बालसुधार गृहमा पटक–पटक झडप

0
Shares

बाँके ।

बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बालसुधार गृहमा शुक्रवार राती ११ बजेदेखि शनिवार दिउँसो १ बजेसम्म झडप भइरह्यो । रातभरि आपसमा कुटाकुट भयो ।

भित्र बालबन्दी लडिरहँदा प्रहरी बाहिर रमिते बनिरह्यो । भित्र जाने स्थिति थिएन । बिहान ठूलो संख्यामा प्रहरी पुग्यो । तैपनि प्रहरी भित्र जान सकिरहेको थिएन । बालबन्दीले बालसुधार गृहको तल्लो तलामा आगो लगाए । आगो निभाउन आएको दमकललाई भित्र जान दिएनन् । इँटाको टुक्राले हान्दै बाहिर निस्केर प्रहरीलाई नै लखेटे ।

बालसुधार गृहबाट कम्तीमा पाँच सय मिटर टाढा रहेको गाउँसम्म प्रहरीलाई लखेटे । त्यसक्रममा गाउँको दुई वटा पसल लुटे । नेपालगञ्जबाट थप मद्दत टोली पुगेपछि बालबन्दी पछि हट्दै बालसुधार गृहमा आए । प्रहरी टोली बालसुधार गृहभित्रै पसेर स्थितिलाई नियन्त्रणमा लियो ।


बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार, झडपमा ५१ जना बालबन्दी र ६ जना प्रहरी घाइते भएका छन् । एक जना प्रहरीको खुट्टा नै भाँचिएको छ । घाइतेमध्येका उपचारपछि १८ जना बालबन्दी फर्किएका छन् । अरू घाइतेको नेपालगञ्जमा उपचार भइरहेको छ । भाग्दै गरेका दुई जना बालबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ३५ जनालाई नौबस्ता बालसुधार गृहमा पठाएको छ । केही दिनअघि तीन जना प्रहरी कुट्ने ५ जनालाई पनि नौबस्ता पठाइएको छ । झडपका नाइके ११ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

जयेन्दु बालसुधार गृहमा यो पहिलोपटक झडप भएको होइन । यसअघि पनि कयौंपटक झडप भइसकेको छ । झडपमा परेर एक जनाको मृत्युसमेत भइसकेको छ । झडप हुने र केही दिनपछि झगडालुलाई अन्यत्र सार्ने गरिन्छ । तर, त्यसबाट समस्या समाधान हुन सकेको छैन ।

पटक–पटक झडप किन हुन्छ ?
विश्वस्त स्रोतका अनुसार, झडप हुने प्रमुख कारणमा लागुऔषध रहेको छ । कारागारभित्र निर्वाध रूपमा लागुऔषध पुग्छ । लागुऔषधकै कारणले बालसुधार गृहमा झडप हुने गर्दछ । स्थानीयले बालसुधार गृहबाट रातीमा मदिरा सेवन गर्न गाउँमा आउने गरेको पनि बताए ।

झडपको अर्को कारणमा प्रहरी निरीह हुनु रहेको छ । २ सय ६५ जना बालबन्दी रहेको ठाउँमा १२ जना प्रहरी परिचालन गरिएको छ, त्यो पनि निशस्त्र । बालसुधार गृहमा खटिएका प्रहरी त उनीहरूले जे भन्यो, त्यही मान्नुपर्ने अवस्था रहेको छ । भनेको मानेन भने प्रहरीले समेत पिटाइ खाएको धेरै उदाहरण छन् । १८ वर्षभन्दा कम उमेरका बालबन्दी राख्ने भनिए पनि यहाँ २७-२८ वर्षका समेत छन् ।


बालसुधार गृह स्रोतका अनुसार, फागुन २८ गते गन्दा २ सय ६५ जना रहेकोमा १८ वर्षमाथिका ७६ जना छन् । यी ‘युवा’ बालबन्दीले बालसुधार गृहमा ‘राज’ गर्ने गर्दछन् । ठूला बालबन्दीले अरूलाई घरबाट पैसा मगाउन लगाउँछन् । पैसा नल्याए कुट्छन् । नयाँ आएकासँग पैसा हुनेबित्तिकै लुट्छन् ।

जसले उनीहरूले भनेअनुसार काम गर्दैन, उसले पिटाइ खानुपर्छ । पिटाइ खाएकाहरूले उजुरबाजुर गर्न पाउँदैनन् । कोही बोलेमा थप पिटाइ खान्छन् । यतिसम्म कि, प्रहरीले समेत उनीहरूले भनेको मान्नुपर्छ । नत्र कुटाइ खान्छन् । केही दिन अघिमात्रै नयाँ बालबन्दी लिएर भित्र पसेका तीन जना प्रहरीको टाउको फुटाइदिएका थिए ।

एसईई दिने ३४ जना
बालसुधार गृहमा चैत्र ७ गते हुने एसईई परीक्षा दिने ३४ जना रहेका छन् । उनीहरूले पढ्न पाउने अवस्था नै छैन । उमेर बढी भएका बालबन्दीले नै बालसुधार गृह आफूअनुकूल चलाउने गरेका छन् । केही पहिला १८ वर्षभन्दा कम उमेर रहेकालाई तलको नयाँ भवन र १८ वर्षमाथिकालाई माथिको पुरानो भवनमा राखिएको थियो । भेदभाव गरेको भन्ने आवाज आएपछि बालसुधार गृह प्रशासनले सबैलाई मिसाएर राखेको थियो । १८ वर्षमाथिकालाई कारागार नै पठाउनुपर्ने कारागार प्रशासनले पत्र लेखे पनि त्यसको सुनुवाइ भएको छैन ।


बालसुधार गृहमा पटक–पटक झडप भइरहने र कहिले प्रहरी त कहिले बालबन्दी गाउँमा दौडादौड गरिरहने भएकाले गाउँ नै असुरक्षित रहेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । बालसुधार गृह रहेको वडा नं. ६ का वडाध्यक्ष मोहनराम मिश्रले भोलि नै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर बालसुधार गृहको राम्रो व्यवस्थापन गर्नुपर्ने या हटाउनुपर्ने आवाज उठाउने बताउनुभयो ।