शीर्ष नेताहरू भित्र झस्किए पनि बाहिर भन्छन् ‘सामान्य’ !

राजावादीहरूको शक्ति प्रदर्शन


काठमाडौं ।


प्रमुख दलका शीर्ष नेताहरू आइतबारको राजावादीहरूको प्रदर्शनका कारण भित्री रूपमा झस्किए पनि बाहिर भने उनीहरूले राजसंस्थाको कुनै माहोल नभएको भन्दै अभिव्यक्ति दिएका छन् । यद्यपि, शीर्ष नेतृत्वलाई सच्चिएर अघि बढ्नुपर्ने दबाब पार्टीभित्रै र आम कार्यकर्ताबाटै पर्न थालेको छ ।


नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजाको पक्षमा कुनै माहोल नभएको र काठमाडौंको प्रदर्शन सामान्य भएको बताउनुभयो । उहाँले सोमबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै राजतन्त्रको पक्षमा माहोल नदेखिएको दाबी गर्नुभयो ।


राजावादीले गरेको प्रदर्शनबारे उहाँले भन्नुभयो– ‘कुनै माहोल देखेको छैन । हिजो काठमाडौंमा केही भएको छैन ।’ सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले दुई पार्टीबीच मिलेर बनेको सरकार ०८४ सम्म जाने र कुनै समस्या नभएको स्पष्ट पार्नुभयो ।
यस्तै, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार काठमाडौंमा गैरसरकारी संस्था महासंघको ११औँ महाधिवेशन तथा नागरिक सम्मेलनको उद्घाटनका क्रममा बोल्दै राजावादीहरूको जुलुसमा विदेशीको फोटो राखिएकाले त्यसबाट नै थप कुरा प्रस्ट हुने बताउनुभयो ।

राजतन्त्र पक्षधरको आइतबारको कार्यक्रमको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘एउटा जुलुस निकाल्नुप¥यो भने विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौँ । अलोकतान्त्रिक, प्रणाली विरोधी र असंवैधानिक कुरामा लाग्ने हामीलाई फुर्सद छैन । हामी हरेक दिन एक कदम अगाडि भन्ने सोचका साथ समृद्ध नेपालको यात्रामा छौँ ।’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजावादीहरूको प्रदर्शनप्रति संकेत गर्दै लोकतन्त्रमाथिको प्रहार सह्य नहुने बताउनुभयो ।

उहाँले संविधान, लोकतन्त्रका साथै संघीय गणतन्त्रको रक्षाका लागि सरकारलाई गम्भीर बन्न आग्रह गर्दै लोकतान्त्रिक गणतन्त्र जनताको बलिदान तथा संघर्षबाट प्राप्त भएकाले त्यसको रक्षाका लागि सबै एकताबद्ध हुनुपर्ने बताउनुभयो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूको प्रदर्शनबाट आफूहरू विचलित नभएको र नडराएको स्पष्ट पार्नुभएको छ ।

सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफूले विगतमा ठूलाठूला युद्ध गर्दा त नडराएकोमा अहिले डराउने भन्ने प्रश्नै नरहेको बताउनुभयो । सञ्चारकर्मीले ‘राजावादीहरूको प्रदर्शनले मन, मुटु हल्लिएको हो ?’ भन्ने प्रश्न गर्दा प्रचण्डले आफूहरू विचलित नभएको र नडराएको स्पष्ट पार्नुभएको हो । ‘यो प्रदर्शनले केही हल्लाएको छैन । केही भएको छैन । केको डराउनु । त्यस्तो लडाइँको बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले’ –प्रचण्डले भन्नुभयो ।

राजतन्त्रको पक्षमा कुनै माहोल छैन, त्यो सामान्य प्रदर्शनमात्रै भएको हो । हिजो काठमाडौंमा केही भएको छैन ।
शेरबहादुर देउवा
कांग्रेस सभापति

एउटा जुलुस निकाल्नुप¥यो भने विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौँ । अलोकतान्त्रिक, प्रणाली विरोधी र असंवैधानिक कुरामा लाग्ने हामीलाई फुर्सद छैन ।
केपी शर्मा ओली
प्रधानमन्त्री तथा एमाले अध्यक्ष

यो प्रदर्शनले केही हल्लाएको छैन । केही भएको छैन । केको डराउनु । त्यस्तो लडाइँको बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले के डराउनुप¥यो ?
पुष्पकमल दाहाल ‘प्रचण्ड’
माओवादी केन्द्रका अध्यक्ष

लोकतन्त्रमाथिको प्रहार सह्य छैन, यसको रक्षार्थ सबै लोकतन्त्रवादीहरू एकजुट हुनुपर्छ ।
माधवकुमार नेपाल
अध्यक्ष, नेकपा एकीकृत समाजवादी