८६ सम्बन्धन क्याम्पसमा निर्विरोध

३३ नेविसंघ, ३२ अनेरास्ववियु र २१ अखिल (क्रान्तिकारी)


काठमाडौं ।


स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत देशभरका ८६ वटा सम्बन्धन प्राप्त क्याम्पसमा अध्यक्षलगायत सबै पदमा निर्विरोध भएको छ । निर्विरोध भएकामध्ये नेविसंघ ३३, अनेरास्ववियु ३२ र अनेरास्ववियु (क्रान्तिकारी) ले २१ क्याम्पसमा अध्यक्ष पदमा निर्विरोध भएका छन् ।


विद्यार्थी संघ र संगठनले अध्यक्षमा निर्वाचित भएका क्याम्पसलाई गणना गरेका छन् । मंगलवार मनोनयन दर्तासँगै ती क्याम्पसमा निर्विरोध भएको हो ।

सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते निर्वाचन हुनेछ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक एवं स्ववियु निर्वाचन केन्द्रीय समितिका सदस्यसचिव प्राडा पशुपति अधिकारीले सम्बन्धन प्राप्त क्याम्पसमा कुन संगठनका अध्यक्ष निर्वाचित भए भन्ने विषयमा जानकारी नहुने बताउनुभयो ।


कतिमा प्रक्रिया भयो कुन क्याम्पसमा भएन भन्ने विषयमा निर्वाचन सकिएपछि मात्र जानकारी हुने उहाँको भनाइ थियो । समितिले ६२ आंगिक क्याम्पसको निर्वाचन प्रक्रियाबारे मात्र जानकारी राख्ने गरेको छ ।


हाल तीन संगठनले जितेका क्याम्पसमध्ये केहीमा तालमेल गरेको र केहीमा एकल निर्वाचित भएको पाइएको छ । नेविसंघका प्रवक्ता सुरज सेजुवालले नेविसंघले हालसम्म ३३ क्याम्पसमा निर्विरोध निर्वाचित भएको जानकारी दिनुभयो ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले हालसम्म अनेरास्ववियुले ३२ क्याम्पस अध्यक्ष निर्विरोध भएको जानकारी दिनुभयो । अनेरास्ववियु (क्रान्तिकारी) का फ्रयाक्सन इचार्ज हिमाल शर्माले पछिल्लो परिणाम अनुसार २१ क्याम्पसमा निर्विरोध भएको जानकारी दिनुभयो ।