–गृहमन्त्रीको निर्देशनअनुसार सुरक्षा कमान्ड गठन
–६२ आंगिकमध्ये ६० मा निर्वाचन हुने, २ मा भाँडियो
–नेविसंघ, अनेरास्ववियु र क्रान्तिकारीले केन्द्रीय प्रतिनिधि खटायो
काठमाडौं ।
चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै छ । आजबाट ६० वटा आंगिक र ३ सयभन्दा बढी त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचनको माहोल तात्न शुरू हुनेछ । यद्यपि, बुटवल बहुमुखी र भैरहवा क्याम्पसमा भने निर्वाचन प्रक्रिया शुरू भएको छैन ।
कार्यतालिकाअनुसार सोमबार मनोनयनपत्र वितरण भएको थियो भने आज समानुपातिक र प्रत्यक्षतर्फको मनोनयन दर्ता हुनेछ । मनोनयन दर्ता गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र अनेरास्ववियु(क्रान्तिकारी)ले केन्द्रीय नेता खटाएको छ ।
मनोनयन दर्ताको क्रममा विभिन्न अवाञ्छित गतिविधि हुने सम्भावना भएपछि उपत्यकासहित सबै आंगिक र निर्वाचन हुने सम्बन्धन प्राप्त क्याम्पसमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मनोनयन दर्तापछि आगामी २८ गते प्रत्यक्ष समानुपातिकतर्फको उम्मेदवारको दाबी विरोध र सोही दिन ५ बजे उम्मेदवारको दाबी विरोधउपर छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
फागुन २९ गते दिनको १ बजेसम्म उम्मेदारको नाम फिर्ता लिई अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । कार्यतालिकाअनुसार चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ । त्रिविले प्रचारप्रसार गर्ने समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राती १२ बजेसम्म तोकेको छ, त्यसपछि मौनअवधि शुरू हुनेछ । मौन अवधि शुरू भएपछि उम्मेदवारले निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न निषेध गरेको छ ।
यसैबीच गृहमन्त्री रमेश लेखकले स्ववियु निर्वाचनमा पूर्ण सुरक्षा व्यवस्था गर्न ७७ वटै प्रमुख जिल्ला अधिकृतहरूलाई निर्देशन दिनुभएको छ । त्रिविका उपकुलपति, रेक्टर र रजिस्टारसहितको बैठकमा गृहमन्त्री लेखकले सीडीओसँगै नेपाल प्रहरी र सशस्त्रप्रहरी बल प्रमुखलाई निर्देशन दिनुभएको हो । निर्देशनअनुसार प्रहरी र सशस्त्रका एआईजीको नेतृत्वमा चुनावको लागि केन्द्रीय सुरक्षा सेल गठन गरिएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक एवं शिक्षाध्यक्ष प्राडा खड्ग केसीका अनुसार सो सेलले प्रमुख जिल्ला अधिकारीका निर्देशनमा सुरक्षा रणनीति तय गर्नेछ ।
निर्वाचन हुने प्रत्येक जिल्लाका जिल्ला प्रहरी कार्यालयमा स्ववियु निर्वाचनकै लागि सम्र्पक व्यक्ति तोकेर निर्वाचन हुने क्याम्पस र आवश्यक सुरक्षा संयन्त्रसँग समन्वय गर्न मन्त्री लेखकले निर्देशन दिनुभएको छ । सोहीअनुसार निर्वाचन हुने क्याम्पस भएका जिल्लामा क्याम्पस प्रमुख र प्रहरी प्रमुख रहनेगरी सुरक्षा संयन्त्र गठन गरिएको छ ।
स्ववियु निर्वाचनलाई पूर्ण सुरक्षा दिन सरकारले सुरक्षा कमान्डको पनि गठन गरेको छ । त्रिवि निर्वाचन समितिका सदस्यसचिव एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार सुरक्षा कमान्डको बैठकले आवश्यकताको आधारमा सुरक्षाबल परिचालन गर्ने, बैठकमा हुलहुज्जन गर्ने समूह पहिचान गरी निन्त्रण गर्ने, फर्जी मतदाताको निगरानी गर्न सादा पोशाकको प्रहरी परिचालन गर्ने निर्णय गरेको छ ।
फागुन १९ गतेबाट स्ववियु निर्वाचन प्रक्रिया शुरू भएको थियो । हालसम्म राजधानीको पिपल्स क्याम्पसमा निर्वाचन स्थगित भएको छ । उपत्यका बाहिर बुटवल बहुमुखी र भैरहवा बहुमुखी क्याम्पसमा तालाबन्दीको कारण निर्वाचन प्रक्रिया स्थगित छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले अनेरास्ववियु (क्रान्तिकारी) र नेविसंघले दुई क्याम्पसमा प्रक्रिया शुरू हुन नदिएर तालाबन्दी गरेको आरोप लगाउनुभयो ।
२०७९ सालको निर्वाचनमा उपत्यकाका ४ र बाहिरका ८ गरी १२ आंगिक क्याम्पसमा निर्वाचन भएको थिएन । त्रिविले यो वर्ष सबै आंगिक क्याम्पसमा निर्वाचन गर्ने तयारी गरेको छ ।











प्रतिक्रिया