तृतको शतकमा आर्मीको जित

940
Shares

काठमाडौं ।


त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पीएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ ।

आर्मीले शनिवार कोशी प्रदेशमाथि ७ विकेटको जित निकाल्दा ओपनर तृतराज दासले शतक प्रहार गरे । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्दा तृतराजले १ सय १२ रनको योगदान दिएका थिए । जारी संस्करणमा यो दोस्रो शतक हो । यसअघि सुदूरपश्चिमका किरण ठगुन्नाले शतक बनाएका थिए । पीएम कपको इतिहासमा यो २६ औं शतक पनि हो । आर्मीका लागि शतक बनाउने तृत तेस्रा खेलाडी हुन् ।

यसअघि विनोद भण्डारी र सागर पुनले शतक प्रहार गरेका थिए । यस्तै, आर्मीका लागि बसिर अहमदले ६१ रन बनाए । बसिर र तृतबीच १ सय २० रनको साझेदारीले आर्मीलाई जित दिलाउन पर्याप्त भएको थियो । यसअघि तेस्रो विकेटका लागि तृतले कप्तान विनोद भण्डारीसँग ५३ रनको साझेदारी पनि गरेका थिए ।

त्यसअघि रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गर्दै कोशीले ४९.३ ओभरमा २ सय ३० रन बनाएको थियो । कोशीका लागि सुभान गहतराजले सर्वाधिक ५१ रन जोडे । आर्मीका लागि सोमपाल कामीले ४, शाहब आलम र आकाश चन्दले समान २ तथा कुशल मल्लले १ विकेट लिए ।

आर्मी खेलेका ४ खेलमा अपराजित रहँदै ८ अंकमा रहेको छ । चारै खेलमा पराजित कोशी अंकतालिकाको पुछारमा छ । सिंगल राउण्डका आधारमा जारी प्रतियोगिताको शीर्ष २ टोली फाइनलमा पुग्नेछन् ।