नेपाल प्रहरीको ३१औं आईजीपीमा थापा

आजबाट ८० हजार प्रहरीको कमान्ड सम्हाल्दै

4.23k
Shares

काठमाडौं ।

सरकारले नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षकमा दीपक थापालाई नियुक्ति गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) मा कार्यरत एआईजी थापालाई आईजीपीमा नियुक्ति गरेको हो । आईजीपी थापाले आज मंगलवारबाट करिब ८० हजार प्रहरीको कमान्ड सम्हाल्नुहुनेछ । प्रहरी महानिरीक्षक वसन्त कुँवर आजबाट अवकास भएपछि थापाले आईजीपीको वागडोर सम्हाल्नुहुनेछ । सरकारले थापालाई वरिष्ठताका आधारमा आईजीपी नियुक्त गरेको हो ।
सरकारले प्रहरी नियमावली २०७१ अनुसार आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापाले बाजी मार्नुभएको हो । थापाले करिब ६ महिना अर्थात् २०८२ भदौ १८ गतेसम्म प्रहरी संगठनको नेतृत्व गर्नुहुनेछ ।

आजबाट आईजीपीको पद सम्हालेसँगै उहाँमाथि दर्जनबढी चुनौती थपिएका छन् । राजावादीको सक्रियता, विभिन्न तहका आन्दोलन, प्रतिपक्ष दलको आन्दोलन, विभिन्न जातीय आन्दोलन नियन्त्रण गर्न चुनौती देखिएको छ । दिनदिनै बढ्दो क्रममा रहेको हत्या, लागुऔषध तस्करी नियन्त्रण, खुला सिमानामा हुने अपराध नियन्त्रण गर्नु उहाँको मुख्य चुनौती र काम हो ।


भक्तपुर सिपाडोल स्थायी घर भएका थापा हाल भैंसेपाटीमा बस्नुहुन्छ । इन्स्पेक्टरको बेसिक तालिम सकेपछि इलाका प्रहरी कार्यालय बनेपा, इलाका प्रहरी कार्यालय गरुडा रौतहटको प्रमुख हुनुभएको थियो । एसपीमा बढुवा भएपछि थापा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कोहलपुर कार्यालय, बुटवलमा रहेर प्रहरी प्रमुख हुनुभएको थियो । एसएसपीमा बढुवा भएपछि भने आर्थिक प्रशासन महाशाखा, अपराध अनुसन्धान महाशाखा (हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय) को प्रमुख भइसक्नुभएको छ ।

उहाँले २० भन्दा बढी युनिटको नेतृत्व गरिसक्नुभएको छ । उहाँ नेतृत्व क्षमताको आधारमा सबभन्दा बढी युनिट कमान्ड गर्ने अफिसरका रूपमा पनि परिचित हुनुहुन्छ । उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखा प्रमुखका साथै एसपी पदमा हुँदाका जिल्ला प्रहरी कार्यालय, चितवन प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका बुटवल र कोहलपुर सम्पर्क कार्यालय प्रमुख र डीएसपी पदमा जिल्ला प्रहरी कार्यालय, खोटाङ प्रमुख, काठमाडौं प्रहरी वृत्त महाराजगञ्ज प्रमुख, रूपन्देही इलाका प्रहरी कार्यालय प्रमुख, इन्स्पेक्टर पदमा नेपाल प्रहरी विद्यालयका साँगा (काभ्रे), गरुडा (रौतहट) र धनगढी (कैलाली) समादेशक र ११ वर्ष इन्स्पेक्टर दर्जामा रहँदा २० फरक युनिटको नेतृत्व गरिसकेका अफिसर हुनुहुन्छ ।

थापा आफूलाई दिएको जिम्मेवारी पूरा गर्नेमा उहाँ निकै अघि देखिनुभएको छ । अहिलेकै ३० वर्षे सेवाहदको प्रावधानअनुसार ६ महिनाका लागि आईजीपी हुनुहुनेछ । अहिले नेपाल प्रहरीको ऐन संशोधनका लागि संसद्मा छलफलका क्रममा रहेको छ । यदि, यही संसद् अधिवेशनमा उक्त ऐन पास भए आउने आईजीपीको कार्यकाल साढे दुई वर्ष थप हुनेछ । थापा आईजीपी नियुक्ति भएसँगै आजबाट आईजीपी कुँवर ५ एआईजी र ३ डीआईजी ३० वर्षे सेवा अवधिका कारण अवकासमा जाँदै छन् । एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुवेरसिंह कडायत, जनक भट्टराईले अवकाश पाउनेछन् । डीआईजीहरू ध्रुवराज राउत, भोला रावल र गणेश चन्दले पनि आजबाट अवकास पाएका छन् ।

आईजीपी थापाले कानुन संकायमा एलएलबी, राजनीतिशास्त्रमा स्नातकोत्तर र जनप्रशासनमा एम पीए गर्नुभएको छ । संयुक्त राष्ट्रसंघ मिसनअन्तर्गत सुडान र लाइबेरिया भ्रमण गर्नुभयो । विदेश भ्रमणअन्तर्गत १४ र स्वदेशमा ११ तालिममा सहभागी हुनुभएको थियो । उहाँले प्रबल जनसेवाश्री, सुप्रबल जनसेवाश्री र संयुक्त राष्ट्रसंघको ३ वटासमेत गरी ८ वटा पदक, उत्कृष्ट प्रहरी व्यवस्थापक तथा दैवी प्रकोपसमेत गरी १६, २१ वटा नगद पुरस्कार, बेरुजु फछ्र्यौटमा प्रभावकारी भूमिका निर्वाह गरेकोमा ०७५ देखि ०७८ सम्म लगातार चार वर्ष प्रशंसापत्रसहित सम्मान पाउनुभएको छ ।

०५२ सालमा प्रहरी निरीक्षक पदमा कार्यरत थापा २०६३ भदौ ८ गते प्रहरी नायब उपरीक्षक, ०७२ साउन ८ गते प्रहरी उपरीक्षक, ०७५ फागुन ६ गते प्रहरी वरिष्ठ उपरीक्षक, ०७९ असार १७ गते प्रहरी नायब महानिरीक्षक र सोही वर्ष चैत ६ गते प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा हुनुभएको थियो ।

आजबाट आईजीपीको पद सम्हालेसँगै उहाँमाथि दर्जनबढी चुनौती थपिएका छन् । राजावादीको सक्रियता, विभिन्न तहका आन्दोलन, प्रतिपक्ष दलको आन्दोलन, विभिन्न जातीय आन्दोलन नियन्त्रण गर्न चुनौती देखिएको छ । दिनदिनै बढ्दो क्रममा रहेको हत्या, लागुऔषध तस्करी नियन्त्रण, खुला सिमानामा हुने अपराध नियन्त्रण गर्नु उहाँको मुख्य चुनौती र काम हो ।