काठमाडौं ।
स्वास्थ्यजस्तो गम्भीर क्षेत्रमा पदाधिकारी नहुँदा थुप्रै समयस्या आए तर फागुन अन्तिम सातामात्र पदाधिकारी नियुक्त गर्ने साताका रूपमा सरकारले साइत जुरायो ।
फागुन २१ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्राविधिकतर्फको सचिवमा १२औं तहका डा. विकास देवकोटालाई नियुक्त ग¥यो । उहाँ स्वास्थ्य सेवा विभागका निवर्तमान महानिर्देशक हुनुहुन्थ्यो । २१ गते बसेको मन्त्रिपरिषदको बैठकले डा. देवकोटालाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । डा. देवकोटा २०५३ सालमा मेडिकल अधिकृतका रूपमा स्वास्थ्य सेवामा प्रवेश गर्नुभएको थियो ।
त्यसै गरी स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा ४ महिनापछि डा. रघुराज काफ्लेलाई फागुन २६ गतेको मन्त्रिपरिषद बैठकबाट ४ वर्षका लागि नियुक्त गर्ने निर्यय गरेको थियो । उहाँले चैत्र १ गतेबाट पदभार सम्हानुभएको छ । त्यसै गरी स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंकप्रसाद बाराकोटीलाई स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गत मंगलवार मन्त्रीस्तरीय निर्णय गर्दै महानिर्देशक बनाउनुभयो र उहाँले चैत्र १ गते शुक्रवार महानिर्देशकको जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँ स्वास्थ्य सेवा समूहका १२औँ तहका सचिव बन्ने प्रतिस्पर्धामा उत्रनुभएका चिकित्सक हुनुहुन्छ ।
त्यसै गरी स्वास्थ्यमन्त्री पौडेलले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र ठिमीको निर्देशक परिवर्तन गरी गत बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै क्षयरोग केन्द्रमा डा. श्रीराम तिवारीलाई निर्देशकको जिम्मेवारी दिनुभएको छ । डा. तिवारी सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट हुनुहुन्थ्यो । यसअघि क्षयरोग केन्द्रको निर्देशक हुनुभएका डा. प्रज्ज्वल श्रेष्ठ भने काज फिर्ता भएपछि वीर अस्पतालमै फर्कनुभएको छ ।
त्यस्तै, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीको विकास समितिको अध्यक्षमा डा. सरोजा कार्की पाण्डे नियुक्त हुनुभएको छ । स्वास्थ्यमन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै धनुषाकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिनुभएको हो ।
त्यस्तै, निजामती कर्मचारी अस्पतालको निर्देशकमा प्राडा मोहनचन्द्र रेग्मी नियुक्त हुनुभएको छ । फागुन २७ गते बसेको अस्पताल विकास समितिको बैठकले प्राडा रेग्मीलाई निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । चारवर्षे कार्यकालका लागि निर्देशक नियुक्त हुनुभएका प्राडा रेग्मी सोही अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुनुहुन्थ्यो । अस्पतालका यसअघिका निर्देशक प्राडा विधाननिधि पौडेलको चारवर्षे कार्यकाल गत फागुन २५ गते सकिएको थियो ।
प्रतिक्रिया