हरिहरक्षेत्र’ रह्यो । कृष्णगण्डकी र त्रिशूली नदीको संगम तथा चितवन र नवलपुरको त्रिकोण भएकाले यसलाई उत्तरगया पनि भनिन्छ । मुस्ताङको दामोदर कुण्ड र मुक्तिनाथ विष्णुक्षेत्रदेखि अनेक नदीहरू मिसिँदै शालिग्राम गर्भमा बहाउँदै आएकी कृष्णगण्डकी र त्रिशूलीको संगम हो भने विष्णु भगवान् साक्षात् कृष्णगण्डकी हरि र हर भनेको शिवजीको त्रिशूललाई नै हरिहर भनिएको हो ।
वराहपुराणमा मुक्तिक्षेत्रदेखि वर्तमान हरिहरक्षेत्रसम्म देवताहरूको सञ्चरण गर्ने क्षेत्र भएकाले नै यस क्षेत्रलाई देवाट भनिन्थ्यो र पछि वारिपारि गर्ने हुँदा देवघाट भनियो । मुक्तिक्षेत्र, रुरुक्षेत्र र त्रिवेणीक्षेत्रसित सम्बन्धित अनेकौं दृश्य, अदृश्य नदीहरूको सङ्गम भएकाले नै यस ह्रद (ताल) को नाम कदम्बतीर्थ रह्यो ।
स्वर्गबाट गन्धर्व, अप्सरा, नागहरूसहित नागकन्या, देवर्षि, सप्तर्षि, मुनिहरू समस्त देवनायकहरू एवम् सिद्ध, किन्नरहरू, पशुपतिनाथको शिवजी, गौरीशङ्कर पर्वतमा निवास गरेका नीलकण्ठ महादेवका जटाबाट निस्केकी त्रिशूली गंगा र पोखराबाट आएकी सेती चक्रनदी, कृष्णगण्डकी नदी देवघाटमा मिलेकी छिन् । देवताहरू आफ्ना प्रियतमाका साथमा स्वर्गबाट आएर यहाँ निवास गर्दछन् । नेपालको एकमात्र कल्याणकर सबै तीर्थहरूको मिलनभूमि पृथ्वीका दिव्य नदीहरूको सङ्गम यस भूमिलाई पुण्यदायक, वैष्णवक्षेत्र, पुण्यवद्र्धक, सिद्धाश्रम भनेर चिनिन्छ ।
पद्मपुराणमा भगवान् शिवले पार्वतीलाई समष्टिगत गण्डकीको माहात्म्य बताउनुभएको छ । गंगाको महिमा भएको गण्डकी नदीका गर्भभित्र शालग्राम शिलाहरू उत्पन्न हुन्छन् । गण्डकीको स्मरण, स्पर्श मात्र गर्नाले ब्रह्महत्याजस्ता पाप पखालिने हुन्छ । श्रीमद्भागवत महापुराणमा पौराणिक रोमहर्षण सूतको संहारपछि पाप परिमार्जन गर्न बलराम पनि गण्डकी स्नान गर्नुभएको थियो ।
पुराणमा गण्डकी महिमाका साथै तटमा कठोर तपस्या गरी पुलस्त्य, पुलह, भरतजस्ता महान् तपस्वीहरूको चर्चा गरिएको छ । राजा भरत पुलस्त्य आश्रमनजिक त्रिजलेश्वर नामक विष्णुभगवान्को आराधना गर्दागर्दै कुनै समय ‘मृगका बच्चाको रक्षा गर्छु’ भन्दाभन्दै देह त्याग भयो । अर्को जुनीमा मृग भएर जन्मनुभयो । त्यसपछि ब्राह्मणको कुलमा जन्म लिएर पुनः विष्णुको आराधना गर्नुभयो । यसरी तीन जन्मसम्म उहाँले नै पुजेको हुँदा विष्णु भगवान्को नाम त्रिजलेश्वर रहन गएको हो । भक्तिपूर्वक जसले भगवान् त्रिजलेश्वरको पूजा गर्छ । त्यसलाई योग–सिद्धि (गति–मुक्ति) मिल्दछ ।
स्कन्दपुराणको हिमवत्खण्डमा रूपकेतु नाम गरेका राजाका दुई रानी कामप्रभा र पद्मिनी हुन्छन् । कान्छी रानी राजाकी प्राणप्रिय हुन्छिन् भने जेठी रानी कामप्रभा नराम्री भएकाले तिरस्कृत हुन्छिन् । कामप्रभा माइत जाने क्रममा देवघाटमा स्नान गर्दा मुख राम्रो भई सुन्दर हुने कामना गर्दै शिवजी र ब्राह्मणलाई दान–दक्षिणा दिएर, त्यो रात त्यहीँ बिताएर, पुनः अर्को बिहान स्नान गरी माइत जान्छिन् । उनी ६ महिनाभित्रमा अप्सराजस्ती सुन्दर हुँदै जान्छिन् ।
त्यो रूपको चर्चा रूपकेतुका कानमा पनि पर्छ । कामप्रभाप्रति मोहित भई पुनः स–सम्मान राज्यमा भित्र्याउँछन् । कामप्रभाद्वारा गरिएको देवघाट स्नानको पुण्यको प्रभावले रूपकेतु मुक्त हुन्छन् । यस खण्डमा पत्नीद्वारा गरिएको पुण्यको फल पतिलाई पनि मिल्ने बताइएको छ । गण्डकी माहात्म्यका अनुसार स्वर्ग, मत्र्य र पातालमा भारतवर्षमा रहेका सबै तीर्थस्थलहरू विशेष पर्वमा देवघाट आउँछन् । गण्डकी माहात्म्य ग्रन्थमा गण्डकीतटमा मुक्तिक्षेत्र, रुरुक्षेत्र, हरिहरक्षेत्र, त्रिवेणीक्षेत्र, हरिक्षेत्र गरी प्रकट तीर्थ एवम् एउटा रामपुर अप्रकट तीर्थको वर्णन गरिएको छ । उक्त ग्रन्थमा सेन वंशका प्रतापी राजा मणिमुकुन्द सेनको इतिहासको पनि चर्चा छ ।
करिब ३ सय वर्षपहिला पाल्पाका राजा मणिमुकुन्द सेनले राज्य विभाजनपश्चात देवघाटमा आएर तपस्या गर्नुभयो । उहाँले तपस्या गरेको स्थाननजिकै एउटा माझीले माछा मार्ने क्रममा कृष्णगण्डकीमा जालबाट तीनपटकसम्म एउटै चक्राङ्कित शिला निस्किएछ । रगतसहितको लोहोरोजस्तो शिला जसमा ओम पनि रहेको चर्चा भएछ । त्यो कुरा मणिमुकुन्दसेनले थाहा पाएपछि आफैंले तपस्या गरेको स्थानमा मन्दिर बनाए ।
सो मन्दिर चक्रघाट मन्दिरको नामले चिनिएको छ । शिला क्रमशः बढेर अहिले एक मिटर लम्बाइ र एक मिटर गोलाइ रहेको छ । चक्रेश्वर शिला एउटा शालिग्राम स्वयम् विष्णु भगवान्को प्रतिमूर्ति हो । भगवान् श्रीरामको गण्डकी यात्रा र पार्वतीनन्दन गणेशले नारायणी तटमा दिव्य लीला प्रदर्शन गर्नुभएको कुरा गणेशपुराणमा चर्चा गरिएको छ । उत्तरवर्ती समयमा गण्डकीक्षेत्र हिन्दुधर्मावलम्बीको र बौद्धधर्मावलम्बीको साझा मिलन भूमिका रुपमा विकास भएको पाइन्छ ।
भगवान् श्रीराम १४ वर्षको बनवासमा रहँदा देवघाटमा आएर आफ्ना पितृहरुलाई तर्पण, तीर्थश्राद्ध गर्नुभएकाले त्यस क्षेत्रलाई उत्तरगया भनिन्छ । हरिहरक्षेत्रको शृङ्खला देवघाटधामबाट शुरु भएर शिवघाट (नारायणी र राप्ती नदी दोभान) र गजेन्द्रमोक्ष धाम हुँदै त्रिवेणीसम्म पुगेका छ । त्रिवेणी नारायणी, स्वर्णभद्रा र पूर्णभद्रा नदीको संगम हो । वाल्मीकि आश्रम, त्रिवेणीघाट र गजेन्द्रमोक्ष धामलाई हरिहरक्षेत्र भनिन्छ । भगवान् श्रीहरिको साक्षात् बास हुने हुँदा हरिहरक्षेत्र भनिएको हो ।
गण्डकी नदीको समिप सालको वृक्षमुनि बसेर सालङ्गायन नामक परम श्रेष्ठ ऋषिले धेरै वर्षको कठोर तपस्या गरेपश्चात् भगवान् नारायण अत्यन्त प्रसन्न भई प्रकट हुनुभयो । सालङ्गायनले भगवान् शिवसमान मेरो पुत्र होस् भनी वरदान मागी नन्दिकेश्वरलाई पुत्रको रूपमा पाएका थिए । यो सालको वृक्षमा बसी तिमीले तपस्या ग¥यौ, यो वृक्ष स्वयम् नारागण म नै हुँ भनिएको थियो ।
सत्ययुगमा लोकहितको कामनाले देवगणद्वारा सुशोभित अति सुन्दर हिमालय पर्वतमा भगवान् विष्णुले कैयौं वर्ष कठोर तपस्या गर्दा उहाँका शरीरबाट अपूर्व तेजपुञ्ज प्रकट भयो ।
त्यस तेजका तापले भगवान्का गण्डस्थल (गला) बाट पसिनाका धारा प्रकट भई सारा प्राणीका पापपुञ्जहारिणी विचित्रको दिव्यध्वनि निस्कियो । त्यो दिव्यध्वनि पत्ता लगाउन ब्रह्मादि, शिवजी आफ्ना गणका साथ तपस्या स्थलमा पुगेर सोध्दा विष्णु भगवान्ले संसारको (सम्पूर्ण प्राणीमात्रको) कल्याणका लागि तपस्या गरेको हुँ भन्ने इच्छा भयो ।
त्यसपछि शिवजी अत्यन्त प्रसन्न भई त्यस ठाउँको दर्शन मात्र गर्नाले मनुष्यलाई मुक्ति मिल्ने हुँदा त्यस क्षेत्रको नाम मुक्तिक्षेत्र (मुक्तिनाथ) र प्रभुको गलाबाट निस्किएको श्रेष्ठ नदी गण्डकी रहनेछ भन्नुभयो । मनुष्यले कार्तिक मासभरि गण्डकी नदीमा नुहाएमा सारा पाप नाश भई मोक्ष प्राप्ति हुनेछ । मुक्तिक्षेत्र महान् तीर्थस्थलमध्येको मंगलको पनि मङ्गल हो । गंगा स्पर्शले मात्र पनि निष्पाप हुन्छ । मुक्तिनाथ प्रभुको कृपाद्वारा लोकमा सुखभोग र मुक्ति मिल्छ ।
देवदत्त मुनिले उत्तम ज्ञान प्राप्त गरी मोक्ष प्राप्त गर्नुभयो । प्रम्लोचाले कन्यालाई जन्म दिई स्वर्गमा प्रस्थान गरिन् । पिताजीका आश्रममा बसेकी रुरू नामक कन्या मृगहरूका साथ बढेकी हुँदा कन्याको नाम पनि रूरू रहन गयो । रुरुले भगवान्मा एकाग्र भएर सय वर्षसम्म इन्द्रियलाई वशमा राखी कठोर तप गरिन् ।
भगवान् विष्णुसँग यो तपस्थल रुरु (रिडी) नामले प्रख्यात होस् भनी वर मागिन् । तीर्थस्थलमा तीन रात्रि, रुरू नदीमा उपवास बसी स्नान गर्नाले हृषिकेशको दर्शन हुनेछ । रुरुक्षेत्रमा चौबीस जातिका चौबीस मूर्तिहरु छन् । शालग्रामरुप, मत्स्यरूप, कर्मरूपा, बाराही, नारसिंही, शुभदायिनी, वामनी, परशुरामा, मोक्षदायिनी, रामरूपा, कृष्णरूपा, कल्किरुपा रहेका छन् ।
मकर सङ्क्रान्तिमा स्वर्गबाट सबै देवीदेवताहरू देवघाटमा स्नानको लागि आउनुहुन्छ ।
लक्ष्मी माताले पनि विष्णु भगवान्लाई पृथ्वीमा स्नान गर्न जाने कुरा गर्नुभएछ । भगवान् विष्णु सानो भएर नौ नदीको संगम नारायणी नदीमा नुहाउन लाग्दा एक भक्तले दर्शन गरेपछि भगवान् लुक्नका लागि त्यहीँ पृथ्वीमै गड्नुभएछ । भगवान्को खोजी हुँदा पृथ्वीमा गडेको चर्चा चलेछ ।
त्यसपछि नारायण भगवान् गडेको हुनाले त्यस ठाउँको नाम नारायणगढ रहेको हो भन्ने भनाइ वैदिक धर्मशाला देवघाटका सदस्य चक्रधर उपाध्याय तिमिल्सिना बताउनुहुन्छ । उहाँका अनुसार भगवान् सधैँ सानो भएर बस्नुहुन्छ । श्रीकृष्ण भगवान् गोठालो हुनुभयो । श्रीराम वनवास बस्नुभयो । नारायण भगवान् पनि सानै भएर पृथ्वीमा आउनुभएको थियो तर भक्तले चिनेपछि लुक्ने क्रममा पृथ्वीमा गडेकाले नारायणगढ नाम रह्यो । पछि वारिपारि गर्ने हुँदा नारायणघाट भनिएको हो भन्ने जानकारी भयो ।
देवघाटमा विभिन्न देवीदेवताका मन्दिरहरू, गुफाहरु, वृद्धाश्रमका साथै चितवन र तनहुँ जिल्ला जोड्ने झलुङ्गे पुल रहेको छ । देवालय, मठ, गुफा, गुम्बा आश्रम रहेको छ । माघे सङ्क्रान्तिमा ठूलो मेला लाग्छ । वैशाख सङ्कान्ति, बालाचतुर्दशी, साउनमा भक्तजनहरूको भीड लाग्छ । यस क्षेत्रमा वशिष्ठ गुफा, सीता गुफा प्रख्यात छन् ।
चक्रेश्वर मन्दिर, बद्रीनाथ मन्दिर, केदारनाथ मन्दिर, बागिश्वरी मन्दिर, मौलाकालिका मन्दिर, महेश संन्यास आश्रम, गलेश्वर आश्रम, सत्यनारायण मन्दिर, साँडेबगर, लक्ष्मीवराह भगवान्, सङ्गश्वर पशुपति मन्दिर, लक्ष्मीनारागण मन्दिर, श्रीकृष्ण मन्दिर, श्रीराम मन्दिर, रामकृष्ण मन्दिर, श्रीशङ्कराचार्य मन्दिर, शिव मन्दिर रहेका छन् । श्री विश्वशान्ति महायज्ञशाला, श्री सीताराम संस्कृत माध्यमिक विद्यालय, श्री मुकुन्दसेन चक्रवती मन्दिर, श्री अघोरी आश्रम, श्री वेद वेदाङ्ग विद्यालय रहेका छन् । हरिहर संन्यास आश्रम, हरिहर क्षेत्र आश्रममा संस्कृत अध्ययन गर्ने आवासीय सुविधासमेत रहेको छ ।
सीतागुफामा भगवान् रामचन्द्र वनवासमा रहँदा सीताको असली रूपलाई त्यही गुफामा लुकाएर राखिएको थियो भन्ने कुरा वैदिक धर्मशालाका अध्यक्ष श्री अखण्ड हरिकीर्तन बाबाद्वारा जानकारी भयो । प्रथम मुक्तिक्षेत्र, दोस्रो रुरु (रिडी) क्षेत्र, तेस्रो देवनदीको सङ्गम स्थल देवघाटधाम, चौथो त्रिवेणी यी महाफलदायिनी नदीहरूमाउत्तम नदी जहाँदेखि बगेर जुन भागिरथी गंगामा मिलेकी छिन् । देविका नदी गण्डकी नदीसँग मिलेकी छिन् ।
नदीहरूमा श्रेष्ठ पुण्यमयी ब्रह्मापुत्री देविका प्रकट भई गण्डकी नदीमा मिसिइन् । देविका र गण्डकीको सङ्गम भएपछि गण्डकी दोभान ‘त्रिवेणी’ नामले प्रसिद्ध भयो । त्यस ठाउँमा पितृहरुलाई तर्पण दिनाले पितृमोक्ष प्रदान हुन्छ । यस क्षेत्रमा मत्स्यशुङ– अन्नपूर्णा हिमालयबाट पोखरा हुँदै झरेकी दूधप्रभा (सेती) नदी, दूध पोखरीबाट झरेकी मादी नदी, मनाङ तालबाट झरेकी मस्र्याङ्दी नदी, दूध पोखरीबाट झरेकी चम्पा नदी, नारदकुण्डबाट झरेकी दरौंदी नदी, नारदकुण्डको पूर्वबाट झरेकी बूढीगण्डकी, गोसाइँकुण्डबाट झरेकी त्रिशूली नदी, सरस्वतीकुण्डबाट झरेकी वेत्रावती, सूर्यकुण्डबाट झरेकी सूर्यमती, पूर्वोक्त नौ नदीको र चक्रत्वामी तीर्थ दामोदरकुण्डबाट आएको कृष्णगण्डकी एवम् देवगङ्गा (देवती खोला) को संगम त्रिवेणी, कदम्बतीर्थ– सिद्धह्रद (संगमको ठूलो ताल) देवघट्ट सप्तगङ्गा र कृष्ण गण्डकीको सङ्गम वेणीमा एवम् सिद्धह्रद, कदम्बतीर्थ, चक्रतीर्थ स्नान, स्वर्ग, मत्र्य, पाताल यी तीनै लोकमा र भारतमा जति तीर्थहरू छन्, ती सबै आफ्नो अन्तरात्माको शुद्ध गर्ने इच्छाले यस शालिग्रामक्षेत्र देवघाटधाममा प्रत्येक पर्वमा आउने गर्दछन् । गण्डकी नदी धर्म, अर्थ, काम, मोक्ष यी चार पदार्थदायिनी महापुण्यवती गंगा हुन् । यिनको स्पर्शले मात्र पनि मोक्ष प्राप्त हुन्छ ।
अन्तबाट विभिन्न साना–ठूला नदीहरु पूर्णिमा, अमावश्या, सङ्क्रान्ति, एकादशी, बालाचतुर्दशीजस्ता विभिन्न पर्वहरुमा देवघाटमा आएर पवित्र भई जान्छन् । भगवान् शिव र विष्णुको साक्षात् बास भएको शालिग्राम पाइने एकमात्र ठाउँ, देवताहरूलाई मन परेको र भ्रमण गर्ने ठाउँ देवाटले सम्पूर्ण मनुष्यको कल्याण सेवा गरुन् ।
(लेखक तिमिल्सिना गैंडाकोट–४, नवलपुरवासी हुनुहुन्छ ।)











प्रतिक्रिया