स्ववियु निर्वाचन: अनेरास्ववियुले प्रतिबद्धतापत्र सार्वजनिक गर्‍यो   

23.03k
Shares

 काठमाडौं ।

 एमाले निकट अनेरास्ववियुले स्ववियु निर्वाचन २०८१ को प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आज आयोजित कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडालले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्। 

   उम्मेदवारको मनोनयन दर्ता गर्नु एकदिनअघि प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । प्रतिबद्धता पत्र  सार्वजनिक गर्दै अध्यक्ष समिक बडालले स्ववियु निर्वाचनपछि अनेरास्ववियले विजय हासिल गरेका सबै क्याम्पसमा सोही प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने बताए। उनले भने–विश्वविद्यालय शिक्षाको सबैपक्ष सुधार गर्न प्रतिबद्धता पत्र सार्वजनिक गरेका छौ, सोही अनुसार अनिवार्य कार्यान्वयन गर्न निर्देशन दिनेछौ ।

 

  अनेरास्ववियुले सोही प्रतिबद्धता पत्र देशैभरका ६२ आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसको चुनाव प्रचारको क्रममा वितरण गर्नेछ ।  निर्वाचन आचारसंहिता अनुसार रंगिन प्रतिबद्धता पत्र वितरण गर्न पाइँदैन । अनेरास्ववियुले एकरङमा छपाई गरेको प्रतिबद्धता पत्र वितरण गर्ने तयारी गरेको छ । 

 प्रतिबद्धतापत्रमा वर्तमान राजनीतिक परिवेश, नेपालको शैक्षिक परिवेशमा अनेरास्ववियुको दृष्टीकोण, अनेरास्ववियुले कसरी विकास गर्न चाहन्छ ? लगायत विषय समावेश छन् । प्रतिवद्धतामा शिक्षामा पहुँच र निरन्तरता, शिक्षाको गुणस्तर, परीक्षा प्रणाली, शिक्षालाई रोजगारीमा जोड्ने विषय उल्लेख छ । संस्थागत विकासको दृष्टीकोण अन्तर्गत शैक्षिक प्रशासन तथा पुर्वाधार , विद्यार्थी कल्याणको विषय उल्लेख छ । 

 त्रिबिका ठुला आङ्गिक क्याम्पसलाई विकेन्द्रीकरणको अवधारणा अनुरुप स्थानीय आवश्यकता अनुसार स्वायत्त तरिकाले सञ्चालन गर्न  पहल गर्ने, शैक्षिक ऋण र अनुदान सम्बन्धी स्पष्ट नीति निर्माणमा पहल गर्ने,   विभिन्न विश्वविद्यालय संग सम्बन्धन लिएका निजी शिक्षण संस्थाले १० प्रतिशत छात्रवृति कोटा बढाएर २० प्रतिशत बृद्धी गर्ने र छात्रवृति पाएका विद्यार्थीलाई अन्य शुल्क लिन तत्काल बन्द गर्न पहलगर्ने विषय प्रतिबद्धतापत्रमा लेखिएको छ ।

 

प्राबिधिक विषयको प्रयोगात्मक पक्षलाई प्राथमिकता दिई बराबर अनुपातमा ५०–५० लिखित र प्रयोगात्मक पाठ्यक्रम परिमार्जन गर्न पहल गर्ने,  चिकित्सा शिक्षाको स्नातकोत्तर तह अन्तर्गत एमडी तहका आवासीय चिकित्सकलाई सरकारले तोके अनुसार निर्वाह भत्ताको व्यवस्था गर्न चिकित्सा शिक्षा आयोगले कडाइ गर्ने, वैज्ञानिक ढंगले डिउटी आवर कायम गर्ने,  अनिवार्य रुपमा सुत्केरी र मृत्यु संस्कार बिदा दिने व्यवस्था मिलाउने उल्लेख छ । 

प्रविधिमैत्री सिकाइको व्यवस्था गर्ने, शिक्षाशास्त्र संकाय अन्तर्गत पाठ्यक्रमलाई शिक्षक सेवा आयोगको पाठ्यक्रम अनुकूल परिमार्जन गर्ने, अभ्यास शिक्षणलाई थप प्रभावकारी बनाउन स्थानीय तहसंग सहकार्य गरी कम्तीमा ६ महिना शुल्क सहितको इन्टर्नसिपको व्यवस्था गर्ने, स्ववियकाु पहलमा प्रत्येक क्याम्पसमा आइडिया बैक, इन्कुवेशन सेन्टर स्थापना गरी उद्यमशिलता प्रवर्द्धन सम्बन्धी कार्यक्रम आयोजना गर्ने, पढ्दै कमाउँदै अवधारणालाई कार्यान्वयन गर्ने प्रतिबद्धतामा उल्लेख छ ।

 त्यस्तै प्रत्येक क्याम्पसमा क्यान्टिन, सबै विश्वविद्यालयमा  अनिवार्य रुपमा शैक्षिक क्यालेण्डर निर्माण गर्न र सोही अनुसार शैक्षिक कार्याक्रम लागु गर्न पहल गर्ने, क्याम्पस भवनहरु रङरोगठ, मर्मत सम्हार र ब्युटिफिकेशन गर्न पहल गर्ने , अनिवार्य रुपमा पुरुष , महिला र अपाङमैत्री शौचालय निर्माण गर्ने, भेटेरिनरी अध्यापन हुने क्याम्पसमा अनिवार्य रुपमा भेटेरिनरी अस्पताल स्थापना गर्न पहल गर्ने प्राइभेट परीक्षाको विकल्पमा दूर शिक्षा अवधारणा लागु गर्न पहल गर्ने लगायत विषय प्रतिबद्धतामा समेटिएको छ ।

 

 प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रमा उपाध्यक्ष धर्म गिरी र महासचिव नरेश शाहीले  स्ववियु निर्वाचनमा सबै उम्मेदवारले प्रतिबद्धतालाई मुल मन्त्रको रुपमा अघि बढाउनुपर्ने बताएका थिए । आरआर क्याम्पसमा सार्वजनिक भएको प्रतिबद्धता पत्र देशैभर वितरण हुने र सोही अनुसार प्रचारप्रसार गर्ने गरी निर्देशन दिएको छ।
 अध्यक्ष बडालले एकल प्रतिस्पर्धामा होमिएको अनेरास्ववियुलाई जिताउने मुख्य हतियार प्रतिबद्धता पत्र भएको बताउँदै त्यसलाई कार्यान्वयन गर्नेगरी प्रचार गर्न आग्रह गरे ।