देशलाई अस्थिरतातर्फ लैजाने खेल रोकिनुपर्छ
काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाह पुनः राजाको रूपमा नारायणहिटी फर्कने तयारीस्वरूप पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल तथा विवादास्पद मेडिकल माफिया दुर्गा प्रसाईंको शरणमा पुगेका छन् ।
फागुन ७ गते प्रजातन्त्र दिवसका दिन पूर्वराजा ज्ञानेन्द्रले दलमाथि अवाञ्छित आरोप लगाउँदै आफूले राज्यको नेतृत्व लिन चाहेको बताएपछि पूर्वपञ्चहरू एक ठाउँमा उभिएर गणतन्त्रविरुद्ध खुलेआम नारा लगाउन थालेका छन् ।
दलका नेतामाथि आक्षेप लगाउँदै आउँदो वैशाख १ गतेभित्र शीतलनिवासमा रहेका पूर्वराजा ज्ञानेन्द्रलाई नारायणहिटी भित्र्याउने भन्दै हरेक दिनजसो राष्ट्रिय झण्डाको दुरुपयोग गर्दै दरबारमार्गमा जम्मा हुनेहरूको भीड बढ्दो अवस्थामा रहेको छ ।
संघीयता खारेजी हिन्दु धर्म र राजतन्त्र पुनःस्थापनाको नारा दिएर अहिले पूर्वपञ्च सम्मिलित दुवै राप्रपा र मेडिकल माफिया प्रसाईंले देशभर गणतन्त्रविरुद्धको आवाजलाई देशव्यापी बनाउने प्रयास थालेका छन् । मुलुक भ्रष्टाचारमा डुबेको नेताहरूले अर्बांै रुपियाँ विदेशको खातामा जम्मा गरेको, मुलुकलाई फिरिङ्गीहरूको देश बनाउन खाजेको भन्दै नेताविरुद्धको नारा घन्कँदै गएको छ ।
यता, दलका नेताहरू भने आफ्नै डम्फु बजाउँदै मुलुकमा अस्थिरता मच्चाउने समूहलाई मलजल गर्दै आएका छन् । गत असोज १७ देखि २० गतेसम्म पूर्वराजा ज्ञानेन्द्रले भुटानको भ्रमण गरेपछि नेपालमा गणतन्त्रमाथि एकोहोरो प्रहार गर्ने काम शुरू भएको छ । पूर्वराजाको उक्त भ्रमणलाई निजी भ्रमण भनिए पनि नेपालमा अस्थिरता मच्चाउन चाहेको समूहले पूर्वराजा ज्ञानेन्द्रलाई प्रयोग गरेर अहिलेको संसदीय व्यवस्थामाथि प्रहार गर्न शुरू गरिएको देखिन्छ ।
प्रधानमन्त्रीमा केपी ओलीको प्रवेशसँगै झस्किएका छिमेकीहरू नेपालमा कसरी अस्थिरता ल्याउन सकिन्छ र केपी ओलीको सत्तालाई ढालेर आफ्नो अनुकूलको सत्ता ल्याउन सकिन्छ भन्ने हेतुले पूर्वराजालाई हिन्दुसहितको राजतन्त्रका लागि तयार रहन सुझाव दिएपछि अहिले गणतन्त्रविरुद्ध नारा लगाउनेहरूको समूह बढ्दै गएको पाइन्छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएको दाबी गर्दै उक्त क्षेत्रलाई नेपाली नक्सामा ल्याएपछि रिसाएको छिमेकी मुुलुकले नेपालमा अस्थिरताको बीउ रोपिदिएको राजनीतिक विश्लेषकहरूले बताउँदै आएका छन् ।
उक्त भूभागका बारेमा वार्ताको माध्यमबाट समाधानको पहल हुनुपर्ने नेपालको अडानलाई भारतले भने उक्त भूभाग आफ्नो भएको र त्यसबारेमा कुनै वार्ता वा संवाद नहुने भन्दै उपयुक्त समयको खोजीमा रहँदै आएको छ । अहिले सरकारमाथि चौतर्फी दबाब सिर्जना गरेर सत्ता उलटपुलटको अस्वाभाविक योजनामा रहेका ज्ञानेन्द्रलाई विभिन्न शक्तिले उचालिरहेको देखिन्छ । त्यही आडमा अहिले ज्ञानेन्द्र आफ्नो गुमेको राजतन्त्र फर्काउने झिनो आशामा पूर्वपञ्चहरूसहितका अस्थिर शक्तिको साहरा लिन पुग्नुभएको छ ।
गणतन्त्रका हिमायती भएको दाबी गर्ने दलहरूको पनि पछिल्लो गतिविधि विचित्रको देखिँदै आएको छ । सत्ताका लागि ज्ञानेन्द्रसँग मिलेर अघि बढ्न तयार रहनु र हिजो सँगै लडेका दलविरुद्ध विष वमन गर्दै हिँड्नुले ज्ञानेन्द्रमात्र होइन नयाँ शक्तिका रूपमा आफूलाई स्थापित गर्दै लगेको दाबी गर्नेहरू राजावादीकै लहलहैमा लागेर सत्ताको झिँगे दाउमा रुमलिन थालेका छन् ।
गणतन्त्रमाथि बलात आक्रमण हँुदा स्वतन्त्रताको नाममा विभिन्न संगठनहरू गणतन्त्रकैविरुद्ध देखिन थालेका छन् ।
गणतन्त्रको विकल्प राजतन्त्र नहुने राजनीतिक विश्लेषकको भनाई छ । यद्यपि गणतन्त्रका नाममा सत्तामा बसेकाहरूले गरेका गलत क्रियाकलापको भण्डाफोर गर्दै अघि बढ्नुपर्ने बेला आइसकेको विश्लेषकको सुझाव छ । भूराजनीतिक हिसाबले मुलुक अहिले सघन अवस्थामा रहेको छ । यसको फाइदा उठानेहरूले नेपाली–नेपालीबीच भिडाएर आफ्नो स्वार्थपूर्तिका लागि अघि बढेका छन् ।
स्वतन्त्रताका नाममा भइरहेका पछिल्ला क्रियाकलापले नेपाली–नेपालीबीच भिडन्तको अवस्था सिर्जना हँुदै गएको र यसले मुलुकलाई अस्थिरतामा लैजाने खेल शुरू भएको देखिन्छ । यस्ता सबैखाले खेलहरू रोकिनुपर्ने र गणतन्त्रवादीहरू पनि सच्चिनुपर्ने विश्लेषकहरूको सुझाव छ ।
नेपालमा अबको १२ वर्षमा कम्युनिस्ट रहँदैनन्
पुराना पूर्ववामपन्थी नेता नीलाम्वर आचार्यले अबको १२ वर्षपछि नेपालमा कम्युनिस्ट भन्ने राजनीतिक पार्टी नै नरहने बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमा अबको १२ वर्षमा नेपालमा कम्युनिस्ट पार्टी राजनीतिक रङ्गमञ्चमा रहने छैनन् भन्नुभएको छ ।
उहाँले न माक्र्सवादी, न लेनिनवादी, न माओवादी, न त अन्य कुनै कम्युनिस्टवादी, चुनावी प्रतिस्पर्धा गैरकम्युनिस्ट पार्टीहरूबीच मात्रै हुने भन्दै नेपालबाट कम्युनिस्टको पतन हुने बताउनुभएको छ ।











प्रतिक्रिया