लोकतन्त्रको विकल्पमा राजतन्त्र सम्भव छ त ?

8.55k
Shares

केही दिनअघि अर्थात् गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा त्रिभुवन विमानस्थलको ढोकाअगाडि हजारौंको संख्यामा मानिसको उपस्थिति भयो ।

पूर्वराजालाई एयरपोर्टदेखि निर्मल निवाससम्म पु¥याउनको लागि ठूलै भीड छिचोल्नुपर्ने अवस्था आएको थियो । करिब ३ घन्टाको समय पूर्वराजाले आफ्ना शुभचिन्तकहरुको लागि गाडीमा उभिएर अभिवादन गरिरहेका थिए । उपस्थित व्यक्तिहरुमध्ये केहीले पूर्वराजालाई सिधै नारायणहिटी दरबारमा लगेर राजा बनाइहाल्ने सपना पनि देखेका थिए ।

केही व्यक्तिले उक्त दिनको जनसागर देखेर वर्तमान सरकारले तत्काल संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र घोषणा गर्न पहल गर्नेछन् भन्ने सपना पनि देखेका थिए । कतिले अब राजतन्त्र आयो–आयो, तसर्थ नेताहरुको भागाभाग हुने भयो भन्ने दिवास्वप्न पनि देखिरहेका थिए । हुन पनि कुनै उपलब्धि हासिल गरेर वा कुनै विजयको तक्मा भिरेर आएको नभए पनि एयरपोर्टमा पूर्वराजा झर्दा हजारौं व्यक्तिको मुहारमा वास्तविक विजयको चमक भने अवश्य छाएको देखिन्थ्यो ।

हुन पनि मानिसहरुमा देखिएको त्यो विजयको चमक देखावटी थिएन, वास्तविक नै थियो । त्यहाँ उपस्थित धेरै व्यक्तिहरुको लागि उक्त घटना निराशाहरुको बीचमा एउटा आशाको किरण अवश्य थियो । भनिन्छ, लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन्छ । हुन पनि लोकतन्त्रको विकल्पमा अन्य कुनै पनि तन्त्र हुनै सक्दैन । हजारौं नेपालीको बलिदानीबाट र लाखौं नेपालीको अथक प्रयासबाट आएको लोकतन्त्र नेपाली जनताको लागि अवश्य प्यारो छ ।

यसको हरण कुनै बहानामा कुनै पक्षबाट नहोस् भन्ने आम नेपाली जनताको चाहना पनि छ । राजतन्त्र चाहनेहरुले पनि नेताहरुले इमानदार भएर काम गर्न सकेनन्, जनतालाई धोखा मात्र दिए । तसर्थ राजतन्त्र आवश्यक परेको हो भनेर आफ्नो तर्फबाट दलिल प्रस्तुत गरिरहेको देखिन्छ ।

हुन पनि जसले लोकतन्त्रको रक्षाको लागि इमानदार भएर कार्य गर्नुपर्ने हो उसैले नै लोकतन्त्रको चिरहरण गर्ने प्रयास गरेपछि जनतामा निराशा छाउनु स्वाभाविक पनि हो । आजको वास्तविकता पनि यही हो । लोकतन्त्रमा जनताले आफ्नो प्रतिनिधिमार्फत मुलुक र जनताको भलो हुने कार्य खोजिरहेका हुन्छन् । आफ्नो प्रतिनिधिले जनताको दुःख देख्दै नदेख्ने, आफ्नो प्रमुख जिम्मेवारी बुझ्दै नबुझ्ने, मुलुकको स्वाधीनता र स्वाभिमानको कुनै मतलब नै नराख्ने र स्वार्थको लागि एक–आपसमा जुधेर अस्थिर राजनीतिको खेल खेलिरहने भएपछि जनतामा व्यापक निराशा जाग्नु स्वाभाविक नै हो ।

जनतामा जागेको निराशालाई हतियार बनाएर कुनै दृश्य वा अदृश्य शक्तिले कुनै चाल चाल्नुलाई अनौठो मान्नुपर्दैन, त्यो आवश्यकता पनि हो । लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुने गर्दछ । तर लोकतन्त्रले नै विकल्पको रुपमा रहेको लोकतन्त्रको नै हत्या गरिदियो भने अवश्य पनि अर्को तन्त्र आउनुपर्ने हुन्छ । सबैले बुझ्नै पर्ने हुन्छ कि, कुनै पनि विषयमा विकल्पको नितान्त आवश्यकता पर्दछ ।

विकल्पबेगर कोही पनि ढुक्क र शान्तिसँग बस्न सक्दैनन् । सानो दृष्टान्त नै हेरौं, परिवारमा सबै स्वस्थ भए पनि कुन बेला के पर्छ, के पर्छ भनेर मानिसले सिटामोलको व्यवस्था गरिरहेका हुन्छन् । भान्सामा आजलाई पुग्ने सागसब्जी पर्याप्त भए पनि कोही पाहुना आइपुग्लान् वा भोलि के खाने हो भनेर विकल्पमा थप केही सागसब्जीको व्यवस्था गरिहेका हुन्छन् । मासिक आम्दानीले गुजारा चलिरहेको भए पनि कुन बेला के पर्छ, के पर्छ भनेर मानिसले बैंकमा दुई–चार हजार जम्मा गरिरहेका नै हुन्छन् । घरमा बस्ने, अफिसमा जाने लुगाहरु प्रशस्त भए पनि कुन बेला कसले विवाह–पास्नी भोजमा बोलाउलान् र आपत् पर्ला भनेर अलि राम्रो लुगाको जोहो गरेर राखिरहेका हुन्छन् ।

वर्षदिनभरलाई पुग्ने अन्न भकारीमा राखिएको भए पनि भविष्यमा के पर्ला, के पर्ला भनेर थप अन्नपातको व्यवस्था गरिराखेका नै हुन्छन् । भन्न खोजिएको कुरा, प्रत्येक कुरामा मानिसले विकल्प खोजिरहेका नै हुन्छन् । विकल्प भनेको प्रयोग गर्नै पर्ने कुरा होइन, प¥यो भने मात्र प्रयोग गर्ने चिज हो । आजभोलि लोडसेडिङ भैरहेको छैन, तर पनि मानिसले बत्ती जाला र वाइफाइ बन्द होला भनेर कुनै न कुनै ब्याकअपको व्यवस्था गरिरहेका हुन्छन् ।

तसर्थ विकल्प खोज्नु मानवीय स्वभाव हो । त्यस्तै मानिसले आवश्यक पर्दा प्रयोग गर्ने भनेर आफ्नो वैकल्पिक विचार पनि विकसित गरिरहेका हुन्छन्, तसर्थ विकल्प लोकतन्त्रको पर्याय पनि हो । जब विकल्पलाई समाप्त पार्ने प्रयास गरिन्छ तब कुनै पनि तन्त्र दीर्घकालीन हुन सक्दैन । आज सकारात्मक विकल्पहरुमाथि पनि प्रहार गर्ने कार्य भइरहेको छ । हामीले लोकतन्त्रमा रहेर विभिन्न बहानामा लोकतन्त्रकै घाँटी निमोठ्ने कुकृत्य गरिरहेपछि पुनः राजतन्त्र विकल्पको रुपमा उभिन खोज्नु कुनै आश्चर्यको विषय होइन ।

लोकतन्त्र भनेको राजनीतिको विकल्प पनि हो । सत्ताधारी दलले जनचाहनाअनुसार राम्रो काम गर्न सकेन भने आवधिक निर्वाचनमा उक्त दललाई मत नदिएर विकल्पमा रहेको अर्को दललाई मत दिएर सरकार बनाउनको लागि जनताले अधिकार दिने व्यवस्था भनेको नै लोकतन्त्र हो । लोकतन्त्रको जति नै रट लगाए पनि जनताले निर्वाचनमा मात्र आफ्नो मतद्वारा निर्णय दिने गर्दछन् ।

तसर्थ लोकतन्त्रमा मतदानको अधिकारलाई सबैभन्दा ठूलो अधिकारको रुपमा स्वीकार गरिन्छ । निर्वाचनमा मत नपाए व्यक्ति वा नेताले आफूलाई जनताले दण्डित गरेको ठानेर ५ वर्षसम्म प्रतिनिधिको पगरी नगुत्नु जनताको जनमतको सम्मान गर्नु हो । तर हामी एउटा निर्वाचनमा पराजय भयौं भने अर्को खाले निर्वाचनमा उठेर जनप्रतिनिधि हुन खोज्छौं, निर्वाचनबाट जित्दै जितिएन भने मनोनीत भएर हुन्छ कि अन्य विकल्प अपनाएर हुन्छ प्रतिनिधि भएरै छाड्छौं, जुन कार्य जनमतको घोर अनादर हो । यस्तो कार्य गरेपछि जनतामा लोकतन्त्रप्रति विस्तृष्णा जाग्नु स्वाभाविक पनि हो ।

हाम्रा कैयौं नेताहरु निर्वाचनमा पराजय भएर पनि सांसद बनिरहेका छन् । के यो जनताप्रति गरिएको अपमान होइन ? के यस्तो कार्यले लोकतन्त्र सुदृढ हुन्छ ? यो कार्य गर्ने र गराउनेहरु जो आफूलाई लोकतन्त्रको सर्जक भन्ने पात्रहरुले नै गरिरहेका होइनन् र ? लोकतन्त्रको बलात्कार गर्ने अनि लोकतन्त्रमाथि अरुले धावा बोले भनेर रोइलो गरेर हुन्छ र ? प्रश्न जिम्मेवार नेताहरुमाथि तेर्सिएको छ । लोकतन्त्रमा विकल्पको स्थान दिनुपर्ने हुन्छ ।

आज संसद्मा पहिलो ठूलो दल र दोस्रो ठूलो दल दुवै सरकारमा सहभागी भैरहेका छन् । यी दुई शक्ति स्थायी प्रतिद्वन्द्वी हुन् तर पनि एउटै थालमा भात खाइरहेका छन् । ०८४ को निर्वाचनमा यी दुई ठूला दलहरुले कस्तो राजनीतिक विकल्प छाड्ने भएका छन् त ? यिनीहरुले राम्रो गरे भने पनि दुईमध्ये कुन दलले राम्रो ग¥यो भनेर कुन दललाई जनताले मत दिने ? यिनीहरुले राम्रो गर्न सकेनन् भने पनि यिनीहरुको विकल्पमा कुन दललाई जनताले साथ दिने ? यी दुई ठूला दलले जनभावनाअनुसार काम गर्न सकेनन् भने पनि उनीहरुले विकल्पलाई कमजोर बनाउनको लागि स्वयं गठबन्धनमा चुनाव लड्ने पक्का छ ।

आगामी चैत्र २३ गतेका दिन हुन गइरहेको नेपाल बार एसोसिएसनको निर्वाचनमा इतिहासमा अहिलेसम्म प्रतिस्पर्धीको रुपमा रहेका डीएलए र पीएलएले गठबन्धन निर्माण गरी कमजोर प्रतिपक्षको रुपमा रहेका कानुन व्यवसायीहरुको समूहसँग प्रतिस्पर्धा गर्दै छन् अर्थात् ठूला दलहरु राजनीतिमा र विचारमा कुनै पनि दल विकल्पको रुपमा अघि नबढुन् बरु यसको लागि राजनीतिको प्रचलित सिद्धान्त र आदर्शलाई तिलाञ्जलि दिएर भए पनि निरंकुश लोकतन्त्र स्थापना गर्ने हो भन्ने सोचमा पुगेको झैँ देखिन्छ । यसकारण हामी आफैंले लोकतन्त्रको हुर्मत लिने कार्य गरिरहेका छौं, प्रस्ट छ ।

यी दुई ठूला दलको विकल्पमा माओवादी हुन सक्दैन । माओवादीले यही कार्यकालमा क्रमशः एमाले, कांग्रेस र फेरि एमालेसँग सहकार्य गरेर आफ्नो सरकारलाई सफल साबित गर्न सकेन । तसर्थ, चौथो शक्तिको रुपमा उदाएको रास्वपा वैकल्पिक शक्तिको रुपमा अघि आउने सम्भावना छ ।

स्थापनाको छोटो अवधिमा नै पहिलो निर्वाचनबाट नै ठूला दलहरुलाई धक्का दिँदै अघि आएको रास्वपालाई जनताले वैकल्पिक शक्तिको रुपमा स्वीकार्न खोजेको देखिन्छ । रास्वपाको त्यो वेगले ०८४ को निर्वाचनमा राम्रै खम्बा गाड्छ भन्ने ठूला दलहरुलाई लागेको कारण अनेक प्रपञ्च रचेर उक्त दलको साख गिराउनको लागि अधिकतम प्रयास गरिरहेको देखिन्छ । त्यति गर्दा पनि रास्वपाको साख कमजोर नभएको ठानेर ठूला दलहरुले विकल्पको रुपमा आपसी गठबन्धनलाई नै अस्त्र बनाउने उपाय खोजिरहेका छन्, जसको पहिलो उदाहरण कानुन व्यवसायीहरुको छाता संगठनको निर्वाचनमा स्पष्ट देखिएको छ ।

आफूहरु मतादेशको सम्मान गर्न नसक्ने, घोषित घोषणापत्रअनुसार काम गर्न नसक्ने, अनि भर्रखर जन्मेका पार्टीहरुलाई, त्यस्तै स्वतन्त्ररुपमा निर्वाचित भएका एकाध जनप्रतिनिधिहरुलाई लोकतन्त्र विकासको अवरोध ठान्ने कमजोर मानसिक सोच र कमजोर मानसिक सोच अनुरुप प्रस्फुटित हुने हल्का टिप्पणीहरु र एक–आपसमा हिलो छ्यापाछ्याप गर्ने प्रवृत्तिले गर्दा लोकतन्त्र धरापमा पर्दै गएको स्पष्ट छ ।

लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने भएकोले आगामी दिनमा ठूला दलहरुमा चेत नपलाउने हो भने न राजतन्त्रको पुनस्र्थापना हुन सक्छ, न लोकतन्त्र नै सुदृढ भएर अघि बढ्छ । एकाथरी लोकतन्त्रलाई समाप्त पारेर राजतन्त्र पुनस्र्थापना गराउनको लागि अनेक उपायहरु अपनाउँदै गर्नेछन् भने अधिकांश सचेत नागरिकहरु भिष्म पितामहले असत्यवादी भए पनि कौरवको पक्ष लिएर पाण्डवको विरुद्धमा लडेको झैँ लोकतन्त्र विरोधीहरुसँग लडिरहनेछन् । यस्तो अवस्थामा न लोकतन्त्र जोगिन्छ, न राजतन्त्र जन्मन्छ । जन्मन्छ त मात्र अर्को भयानक द्वन्द्व ।

राजतन्त्र धेरैले भोगेकै विषय हो । पुनस्र्थापित राजतन्त्र संवैधानिक राजसंस्थाको रुपमा रहन सक्दैन । एकातिर ठूला दलहरु निरीह विपक्षी संस्कार अवलम्बन गराउन क्रमशः गठबन्धनको नाममा अघोषित एकतन्त्रीय शासन व्यवस्थालाई मलजल गरिरहेका छन् भने अर्कोतर्फ राजतन्त्रको विशेषता पनि एकतन्त्रीय हुने भएकोले सारा विकल्पलाई समाप्त पारेर ठूला दलहरु र राजा एक ठाउँमा आए भने निरंकुशतामा लोकतन्त्रको जलप लगाएर जनतालाई दिग्भ्रमित नपार्लान् भनी भन्न सकिन्न ।

सामाजिक सञ्जालको पछिल्लो अभ्यास अध्ययन गर्ने हो भने पनि आज राजतन्त्रको बारेमा राखेका सामग्रीहरु भाइरल भइरहेका छन् भने आफूलाई लोकतन्त्रको ठेकेदार भन्नेहरुले गालीको वर्षा सहनुपरिरहेको देखिन्छ । तसर्थ अब पनि नसच्चिने हो भने, अब पनि राजनीतिको आदर्श र सिद्धान्तको पालना नगर्ने हो भने, अब पनि जनतालाई विकल्पहरुको अवसर प्रदान नगर्ने हो भने कुनै पनि खाले राजनीतिक दुर्घटना नहोला भनी भन्न सकिन्न ।

सम्माननीयज्यूहरुलाई आजीवन थप सेवा–सुविधा प्रदान गरेर खुशी पार्ने कार्यले भन्दा जनभावनाअनुसार मुलुक र जनताको हित चिताई कार्य गरेमा मात्र लोकतन्त्रको संरक्षण हुन्छ । तसर्थ सचेत बनौं, जिम्मेवार बनौं र पूर्ण इमानदार बनौं ।
(लेखक काफ्ले अधिवक्ता हुनुहुन्छ ।)