सत्य घटनामा आधारित कथा: परिचिन्तन

752
Shares

आज उनको साप्ताहिक बिदाको दिन परेको हुँदा पूर्णिमा घरमै थिइन् । उनले आफ्नी आमा सुवर्णेश्वरीसँग दिनभर कुराकानी गरी बस्ने धोको राखेकी थिइन् तर उनकी आमा माइतीमा दाजुको नातिको अन्नप्राशनको कार्यमा सहभागी हुन जानुप¥यो ।

पूर्णिमालाई पाने उनकी आमा सुवर्णेश्वरीले लग्न चाहेकी थिइन् तर उनले बिहानदेखि खै केले गर्दा हो कपाल दुखेको कारण घरबाट बाहिर निस्कन नै चाहिनन् ।

खाना खाइसक्दा पनि कपाल दुखाइ कम नभएको हुँदा आफ्नो कोठामा आई सुत्ने तरखरमा लागिन् तर निद्रा पटक्कै लागेको होइन । त्यसैले जुरुक्क उठी कोठामै यताउति घुम्न थालिन् । त्यही बखत उनको आँखा शिशाको दराजभित्रको फोटो एल्बममा प¥यो । दराज खोली एल्बम लिई आफ्नै खाटमा पल्टन गइन् । एल्बम पल्टाएर हेर्दा सबभन्दा पहिलो पानामा उनकी आमा र बुबाको तस्वीरमा आँखा पुग्यो । सो फोटो देखेर उनलाई आफ्ना स्वर्गवासी पिता विरिञ्ची नारायणका साथ बिताइएको दिनचर्याको एक–एक सम्झना भयो ।

उनले आफू र आफ्नो परिवारसँग सम्बन्धित घटनाहरु एक–एक गरेर सम्झन पुगिन् । उनका पिताले आफ्ना तीन छोरी र एक छोरालाई भविष्यमा होनहार नागरिक बननुन् भन्ने चाहना राख्दै पठनपाठनमा जोड दिने गरेको, घुमाउन लगेको, कथाहरु भनेको सम्झिन् । उनको जीवनकालमा उनीहरुलाई केही कुराको दुःख थिएन, केही कुराको चिन्ता लिनुपरेको थिएन । उनका पिताले यावत् वस्तु तत्कालै पु¥याइदिन्थे ।

उनी एउटा अर्धसरकारी वित्तीय कार्यालयमा उच्च तहका कर्मचारी थिए । अतः पैसाको कमी थिएन । उक्त कम्पनीको नियमानुसार उनको बुबाको उमेरको हदबन्दीको कारण अनिवार्य अवकाश भयो । तत्पश्चात् उनी एउटा होटलमा सुपरभाइजरको नोकरीमा आबद्ध भए । तेतिन्जेलसम्म पूर्णिमा र उनकी माहिली बहिनी महिमाले कक्षा १२ को परीक्षा उत्तीर्ण गारिसकेका थिए । अब उनीहरुले विदेश गई काम गर्ने विचार गरे ।

एउटा साथीले जापानमा नेपाली साहुको पसलमा कामदार चाहेको खबर गरे । उनले दुवै दिदीबहिनीलाई उक्त साहुसँग भेट गराइदिइन् । उनीहरुले उनको पसलमा इमानदारीपूर्वक कामकाज गर्न इच्छुक रहेको निवेदन गरे । साहुले ती दुई होनहार युवतीहरू देखेर निजहरुको अंग्रेजी तथा जापानी भाषाको सामान्य ज्ञान जाँच्न खोजे ।

दुवैले अंग्रेजीमा समान्य संवाद गर्न सक्ने तर जापानी भाषा हाल सिकिरहेको हुँदा त्यसको राम्ररी बोलचाल गर्न आफूहरू समर्थ नभएको खुलासा गरे । साहुजी उनीहरुको जवाफबाट प्रभावित भई दुवैलाई जापानमा कामदारको रुपमा लैजाने प्रक्रिया थाले । यो सुनेर विरिञ्ची नारायण तथा सुवर्णेश्वरी खुशी भए । दुवैले जापान पठाउने निधो गरे । कारण जीवन भनेको संघर्ष हो, समयमै योसँग परिचित हुनु राम्रो हो भन्ने दुवैको मत थियो ।

दुवैजना जापानमा केही दिन त्यहाँका हेर्नलायक ठाउँहरुमा घुमे । तत्पश्चात् पसलमा कामकाज गर्न थाले । पसलमा नेपालबाट गई काम गरिरहेका एकजना स्वजातीय समवयष्क केटा पनि थियो । तीनैजना सँगसँगै काम गर्ने भए तापनि त्यस केटाको महिमाप्रति बढी झुकाव देखियो । पूर्णिमालाई त्यसको जानकारी भयो । उनले दुवैलाई डाकेर सोधपुछ गर्दा दुवैले एक–आपसमा आत्मीयता बढेको सकारे । यो खबर उनले आफ्ना बाबुलाई दिइन् ।

उनले त्यस केटाको बाबुआमासँग सम्पर्क गरेर वैवाहिक कार्य अघि बढाउन अनुरोध गरे । उनीहरु बिदामा नेपाल आउँदा आफू कार्यरत होटलमै सरल ढंगले स्वयंवर गराई आफन्तजनलाई भोज खुवाउने कार्य सम्पन्न गरे । यसै बीच छोरा विभूति नारायण पानि एसएलसी परीक्षा पास गरी उच्च शिक्षा लिन अस्ट्रेलिया गइसकेका थिए । त्यहीँ अध्ययन गर्दै काम पनि गर्न थालिसकेका थिए । महिमाको विवाहपछि पूर्णिमाले जापानको रोजगार छाडिन् ।

उनी काठमाडौंमै प्राइभेट फर्ममा काम गर्न थालिन् । घरमा आफ्नो जहान सुवर्णेश्वरी, छोरीहरु पूर्णिमा र गरिमा मात्र भए । बिदाको दिन पारेर विरिञ्ची नारायण कार्यरत स्टाफहरुले गोदावरी वनस्पति उद्यानमा वनभोज गर्ने योजना बनाए । विरिञ्ची नारायण पनि सो कार्यक्रममा सहभागी भए ।

झिसमिसे साँझमा उनी आफ्नो होटलको सहचालकले हाँकेको मोटरसाइकलबाट फर्किरहँदा उनी चढेको मोटरसाइकललाई हात्तीवन छिचोलेपछि खुमलटारको उकालोमा एउटा रसियन जीपले ठक्कर दियो । विरिञ्ची नारायण मोटरसाइकलबाट तल खसे र सोही जीपले उनलाई किचेर भाग्यो । नजिकको सहशस्त्र प्रहरी बलका प्रहरी जवानहरूले धापाखेलस्थित अस्पतालमा उपचारार्थ लगे ।

चिकित्सकले परीक्षण गर्दा विरिञ्ची नारायणको प्राण दुर्घटना स्थलमै गइसकेको बताए । साथै गएका अिन्य साथीले निजको घरमा दुःखद खबर दिए । सबै घोर दुःखी भए । त्यो दुःखद समाचार प्राप्त भाएका बन्धुबान्धवहरु विरिञ्ची नारायणको निवासमा भेला भए । उनीहरुमध्ये जेठाबाठा दुईजना प्रहरी चौकी गए । त्यहाँबाट पत्र बुझेर अस्पतालबाट विरिञ्ची नारायणको शव शवयानबाट पशुपति आर्यघाट पु¥याइयो । दागबत्ती दिन छोरा विभूति आउन नमिल्ने कारण उनकी जहान सुवर्णेश्वरीले दिएकी थिइन् । शास्त्रविधिअनुसार वर्षभरि कर्मकाण्ड गरिरहे ।


यतिन्जेल कान्छी छोरी गरिमाको पनि पठनपाठन स्नातकसम्म पुगिसकेको थियो । उनी पनि एउटा पसलमा सेल्स गर्लको काममा सन्तोष मानी आबद्ध हुन पुगिन् । उत्ता अस्ट्रेलिया गएका भाइ विभूतिको पनि एकजना स्वजातीय केटीसँग प्रेमबन्धनमा परेको हुँदा उनैसँग विवाह गरिदिनुहुन सुवर्णेश्वरीलाई अनुरोध गरिएको खबर प्राप्त भयो । पूर्णिमाले यसै अवसरमा कान्छी बहिनी गरिमाको पनि विवाह गराइदिनु श्रेयष्कर हुने सल्लाह दिइन् । त्यसको लागि पैसाको चिन्ता नलिन अनुरोध गर्दै आफूसँग भएको जगेडा पैसाले काम तामेली गर्न सुझाव दिइन् ।

सो रकम अलि–अलि गरी दिई चुक्ता गर्न कबुलिएको विभूतिले आफ्नी आमालाई जनाउ दिए । बन्धुबान्धवहरूसँग सल्लाह गरी सम्बन्धित व्यक्तिहरुसँग सम्पर्क राखेर शुभसाइत हेरी गरिमा र छोरा विभूतिको विवाहको कार्य फत्ते गरियो । केही दिन स्वदेशमा बसी विभूति आफ्नो जहान सुनयनाका साथ अस्ट्रेलिया फर्के । उत्ता फर्केको झन्डै वर्ष दिनपछि सुवर्णेश्वरीलाई हजुरआमा बन्नुभयो भन्ने खबर गरे । यस खुशीयालीमा उनले आफ्नी आमा र दिदी पूर्णिमालाई अस्ट्रेलियामा आउन हवाईजहाजको टिकट पठाएको र त्यहाँ आउन गर्नुपर्ने सकल कार्य मिलाइसकेको हुँदा झिँजो नमानी आउन अनुरोध गरे । त्यसअनुसार आमाछोरी अस्ट्रेलिया गई तीन महिना बसेर फर्के ।

पछि विभूतिबाट फोनमा कुराकानी पनि टाढा–टाढा हुँदै गयो । अलि–अलि गरी पैसा चुक्ता गर्ने बाचामा पनि व्यवधान आयो । हाल कुनै पनि माध्यमबाट उनले सम्पर्क नै गर्न छोडे । यसरी पूर्णिमाको मानसपटलमा विगतका एक–एक घटना सिनेमाको रिलजस्तै घुम्दै गएका थिए । पुराना घटनाहरू सम्झँदासम्झँदै पूर्णिमा निद्राग्रस्त हुन पुगिन् । उनलाई साँझ भएको पनि थाहै भएन । उनकी आमा माइतीबाट फर्किसकेकी थिइन् । साँझको बत्ती बाली छोरीलाई साँझमा पनि सुतिरहने हो ? उठ–उठ भनी उठाइन् । पूर्णिमा झसङ्ग भएर उठिन् । आमासँग मामाघरतिरको कुराकानी गरी खाना पकाउन गइन् । खाना खाएपछि उन आफ्नो केठामा सुत्न गइन् ।


शयन गर्दा पनि उनी आफ्नै आमाको बारेमा घोत्लिइरहिन् । उनकी आमा सुवर्णेश्वरी बैसाखीविना हिँडडुल गर्न नसक्ने भैसकेकी थिइन् । खानेकुरा पकाउन पनि कठिन भइसक्यो । जापानको पाहिले काम गरेको साहुले काममा आउन पटक–पटक फोन गरिसकेकोले यस्ती आमा छोडेर कसरी जाने भनी उनी दोधारमा थिइन् । उनी आफैँ पनि झन्डै पाँच दशक पुग्नलाई चार वर्ष कम उमेरकी भइसकेकी थिइन् ।

त्यो उमेरमा न त्यति टाढाको देशमा काम गर्न जाने, न यतै विवाह गरी घरजम गर्ने । विवाह गरे पनि आफू सुहाउँदो कुमार केटो भेट्टाउन मुस्किल, विदुर मात्र भेटिने, जो बच्चाको बुबा बनिसकेको हुने । उनीहरुकै हेरविचार गर्न विवाह गरेजस्तो हुन्थ्यो । त्यसमा पनि ठूलो बिजोक, त्यस्ता घरपरिवारमा वास्तविक प्रेम–माया कहाँ पाउन सकिन्छ र ? त्यहाँ गई उनीहरुको सेविका बन्नुबाहेक ।

त्यति मात्र हैन, सधैँ सौताको नाममा पहिली श्रीमतीका सन्तानबाट समेत प्रताडित हुनुपर्ने समस्या त छँदै छ । यसरी पूर्णिमा न आमा छोडेर विदेशमा पुनः काम गर्न जाने विचार गर्न सकिन्, न त विवाह गर्न । विवाह नै गरेर गए पनि आमा एक्लै पर्ने डर त छँदै छ । यहाँ विदेशमा जस्तो सुविधायुक्त सशुल्क वृद्ध आश्रम पनि छैन । पूर्णिमाले आफ्नो भावी जीवन कुनरूपमा बिताउने भन्ने निधो गर्न सकिनन् । उनी दोधारमा परिन् । अझै दोधारमै चिन्तन–परिचिन्तन गर्दै उनका दिनहरु बितिरहेका छन् ।