‘मेरो लक्ष्यबाट म किञ्चित डगमगिने छैन’

प्रहरी प्रमुख थापाद्वारा पदभार ग्रहण


काठमाडौं ।


नेपाल प्रहरी प्रमुख दीपक थापाले पदभार ग्रहण गर्नुभएको छ । हिजो गृह मन्त्रालयमा आयोजित समारोहमा उहाँलाई दज्र्यानी चिह्न प्रदान गरिएको थियो । सो अवसरमा गृहसचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक थापालाई पूर्ण सफलताको कामना गर्नुभएको थियो ।

उहाँले पदको गरिमा र नेपाल प्रहरीको श्रीवृद्धि गराउँदै मुलुकमा शान्ति, सुरक्षा, सुव्यवस्था, सुशासन र अमन चयन कायम गरी सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले शान्ति सुरक्षा र सुव्यवस्था भन्ने विषय देखिने विषयमात्र नभई अनुभूति गर्ने विषय भएको चर्चा गर्दै आम नागरिकले अनुभूति गर्ने किसिमको शान्ति, सुरक्षा, सुव्यवस्था र अमनचयन मुलुकमा कायम

गर्नु सबैको कर्तव्य भएको र आम नागरिकले सरकारप्रति गरेका अपेक्षा पूरा गर्न सरकार सदैव क्रियाशील रहेको बताउनुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक थापाले मुलुकप्रति निर्वाह गरेको निष्ठापूर्ण सेवा, कार्यक्षमता र व्यावसायिकताको कदर गर्दै सरकारले प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकामा कृतज्ञता प्रदान गर्नुभयो ।

नेपालको संविधानको मर्मअनुरूप संघीय स्वरूपमार्फत कानुन कार्यान्वयन, विधिको शासन र मानवअधिकारको प्रत्याभूति, आर्थिक, सामाजिक रूपान्तरणद्वारा सुशासन, सामाजिक न्याय र सद्भावको सुनिश्चितता गर्न नेपाल प्रहरी निष्ठापूर्वक उच्चमनोबलका साथ कर्तव्यनिष्ठ रहेको प्रहरी महानिरीक्षक थापाले बताउनुभयो ।

उहाँले अभिलेखीकरणलाई वृत्ति विकासको एक महत्वपूर्ण पक्षका रूपमा संस्थागत गर्ने लक्ष्यबाट आफू किञ्चित पनि नडगमगिने बताउनुभयो । अपराधको रोकथाम र अनुसन्धान, कुनै पनि बहाना र विकल्प बिनाशान्ति सुरक्षाको उपलब्धता, अन्य सुरक्षानिकायसँगको निरन्तर समन्वय र सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाई नागरिकको मनमा अमनचयन र कानुनी राज्यको प्रत्याभूति दिलाउन नेपाल प्रहरीको कर्मेच्छा र क्रियाशीलतामा गुनासो आउने अवसर नदिनेसमेत उहाँले व्यक्त गर्नुभयो ।