–पोखराको पृथ्वीनारायणमा आज, पद्मकन्यामा ७ गते, विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा ८ र सिद्धनाथ बहुमुखी महेन्द्रनगरमा ९ गते चुनाव गर्ने निर्णय
काठमाडौं ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन शुरू भएलगत्तै राजधानीका दुई क्याम्पसमा झडप र तालाबन्दी भएको छ । ललितपुरको पाटन संयुक्त क्याम्पसमा नेविसंघले फर्जी मत खसालेको आरोप लगाउँदै निर्वाचन स्थगित गर्न माग गरेको थियो । शुरूमा क्रान्तिकारी र पछि अनेरास्ववियुले छानबिन गर्न माग गरेका थिए ।
लगत्तै नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षबीच वार्ता भएको थियो । वार्ता सकारात्मक नभएपछि मतदान रोकिएको थियो । वार्ता हुँदै गर्दा नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीबीच पटकपटक झडप भएको थियो । प्रहरीलाई स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो । अनेरास्ववियु र नेविसंघबीच दर्जनौंपटक झडप भएको थियो । झडपमा अनेरास्ववियुका दिनेश श्रेष्ठ, पवन शाही, राजिब अधिकारी र समिक राई घाइते भएका छन् ।
फर्जी मतको निर्णय नभएसम्म मतदान हुन नदिने अडान दुई विद्यार्थी संगठनको छ । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले छानबिन गर्न माग गरेको छ । सोमबार क्याम्पस प्रमुख रघुराम विष्टले मतदाता विद्यार्थीले परिचयपत्र लिन अनिवार्य रूपमा ल्याउन सूचना जारी गर्नुभएको थियो । तर, नेविसंघले विद्यार्थी परिचयपत्रको आधारमा मतदान गर्न पाउने अडान लिएपछि अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले नेविसंघले फर्जी मत हालेको आरोप लगाएका थिए ।
विद्यार्थीबीच झडप भएपछि स्थगित निर्वाचन कहिले हुन्छ भन्ने विषयमा निर्णय हुन सकेको छैन । आरआरमा अनेरास्ववियुले तालाबन्दी गरेका कारण मंगलवार निर्वाचन हुन सकेन । निर्वाचन प्रक्रिया शुरू भइसकेको अवस्थामा नेविसंघले फर्जी विद्यार्थी भर्ना गरेको आरोप लगाउँदै अनेरास्ववियुले तालाबन्दी गरेको हो । तालाबन्दीको विरोधमा नेविसंघका विद्यार्थीले मंगलवार दिनभर विरोध प्रदर्शन गरेका थिए । उनीहरूले तत्काल निर्वाचन गर्न माग गर्दै नाराबाजी गरेका थिए ।
निर्वाचन गर्न नसकेको व्यङ्ग्य गर्दै नेविसंघले बाटोमै निर्वाचन गरेको थियो । उपत्यकाभित्र ९ क्याम्पसमा निर्वाचन स्थगित भएको छ भने दुईवटा क्याम्पसमा फरकफरक मिति तय भएको छ । उपत्यकाको पदमकन्यामा ७ गते, केन्द्रीय क्याम्पस त्रिविमा ८ गते निर्वाचनको मिति तय भएको छ । पोखराको पृथ्वीनायण क्याम्पसमा आज बुधबारका लागि तय भएको छ ।
उता, नेविसंघले तालाबन्दी गरेको केन्द्रीय क्याम्पसमा नेविसंघले निर्वाचन गर्न माग गरेको छ । सो क्याम्पसमा स्ववियु सभापतिका उम्मेदवार पदमा भुसालले धर्ना शुरू गर्नुभएको छ । लगत्तै नेविसंघले विज्ञप्ति जारी गरी निर्वाचन गर्न माग गरेको छ । सो क्याम्पसमा नेविसंघका मात्रै ६ जना बागी उम्मेदवार छन् ।
पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियु चुनाव स्थगित भएको छ । निर्वाचन अधिकृत रामचन्द्र पोखरेलले सूचना जारी गरी मतदान स्थगित भएको र भोलि बुधबार बिहान ८ बजेबाट मतदान शुरू हुने जनाउनुभएको छ । प्रत्यक्षतर्फको मतपत्रको दोस्रो कोलममा रहेको अखिल (छैटौं) को अध्यक्ष पदको उम्मेदवारको नामको पछाडि रेजा लगाउने बक्स छुट हुन गएकोमा स्ववियु निर्वाचन समिति गम्भीर रूपले आत्मालोचित भएको छ ।
सम्बन्धित संघ, संगठन, संयुक्त प्यानल र स्वतन्त्र उम्मेदवारका प्रतिनिधिहरूको रायबमोजिम उक्त मतपत्र रद्द गरी पुनः मतपत्र छपाइ गरी ल्याउँदा ढिला भएको र समय अभावका कारण मतदान कार्य शुरू गर्न नसकिएको जनाइएको छ । तीन विद्यार्थी संगठनबीचको झडप, नेविसंघभित्रको बागी र आन्तरिक विवाद र फर्जी विद्यार्थी भर्नाका कारण विभिन्न संगठनले उपत्यका र उपत्यकाबाहिर १८ क्याम्पसमा निर्वाचन स्थगित गरेका छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत ४६ आंगिक र १ हजार ५३ केही सम्बन्धन प्राप्त क्याम्पस छन् । तीमध्ये सम्बन्धन प्राप्त कति क्याम्पसमा निर्वाचन हुन्छ भन्ने विषय मतपरिणमपछि मात्र जानकारी हुने त्रिविले जनाएको छ ।
६२ आंगिकमध्ये धनकुटा बहुमुखी क्याम्पस धनकुटा र महेन्द्र बहुमुखी क्याम्पस दाङमा मतपरिणाम घोषणा भइसकेको छ । उपत्यकाको त्रिवि केन्द्रीय, शंकरदेव, आरआर, पाटन संयुक्त, अमृत साइन्स, पब्लिक युथ, त्रिचन्द्र, विश्वभाषा, नेपाल ल र सरस्वती क्याम्पस गरी १० वटामा स्थगित भएको छ । उपत्यकाका २२ मध्ये १० वटा र बाहिर ४० मध्ये ६ वटामा निर्वाचन कार्यक्रम बिथोलिएको छ ।
उपत्यकाबाहिर मेची बहुमुखी, डिग्री क्याम्पस विराटनगर, सिद्धनाथ बहुमुखी महेन्द्रनगर, सुर्खेत शिक्षा क्याम्पस सुर्खेत, कृषि क्याम्पस पक्लिहवा, भैरहवा बहुमुखी क्याम्पस, बुटवल बहुमुखी, रारा बहुमुखी क्याम्पस जनकपुर र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरा छन् । उपत्यकामा सत्ताधारी नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले ताला लगाएका कारण निर्वाचन रोकिएको हो । उपत्यकामा मनोनयन गर्ने दिन त्रिवि केन्द्रीय र पद्मकन्या क्याम्पसमा मात्र निर्वाचन प्रक्रिया शुरू हुन सकेको थिएन ।
त्रिवि केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव पशुपति अधिकारीले स्थगित भएका केही क्याम्पसमा प्रक्रिया शुरू भएको र केहीले २० गतेभित्र निर्वाचन गर्ने गरी तालिका हेरफेर गरेको जानकारी दिनुभयो ।
कुन क्याम्पसमा कुन संगठनको तालाबन्दी
१.त्रिवि क्याम्पस कीर्तिपुरमा नेविसंघ
२.अमृत साइन्स क्याम्पस, (अस्कल) क्रान्तिकारी
३.त्रिचन्द्र गेटमै ताला विभिन्न संगठन
४.पब्लिक युथ नेविसंघ र क्रान्तिकारी
५.रत्नराज्य अनेरास्ववियु र अनेरास्ववियु समाजवादी
६.विश्वभाषा अनेरास्ववियु (क्रान्तिकारी)
७.शंकरदेव नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु क्रन्तिकारी
८.सरस्वती अनेरास्ववियु समाजवादी
९.नेपाल ल अनेरास्ववियु, नेविसंघ र क्रान्तिकारी
१०.रारा बहुमुखी क्याम्पस जनकपुर, विभिन्न विद्यार्थी संगठन
११. बुटवल बहुमुखी क्याम्पस बुटबल अखिल समाजवादी, नेविसंघ, नयाँ शक्ति क्रान्तिकारी
१२.रामपुर कृषि क्याम्पस खैरहनी क्रान्तिकारी
१३. पक्लिहवा क्याम्पस पक्लिहवा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)
१४.भैरहवा बहुमुखी क्याम्पस भैरहवा, तराईतिरका विद्यार्थी संगठन
१५.सुर्खेत क्याम्पस सुर्खेत, अनेरास्ववियु, नेविसंघ र समाजवादी र स्वतन्त्र











प्रतिक्रिया