ह्विलचेयर बास्केटबल सोमबारदेखि


काठमाडौं ।


नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससीआईए) को आयोजनामा अन्तरउपत्यका क्लबस्तरीय ह्विलचेयर बास्केटबल प्रतियोगिता सोमवारबाट सुरु हुने भएको छ ।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले जनायो । प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ६ गरी १३ टोलीले सहभागिता जनाउने बताइएको छ । दुवैतर्फ सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।


प्रतियोगिताको पहिलो खेलमा पुरुषतर्फ एपीएफ र एससीआईएनएनले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ जावलाखेल ह्विलचेयर स्पोर्ट्स क्लबले डब्ल्युएसएविरुद्ध खेल्नेछ । संघकी अध्यक्ष देवी आचार्यका अनुसार महिला र पुरुष दुवैतर्फको विजेताले ५० हजार, दोस्रोले ४० र तेस्रोले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको हाइ स्कोरर र सर्वोत्कृष्ट खेलाडीले समान ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी सबै खेलाडीलाई जर्सीसहित प्रतिदिन १ हजार रुपैयाँ दरले यातायात खर्च र खाना खाजासमेत उपलब्ध गराइने उनले जानकारी दिइन् ।

प्रतियोगिताको लागि १२ लाख २९ हजार रुपैयाँ लाग्ने पनि जानकारी गराएको थियो । उनका अनुसार युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेश र प्रदेश खेलकुद विकास परिषदबाट आर्थिक सहयोग प्राप्त भएको छ । हालसम्म १० लाख रुपैयाँ उठेको अध्यक्ष आचार्यले जानकारी दिइन् ।