टोखाबाट झन्डै २५ करोड बराबरको अवैध विदेशी मुद्रा बरामद


काठमाडौं ।

नेपाल प्रहरीले ठूलो मात्रामा अवैध रूपमा ओसारपसार गरिएको विदेशी मुद्रा बरामद गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखा क्षेत्रबाट सञ्चालित विशेष अभियान अन्तर्गत एक गाडीबाट डलर र युरो सहित करिब २५ करोड रुपैयाँ बराबरको रकम फेला पारेको हो ।

अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार उक्त रकम गाडीभित्र कुशलतापूर्वक लुकाएर राखिएको थियो । प्रहरी टोलीले शंका लागेपछि अनुसन्धान गर्दै जाँदा ठूलो परिमाणको अवैध रकम भेटिएको हो । ‘हाल घटनासम्बन्धी थप अनुसन्धान जारी छ,’ बस्नेतले भने, ‘बरामद गरिएको रकम धेरै भएकाले विशेष मेसिनको प्रयोग गरी गणना गर्ने प्रक्रिया चलिरहेको छ ।’

यस विषयमा विस्तृत विवरण प्रहरीले आजै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ । बरामद रकमको स्रोत, ओसारपसार गर्ने समूह र सम्भावित संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।