शिक्षा केबल डिग्री प्राप्त गर्नु मात्र होइन : प्रधानमन्त्री ओली

1.6k
Shares

सुर्खेत ।

प्रधानमन्त्री एबम् मध्यपश्चिम विश्वविद्यालयका कूलपति केपी शर्मा ओलीले विश्वविद्यालयहरुले प्रविधिमैत्री शिक्षाको आवश्यकता बढ्दै गएको बताउनुभएको छ ।

शुक्रवार सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले उत्पादनमुखी र रोजगारीमूलक कार्यक्रमहरुको साथै आ-आफ्नो प्रदेश र क्षेत्र अनुसारको पढाइ गर्नुपर्ने र प्रविधिमैत्री शिक्षाको खाँचो रहेको बताउनुभयो ।

साथै उहाँले समयानुकुल विषयहरुलाई प्राथमिकता दिएर विद्यार्थीहरुलाई विदेश पलायन हुनबाट रोक्न सुझाव दिनुभयो । विश्वविद्यालयबाट दीक्षित भएका विद्यार्थीहरु देशको सक्षम नागरिक भएकोले उनीहरुबाट देशले धेरै अपेक्षा गरेको उहाँको भनाइ छ । उहाँले नयाँ पिंढीलाई किताबी ज्ञानका साथै अब त्यो भन्दा परको खोज अनुसन्धानमा लागी सामन्ती र संकीर्ण सोच नराखी अगाडि बढ्न आग्रह गर्नुभयो ।

उहाँले मध्यपश्चिम विश्वविद्यालयले आगामी शैक्षिक सत्रमार्फत विद्यार्थीको रोजाईको विश्वविद्यालय बन्दै जाने विश्वास लिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीे शिक्षा भनेको डिग्री प्राप्त गर्नु मात्र होइन भन्दै जीवनलाई सही दिशा दिने मार्ग पनि भएकोले राष्ट्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति तयार गर्ने साझा जिम्मेवारी विश्वविद्यालयहरुको भएको जनाउनुभयो । साथै आगामी दिनमा यसको जनशक्तिले देश विकासमा हातेमालो गर्ने अपेक्षा आफूले गरेको प्रम ओलीको भनाइ छ ।

समारोहमा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका अग्रज प्राध्यापक महेन्द्र पि. लामाले विश्वविद्यालयले देशको आवश्यकता पूरा गर्ने जनशक्तिहरु तयार पार्ने हुँदा मध्पश्चिम विश्वविद्यालयले पनि देशको आवश्यकता पूरा गर्ने जनशक्ति तयार पारेको उल्लेख गर्नुभयो । उहाँले समयको माग अनुसारका बिषय, खोज र अनुसन्धान हुनुपर्ने सुझावसमेत दिनुभयो ।


यस्तै विश्वविद्यालयका उपकूलपति प्रा.डा. ध्रुवकुमार गौतमले कर्णाली प्रदेशको समग्र आर्थिक, सामाजिक, प्राकृतिक अवस्थालाई मध्यनजर गर्दै समय सापेक्षा शिक्षा प्रदान गरेको बताउनुभयो ।

उहाँले शिक्षाको बजारमा प्रतिस्पर्धी जनशक्ति तयार पारेको दावी गर्दै उच्च शिक्षालाई आत्मनिर्भर बनाउने प्रयास गरिएको उल्लेख गर्नुभयो । विश्वविद्यालयबाट विज्ञान तथा प्रविधि, व्यवस्थापन, इञ्जिनियरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामााजिकशास्त्र गरी सबै सङ्कायबाट स्नातक तहका दुई हजार एक सय ८९, स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा शैक्षिक सफलता हासिल गरेका एक हजार छ सय ६३ र व्यवस्थापन संकायको दर्शनाचार्य पूरा गरेका १९ विद्यार्थी दीक्षित भएका हुन् ।