राजावादीहरुको प्रदर्शनले केही हल्लाएको छैन : प्रचण्ड


काठमाडौं । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरुको प्रदर्शनबाट नडराउने बताएका छन् । सोमबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले राजावादीहरुको प्रदर्शनले डराउनुपर्ने आवश्यकता नरहेको टिप्पणी गरेका हुन् । 

‘राजावादीहरुको प्रदर्शनले मुटु हल्लिएको हो ?’ भन्ने सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै प्रचण्डले भने, ‘प्रदर्शनले केही हल्लाएको छैन, केही भएको छैन । त्यस्तो लडाइको बीचमा त्यस्तो गर्दा त डराइएन ।’

प्रचण्डले राजावादीहरुको गतिविधिको जिम्मा सरकारले लिनुपर्ने बताउदै जनतामाझ सरकारप्रति निकै ठूलो आक्रोश रहेको प्रतिक्रिया दिए । साथै उनले राजावादीहरुको गतिविधिविरुद्ध सडकमा उत्रिने बारेमा आफूहरू छलफलमा रहेको समेत बताए ।