संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल पार्न राजनीतिक नेतृत्वको साथसाथै प्रशासनिक नेतृत्वको पनि महत्वपूर्ण भूमिका रहन्छ । अहिले नागरिकमा शासन व्यवस्थाप्रति जति पनि आक्रोश देखिएको छ, त्यो राजनीतिक र प्रशासनिक नेतृत्वको इमानदारिताको अभावले उत्पन्न गरेको समस्या हो ।
प्रशासनिक नेतृत्व राजनीतिक नेतृत्वको असल सल्लाहकारको रुपमा रहनुपर्छ । प्रशासनिक संयन्त्रमा रहेका सबै कर्मचारीहरु निष्पक्ष र तटस्थ भएर काम गर्ने हो भने धेरै समस्या समाधान हुन सक्छ । तर विडम्बना, हामीकहाँ प्रशासनिक संयन्त्र निष्पक्ष र तटस्थ बन्न सकेका छैनन् ।
सामान्यतया प्रशासन क्षेत्र निष्पक्ष हुनु भनेको राजनीतिकरुपमा निष्पक्ष हुनु हो । प्रशासनिक संयन्त्रमा रहेका व्यक्तिहरुले सही कुराको समर्थन र गलत कुराको विरोध गर्नुपर्छ । सत्यताप्रतिको प्रतिबद्धता नै निष्पक्षता हो । यसै गरी प्रशासकहरु आफ्नो जिम्मेवारी र कामप्रति प्रतिबद्ध हुनु पनि निष्पक्षता हो ।
प्रशासनले कुनै वाद वा विचारको पक्षपोषण गर्नुहुँदैन । यी विषयहरु सैद्धान्तिक भए पनि आम कर्मचारी संयन्त्रले यो सिद्धान्तलाई व्यवहारमा उतार्न सकिरहेको छैनन् । बरु यसको ठीक विपरीत देखिने गरेको छ । अधिकांश प्रशासकहरु सत्य कुराको विषयमा राजनीतिक नेतृत्वसँग अडान लिन सक्दैनन् । अडान लिनुको साटो प्रशासनिक नेतृत्वमा रहने उच्च पदस्थहरु मन्त्रीको ‘एस म्यान’ बन्ने गरेका छन् ।
ठूला–ठूला किताबका ठेलीहरु कण्ठ पारेर, ज्ञानको अथाह भण्डारलाई आफूमा समाहित गर्दै प्रशासकको हैसियत बनाएकाहरु एउटा मन्त्रीको ‘एस म्यान’ बन्न पुग्नु आज हाम्रो लागि निकै दुःखद र लाजमर्दो भएको छ । सबै प्रशासकहरु एकजुट भएर अगाडि बढेमा राजनीतिक नेतृत्वले उनीहरुमाथि खेल्न नसक्ने प्रस्ट हुँदाहुँदै पनि प्रशासक तथा कर्मचारीतन्त्रमा रहेकाहरु एकजुट हुन नसक्नु दुःखद र खेदजनक छ ।
प्रशासकहरु मन्त्रीको ‘एस म्यान’ बन्न पुग्दा उनीहरुले आफ्नो स्वविवेकले काम गर्न सक्दैनन् । प्रशासनिक संयन्त्रले आफैंले राजनीतिक हस्तक्षेपको आमन्त्रणसमेत गर्ने गरेका छन् । वास्तवमा प्रशासन स्थायी सरकार हो । त्यसैले यो व्यावसायिक हुन जरुरी छ । कुनै पनि शासकीय व्यवस्था र प्रणालीलाई सफल तथा असफल बनाउन प्रशासनको महत्वपूर्ण भूमिका रहन्छ । प्रशासनिक संयन्त्रमा रहेका कर्मचारीहरुले चाहेमा धेरै हदसम्म सुधार ल्याउन सकिन्छ ।
जनतालाई सेवा दिने विषयमा पनि कर्मचारीहरु संवेदनशील भएर लाग्न सके भने आम जनतामा उनीहरुकै साख बढ्न पुग्छ । त्यसैले प्रशासनिक संयन्त्रमा बसेकाहरुले अब जिम्मेवारी बहन गर्दा राजनीतिक मान्यताको प्रभावमा पर्नुहुँदैन । त्यसै गरी राजनीतिक नेतृत्वलाई सल्लाह दिँदा वस्तुगत भएर दिनुपर्छ भने रानीतिक कार्यकारीलाई असल निर्णय गराउन उत्प्रेरित गर्नुपर्छ र त्यस्ता निर्णयहरुको कार्यान्वयन सशक्तरुपमा गराउनुपर्छ ।
हामीकहाँ प्रशासनिक संयन्त्र किन तटस्थ बन्न सकेका छैनन् भन्ने बारेमा कहिल्यै पनि कारणहरुको पहिचान गरी समाधानका प्रयासहरु हुन सकेनन् । जसरी मुलुकमा भ्रष्टाचारको पारो किन र के कारणले बढ्यो भन्ने बारेमा कहिल्यै कुनै खोजी गरिएन, त्यसै गरी प्रशासनिक संयन्त्र पनि किन तटस्थ बन्न सकेन भन्ने बारेमा पनि कहिल्यै कुनै खोजी गर्न सकिएन । कर्मचारी तन्त्रमा तटस्थतासम्बन्धी विभिन्न समस्या देखिँदै आएका छन् ।
प्रशासनमा देखिएको नातावाद र कृपावादमा कारण पनि तटस्थतामा गम्भीर समस्या देखिएको हो । प्रशासन यन्त्रलाई अब साँच्चै नै तटस्थ बनाउनुपर्ने अहिलेको आवश्यकता हो । यसका लागि उनीहरुको क्षमता अभिवृद्धि गराउनुपर्छ । यसै गरी सेवा प्रवाहका विविध पक्षलाई पारदर्शी र उद्देश्यमूलक बनाउनुपर्छ । कर्मचारी प्रशासनका हरेक पक्षमा ‘मेरिट बेस’ प्रणाली लागू गर्नुपर्छ भने सुशासन ऐनको व्यावहारिक कार्यान्वय गर्नुपर्छ । यसै गरी राजनीति र प्रशासनबीच विश्वासको वातावरण सिर्जना गर्नुपर्छ ।
प्रतिक्रिया