नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापासामु दर्जनौं चुनौती छन् । त्यसलाई सम्बोधन गर्न सक्नु उहाँको अवसर पनि हो ।
हिजो मंगलबार गृहसचिव गोकर्णमणि दुवाडीले दज्र्यानी चिह्न लगाएपछि उहाँले कार्यभार सम्हाल्नुभएको छ । उहाँसामु शान्तिसुरक्षा र सु–व्यवस्था कायम गर्ने विषय चुनौतीका रुपमा रहेका छन् । प्रहरीले शान्तिसुरक्षा कायम गर्न सबै पहल गरिरहेका हुन्छ तर जनतालाई अनुभूति गर्ने गरी शान्तिसुरक्षा कायम गर्न सक्नु उहाँको अवसर पनि हो ।
यो जनताको अपेक्षा पनि हो । हुन त उहाँको कार्यकालको हिसाबकिताब गर्ने हो भने पूरापुर ६ महिना पनि छैन । नेपाल प्रहरी ऐनको विधेयक संशोधनको प्रयास भइरहेको छ । संसद्मा छलफलको क्रममा रहेको सो विधेयक पास भए उहाँको कार्यकाल साढे दुई वर्ष थप हुनेछ ।
अहिले समाजमा अपराधका नयाँ–नयाँ घटना बढ्दो क्रममा छन् । बर्सेनि बढिरहेको लागूऔषध, साइबर अपराध, आत्महत्या, सवारी दुर्घटनालगायतका विभिन्न सामाजिक अपराधहरू गम्भीर सुरक्षा चुनौतीको रूपमा देखा परेको छ । विभिन्न जातीय आन्दोलनलगायतलाई नियन्त्रण गर्न पनि चुनौती देखिएको छ । दिनदिनै बढ्दो क्रममा रहेको हत्या आतंक, लागूऔषध तस्करी नियन्त्रण, खुला सिमानामा हुने अपराध नियन्त्रण गर्नु उहाँका मुख्य चुनौती हुन् । सुन तस्कर मौलाउन थालेको छ । त्यति मात्र नभएर पदभार ग्रहण गरेकै दिन हिजो २५ करोड रुपियाँ अवैध रकम तस्करीको घटना सार्वजनिक भएको छ । त्यस्ता चुनौतीलाई कुशलतापूर्वक न्यूनीकरण गरेर मुलुकको शान्ति सुव्यवस्था कायम गर्नु उहाँमाथिको चुनौती हो ।
त्यसबाहेक संसद्मा विचाराधीन प्रहरी विधेयक, यसमा प्रस्तावित सेवा सर्तदेखि समायोजनसम्मका जटिलता हल गर्नु पनि उहाँको कार्यकालका निम्ति सर्वाधिक चुनौतीको विषय हो । त्यस्तै निर्मला पन्तको हत्यारा पत्ता लगाउनु अर्को चुनौती हो । उहाँले संगठन सञ्चालनमा भनसुन र शक्तिकेन्द्रलाई कति ठाउँ दिनुहन्छ ? हेर्न बाँकी छ । संगठनका हितमा संगठन चलाउने कि विभिन्न स्वार्थ समूहको हित रक्षा गर्ने ? थापाको काँधमा उभिएको यो सबैभन्दा ठूलो चुनौती हो ।
त्यति मात्र होइन, हिन्दुराज्य र राजतन्त्रको पक्षमा आन्दोलन गर्ने तयारी गरेका दल र विभिन्न संघ–संगठनको आन्दोलन कसरी व्यवस्थापन गर्ने, प्रतिपक्ष दलको गणतन्त्रको समर्थनमा हुने ¥यालीलगायतका कार्यक्रमलाई कुन ढंगले सुरक्षा दिने भन्ने विषय अर्को नयाँ चुनौती हो । पछिल्लो समयमा राजावादीसँग मिलेर दुर्गा प्रसाईंलगायत साना–ठूला अभियानले गर्ने गणतन्त्रविरोधी कार्यक्रमलाई कसरी नियन्त्रण गर्ने भन्ने विषय त्यत्तिकै महत्वपूर्ण छ ।
यस्ता चुनौतीसहित प्रहरी प्रमुख थापामाथि अवसर पनि छ । प्रहरीको साख वृद्धि गर्दै निष्ठा, इमानदारिता, कर्तव्यनिष्ठ र जवाफदेहीपूर्वक जिम्मेवार हुनुपर्नेछ । करिब ८० हजार प्रहरीको कमान्डर प्रहरी प्रमुख थापाले नयाँ सुरक्षा रणनीति अघि बढाउनुपर्नेछ । राजनीतिक सोर्सफोर्सभन्दा पनि वरिष्ठताको आधारमा नियुक्ति हुनुभएका प्रहरी महानिरीक्षक थापाले प्रहरी सरुवा–बढुवा गर्दा हाम्रालाई भन्दा पनि राम्रालाई प्राथमिकता दिनुपर्नेछ । छोटो समयमा पपुलर भएर बिदा हुने हो भने आजबाटै नयाँ योजना थाल्नुपर्छ, रणनीति बनाउनुपर्छ । होइन, परम्परागतरुपमै संगठन सञ्चालन गरेमा समस्या आउन सक्छ ।











प्रतिक्रिया