चीनमा सुगुरको मृगौला मानिसमा सफल प्रत्यारोपण


बेइजिङ । चीनमा मिर्गौला फेल भएकी एक महिलामा सुगुरको मिर्गौला प्रत्यारोपण गरिएको छ । चिनिया चिकित्सक टोलीले गत ६ मार्चका दिन अन्तिम चरणको मिर्गौला रोग भएकी ६९ वर्षीया महिलामा जीन सम्पादित सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका हुन् ।

एयर फोर्स मेडिकल युनिभर्सिटीको सिजिङ अस्पतालमा भएको सो प्रत्यारोपण सफल भएको मानिएको छ ।

‘प्रत्यारोपण पछि मिर्गौलामा रक्त प्रवाह भयो र प्रत्यारोपित मिर्गौला गुलावी भयो अनि चाँडै नै पिसाव उत्पादन गर्न थाल्यो,’ प्रत्यारोपणमा सहभागी एक चिकित्सकले भने । उनका अनुसार शल्यक्रियाको छैटौँ दिनमा बिरामीको मिर्गौलाले राम्रो काम गरेको थियो । प्रत्यारोपित मिर्गौलाले २४ घण्टामा ५ हजार ४६८ मिलिलिटर पिसाव उत्पादन गरेको थियो । प्रत्यारोपण पछिको तीन दिनमै सिरम क्रिएटिनिन् स्तर कम हुँदै गएको भन्दै उनले प्रत्यारोपण सफल भएको संकेत मिलेको बताए ।

प्रत्यारोपण गरिएकी महिलाको आठ वर्ष अघि नै मिर्गौला फेल भएको थियो । उपयुक्त दाता नभेटेपछि साताको तीन पटक डायलासिस गर्दै आएकी थिईन । तर समस्या नियन्त्रणमा आउन सकेन । बरु डायलासिसले अन्य जटिलता समेत निम्त्याउन थालेको थियो ।

चिकित्सक टोलीले प्रत्यारोपित महिलाले आगामी दिनमा इम्यिुनो रिजेक्सन, कोगुलेसन डिसअर्डर तथा संक्रमण जस्ता चुनौतीको सामना गर्नु पर्ने बताएको छ ।

सुगुर प्रत्यारोपण अहिलेसम्म अमेरिकामा चार जना व्यक्तिमा प्रत्यारोपण गरिएको छ । गत नोभेम्बरमा प्रत्यारोपण गर्ने बिरामी सुगुरको मिर्गौला लिएर सबैभन्दा बढी बाँच्ने बिरामी ठहरिएका छन् । यसै वर्ष जनवरीमा पनि अमेरिकामा पनि एक जना बिरामीमा सुगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनी पनि एक महिना बढी समय बाँचेका थिए ।

त्यसो त चिनियाँ बैज्ञानिहरुले धमाधम जीन सम्पादित सुँगुरको मिर्गौला तथा कलेजो मानिसमा प्रत्यारोपण गर्न थालेका छन् ।
गतवर्ष एक जना बिरामीमा जीन सम्पादित सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका थिए । गत डिसेम्बरमा त्यसको रिपोर्ट सार्वजनिक गर्दा ती व्यक्ति ६ महिना बढी बाँचेको भनिएको थियो । यसले सुँगुरको मिर्गौला लिएर पनि लामो समय मानिस बाँच्न सक्छ भन्ने प्रमाणित भएको उनीहरुले बताएका थिए ।

त्यसपछि सिजिङ अस्पतालका अनुसन्धानकर्ताहरुले गत अप्रिलमा मस्तिष्क मृत्यु भएका एक बिरामीमा जीन परिवर्तित सुँगुरको कलेजो प्रत्यारोपण गरेका थिए । त्यसको एक महिना पछि आन्हुई मेडिकल युनिभर्सिटीको अस्पतालमा कलेजोको क्यान्सर भएका अर्का एक बिरामीमा जीन परिवर्तित सुँगुरको कलेजो प्रत्यारोपण भएको थियो ।

सिजिङ अस्पतालमा भएको प्रत्यारोपणको टोली नेता प्राडा डु केफेङले भन्छन्, ‘जेनो ट्रान्सप्लान्टेशनले अंग अभावको समस्या समाधान गर्ने र धेरै बिरामीका लागि नयाँ आशा प्रदान गर्न सक्नेछ ।’

चीनमा दीर्घकालीन मिर्गौला रोगका बिरामीहरुको संख्या लगभग १३ करोड रहेको बताइएको छ । त्यसमध्ये मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा रहेका बिरामीको संख्या पनि लाखौँ रहेको अधिकारीहरुले बताएका छन् । अनि आफ्नो देशमा प्रत्येक वर्ष दीर्घकालिन मिर्गौला रोग लिएर लाखौँ बिरामीहरु थपिई रहेको पनि उनीहरुले उल्लेख गरेका छन् ।