काठमाडौं ।
सूचना माग्नेहरूले नै सूचनाको दुरुपयोग गर्ने गरेकाले सूचनाको हक कार्यान्वयनमा नयाँ चुनौती देखिएको सरोकारवाला निकायले चिन्ता व्यक्त गरेको छ ।
सूचनाको हक प्रयोग गर्ने नाममा केही व्यक्ति वा संस्थाले सूचना लिएर त्यसको दुरुपयोग भएको भन्दै राष्ट्रिय सूचना आयोगले चिन्ता व्यक्त गरेको हो । राष्ट्रिय सूचना आयोगमा नयाँ नेतृत्व आएपछि सञ्चारकर्मीसँगको भेटमा आयोगका पदाधिकारीहरूले सूचनाको हकको दुरुपयोग भएको निष्कर्ष निकाल्दै यसलाई व्यवस्थित गर्न जरुरी भइसकेको महसुस गरेको छ ।
आयोगका प्रमुख आयुक्त डा. सुरेश आचार्यले आयोगमा उजुरी गर्ने केही व्यक्तिले एउटै विषयमा पटकपटक सूचना माग गर्ने र त्यसको दुरुपयोग गर्ने गरेको पाइएको बताउनुभयो । सूचनाको हक प्रयोग गर्ने व्यक्तिहरूले प्रायःजसो बैंक तथा वित्तीय संस्थाका बारेमा उजुरी गर्ने र त्यसको सूचना किन चाहियो भनेर आयोगले प्रश्न गर्दा व्यक्तिगत जानकारीका लागि भन्दै दुरुपयोग गर्ने गरेको आयोगको नोटिसमा आएको प्रमुख आयुक्त आचार्यले जानकारी दिनुभयो ।
रविन्द्रकुमार गौतम, सागर जोशी, प्रवीणकुमार शर्मा, विनोद बस्नेत र अंगराज भारतीले आयोगबाट सबैभन्दा बढी सूचना मागेका छन् । उनीहरूले कुन प्रयोजनका लागि सूचना मागेको हो त्यो भने प्रस्ट हुन सकेको छैन । तर, उनीहरूले जति पनि सूचना मागेका छन् व्यक्तिगत प्रयोजनका लागि सूचना मागेको पाइएको छ ।
आफूलाई सूचना अभियन्ता भन्नेहरूले कुन प्रयोजनका लागि सूचना मागेको हो भन्नेबारेमा आयोगलाई प्रस्ट जवाफ दिन नसकेको आयोगका आयुक्त तथा प्रवक्ता गगन विष्टले जानकारी दिनुभयो ।











प्रतिक्रिया