–उपत्यकाका ८ बाहिर १० मा प्रक्रिया रोकियो
–आज मध्यरातसम्म मात्र प्रचार गर्न पाइने
–नेविसंघ प्रवक्ता सेजुवाल भन्नुहुन्छ: मिलाउँदै छौ
काठमाडौं ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) भित्रको दुई गुटको चरम द्वन्द्वका कारण १९ आंगिक क्याम्पसमा निर्वाचन बिथोलिएको छ ।
संस्थापन र शेखर कोइरालाबीचको द्वन्द्वको कारण उपत्यकाभित्र ८ र उपत्यका बाहिर १० गरी १८ क्याम्पसको प्रक्रिया रोकिएको छ । उपत्यकाभित्र प्रक्रिया रोकिएका क्याम्पसहरूमा त्रिवि केन्द्रीय क्याम्पस, सरस्वती, नेपाल ल, विश्वभाषा त्रिचन्द्र बहुमुखी, पद्मकन्या क्याम्पस पब्लिक युथ र शंकरदेव क्याम्पस हुन् ।
उपत्यका बाहिर मेची बहुमुखी महेन्द्र मोरङ क्याम्पस र डिग्री क्याम्पस विराटनगर, सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगर, सुर्खेत शिक्षा क्याम्पस सुर्खेत, कृषि क्याम्पस पक्लिहवा, भैरहवा बहुमुखी क्याम्पस, बुटवल बहुमुखी रारा बहुमुखी क्याम्पस जनकपुर र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरा छन् ।
देशभर ६२ आंगिक क्याम्पस छन् । तीमध्ये अब पर्सि ५ गते ४४ वटा क्याम्पसमा मात्र निर्वाचन हुने सम्भावना रहेको छ । नेविसंघभित्रको आन्तरिक विवाद, देउवा र शेखर गुटको कारण देशैभरका क्याम्पसमा निर्वाचन बिथोलिन थालेको छ । उपत्यकामा मनोनयन गर्ने दिन त्रिवि केन्द्रीय र पद्मकन्या क्याम्पसमा मात्र निर्वाचन प्रक्रिया शुरू हुन सकेको थिएन ।
पछि आन्तरिक द्वन्द्वको कारण नेविसंघका शेखर पक्षका उम्मेदवारले विभिन्न क्याम्पसमा ताला लगाएका छन् । शुरूमा २ क्याम्पसमा थियो । हिजोसम्म ८ पुगेको छ । नेविसंघका प्रवक्ता सुरज सेजुवालले शनिवार रातिसम्म समस्या समाधान हुन सक्ने दाबी गर्नुभयो । ‘त्रिवि केन्द्रीय क्याम्पसमा पार्टीकै तर्फबाट निर्वाचन प्रक्रियाअघि बढाउन समन्वयन भइरहेको छ । अन्यमा स्थानीय तहका नेताले समन्वय गरिरहनुभएको छ’ –प्रवक्ता सेजुवालले भन्नुभयो ।
नेविसंघभित्र विवादका कारण देशभर स्ववियु निर्वाचन भड्किन सक्ने आँकलन भएको छ । त्यसलाई साम्य पार्न दलका उपल्लो स्तरका नेताले ठोस निर्णय गर्नुपर्ने विद्यार्थीको धारणा छ । अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले नेविसंघको कारण देशका केही क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘एउटा विद्यार्थी संगठनको कारण विद्यार्थीको अधिकार खोस्ने काम भइरहेको छ ।’ उहाँले नेविसंघभित्र देखिएको गुटउपगुटका कारण निर्वाचन प्रक्रिया अनिश्चित भएको आरोप लगाउनुभयो ।
नेविसंघभित्र देखिएको समस्या संगठनले नै समाधान गरी निर्वाचन प्रक्रियालाई अघि बढाउनु आवश्यक छ । नेविसंघले दुई गुटबीच मान्य हुने गरी उम्मेदवार बनाउन नसकेको कारण द्वन्द्व बढेको हो ।कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा भागवण्डा मिलाउन नसक्दा केही ठूला क्याम्पसमा नेविसंघभित्र तीव्र असन्तुष्ट छ । नेविसंघमा केन्द्र र इकाइले फरकफरक अध्यक्षलाई मनोनयनपत्र पठाएपछि विवाद भएको थियो ।
तीन ठूला प्रतिस्पर्धी संगठनमध्ये अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) मा उम्मेदवारी र बागीको विषयमा कुनै विवाद छैन । गएको निर्वाचनमा त्रिविअन्तर्गत ६२ आंगिक क्याम्पसमध्ये उपत्यकाको ६ र उपत्यका बाहिरका ६ गरी १२ वटामा मनोनयन हुन सकेन । यो वर्ष ६ वटा थपिएर १८ हुने देखिएको छ । केन्द्रीय निवाचन समितिले जारी गरेको कार्यतालिकाअनुसार आज आइतबार राति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाइन्छ । त्यसपछि मौन अवधि शुरू हुनेछ । चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान हुनेछ ।
चैत २० गतेसम्म निर्वाचन गर्नैपर्ने
निर्वाचन केन्द्रीय समितिले स्थगित भएका सबै क्याम्पसमा २० गतेभित्र निर्वाचन गरिसक्नुपर्ने जनाएको छ । समितिले आज आइतबार सूचना जारी गर्ने तयारी छ । सोही आधारमा निर्र्वाचन प्रक्रिया रोकिएका क्याम्पसले चैत २० गतेसम्म निर्वाचन गरिसक्नुपर्नेछ ।
समितिका सदस्यसचिव एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राडा पशुपति अधिकारीले चैत २० गतेसम्म निर्वाचन नभए स्ववियु र रहने वा नरहने भन्ने पिषयमा कानुनी प्रश्न आउने बताउनुभयो । उहाँका अनुसार प्रक्रिया शुरू भएका क्याम्पसमा ५ गते निर्वाचन हुनेछ । बाँकी १८ वटाले २० गतेभित्र निर्वाचन गरिसक्नुपर्नेछ । गएको निर्वाचनमा १२ वटामा मात्र निर्वाचन भएको थिएन । यो वर्ष ६ वटा थपिएर १८ पुगेको छ । १८ क्याम्पसले २० गतेभित्र निर्वाचन सम्पन्न गरेर त्यसको नतिजा त्रिविलाई जानकारी दिनुपर्नेछ ।
प्रतिक्रिया