गणतन्त्रविरुद्ध खुलेआम नारा लाग्न थालेपछि विभिन्न ध्रुवमा फर्किएका दलहरु फेरि एकठाउँमा उभिने कोशिश गर्न थालेका छन् । पुनः शक्ति हत्याउने नाममा जस्तोसुकै कम्परमाइज गर्न उद्यत भएका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो शक्ति प्रदर्शन गरेपछि दलहरुमा डरले बास गर्न थालेको छ ।
पूर्वपञ्चहरुलाई एकै ठाउँमा भेला गराएर गुमेको राजतन्त्र फर्काउने भन्दै दलमाथि खनिएका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो एक चरणको शक्ति प्रदर्शन गरेपछि हिजो एक–अर्कालाई देखी नसहने दलका शीर्ष नेतृत्व अहिले एकठाउँमा उभिन तयार भएका हुन् ।
आ–आफ्नो स्वार्थमा रुमलिएका दलहरुले मुलुक निर्माणमा एकजुट भएर अघि बढेको भए पुनरुत्थानवादी शक्तिले यसरी टाउको उठाउने हिम्मत पक्कै गर्ने थिएन । गणतन्त्रको विरोध गर्दै, अब नयाँ शिराबाट देशलाई अघि लैजानुपर्ने भन्दै दलमाथि जथाभावी प्रहार गर्न तम्सिएका राजवादीहरुले बार्गेनिङ गरी गणतन्त्रको नाममा भएका बेथितिको फाइदा उठाई जुर्मुराउनु पक्कै शुभ संकेत होइन ।
जनअपेक्षालाई बेवास्ता गर्दा के–कस्तो हालत हुन्छ भन्ने आँकलन गर्न नसकेका दलहरुले एकले अर्कालाई दोष लगाएर आफू चोखो हुन खोज्ने प्रवृत्तिका कारण खुलेआम राजावादीहरु संघीयता र गणतन्त्रविरुद्ध नारा लगाउँदै हिँड्न थालेका छन् । नेपाली जनताको लामो त्याग र बलिदानबाट आएको व्यवस्थालाई पूर्वपञ्चहरुको अगुवाइमा जथाभावी बोल्ने अनि गणतन्त्रविरुद्ध नाराबाजी गर्ने गर्दा जनता निरीह भएर उनीहरुको गालीगलौज सुन्नुपर्ने अवस्था आउनु आफैँमा राम्रो होइन ।
मुलुक निर्माणमा सिन्को नभाँच्ने दलका नेता–कार्यकर्ताले अहिले राजावादीहरुले टाउको उठाए भन्दै रोइलो गर्नुको कुनै तुक छैन । राम्रा भन्दा पनि हाम्रालाई हेर्ने प्रवृत्ति हाबी हुँदै गएपछि मुलुकका सबै निकाय अहिले लुलो हुन पुगेका छन् । कर्मचारीतन्त्रमा देखिएको विकृत मानसिकताले मुलुकलाई चुर्लुम्मै डुबाइदिएको छ भने हरेक क्षेत्रमा पैसाविना कुनै काम नै नहुने र कुनै पनि काम गर्न घुस खुवाउनुपर्ने अवस्था आउनुले देश कुन अवस्थामा छ भन्ने छर्लङ्ग हुन्छ ।
हरेक क्षेत्रमा हुने विकृति र विसंगतिका कारण सुन्दर व्यवस्था लोकतन्त्रमाथि बलात्कार गर्ने प्रयास हुनु दुःखद हो । पूर्वराजा ज्ञानेन्द्रले आफ्नो शक्ति प्रयोग गरेर सत्ताका लागि बार्गेनिङ गर्न थालेपछि दलहरु एकठाउँमा आउनु राम्रो भए पनि मुलुक निर्माणका लागि सधैँ यसरी नै अघि बढेको भए आजको यो दिन आउने थिएन । त्यसैले दलहरु सक्किने कि सच्चिने भन्ने कुरामा सोच्ने बेला आएको छ । सबैको घैँटोमा घाम लागोस् ।
प्रतिक्रिया