पोखरा ।
पूर्वराजा ज्ञानेन्द्र करिब एक महिनाको बसाइपश्चात काठमाडौं फर्कनुभएको छ । माघ २७ गते पोखरा आउनुभएको ज्ञानेन्द्रले पोखरालगायत विभिन्न मन्दिरमा दर्शनसँगै नागरिकसँग भेटघाटसमेत गर्नुभएको छ ।
२७ गते आइतबार परिवारका सदस्यसहित समिट एयरको चार्टर जहाजबाट शाह पोखरा आइपुग्नुभएको थियो । पोखरामा समर्थकहरुले उहाँलाई स्वागत गरेका थिए । पोखरा आएकै दिन रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्टमा उहाँ बस्नुभएको थियो ।
त्यसको भोलिपल्टदेखि अर्थात् माघ २८ गतेबाट शाहको शक्तिपीठ भ्रमणको तालिका शुरु भएको थियो । झन्डै एक महिनाको बसाइमा उहाँले पोखरासँगै स्याङ्जा, बागलुङमा समेत दर्शन गर्नुभयो । सबैभन्दा पहिलो स्याङ्जास्थित आलमदेवी मन्दिरमा कुलपूजामा सहभागी हुनुभयो । त्यो भन्दा अघि रानीको जन्मदिनको अवसरमा पोखराको माउन्टेन ग्लोरीमा दर्शनभेट सँगै शुभकामना कार्यक्रमको आयोजना गरिएको थियो ।
शिवरात्रिका दिन केदारेश्वरमा आरती, त्यसपछि विन्ध्यवासिनीमा पूजा गर्नुभयो जहाँ करिब दुई किलोमिटरसम्म नागरिक भेटघाट (पैदलयात्रा) गर्दै विन्ध्यवासिनीको पूजा गर्न जानुभयो । लगत्तै बागलुङकालिका र गलेश्वरमा पूजा गर्नुभयो । पोखरा–१० रामबजारस्थित वीरेन्द्रचोकमा स्व.राजा वीरेन्द्रको पूर्णकदको शालिक अनावरण गर्नुभयो ।
रामबजारमै रहेको राम मन्दिरको दर्शन गरी करिब पाँच सय मिटर नागरिक स्वागतसहित शालिक अनावरण गर्नुभएको थियो । त्यति बेला राजा ज्ञानेन्द्र भावुक हुनुभएको थियो । २०५९ सालमा त्यहाँ शालिक राखिएको थियो । वीरेन्द्रको शालिक बनेदेखि नै चोकको नाम वीरेन्द्रचोक राखिएको हो । तर, २०६२÷६३ सालको आन्दोलनले शालिक तोडफोडसँगै हटाइएको थियो । गत वर्ष २५ लाख रुपैयाँ खर्च गरेर ८ फिट अग्लो शालिक निर्माण गरिएको हो ।
शालिक अनावरणका क्रममा राजावादीसँगै हिन्दू धर्मसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिको बाक्लो उपस्थिति थियो । उपस्थित शुभेच्छुक समर्थकले राजाको जयजयकार गर्दै ‘वीरेन्द्र अमर रहून्’, ‘अघि बढ्नुस् महाराज, जनता तिम्रो साथमा छन्’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, लगायत नारा लगाएका थिए ।
शालिक अनावरण कार्यक्रममा ‘श्रीमान् गम्भीर नेपाली’ पनि गुञ्जियो । पूर्वराजा ज्ञानेन्द्रले सम्बोधन भने गर्नुभएन । यसअघि पनि बीचबीचमा ज्ञानेन्द्र पोखरा आए पनि त्यति चर्चा भएको थिएन । यसपटक भने राजाको स्वागतमा धेरै नागरिकको सहभागिता भएको थियो । यसअघि २०७५ पुस २ गते पोखरामा भव्य स्वागत गरिएको छ ।











प्रतिक्रिया