–हाजिर गर्न जाने वातावरण हुनुपर्नेमा गुरागाईंको जोड
काठमाडौं ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई काम गर्ने वातावरण बनाइदिन भन्दै काठमाडौं महानगरपालिकालाई पत्राचार गरेपछि अब गुरागाईं पुनः गएर काम गर्ने हुनुभएको छ ।
मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका कर्मचारी गुरागार्इंलाई महानगर प्रमुख बालेन्द्र साहले हाजिर गर्न नदिएको गुनासो आएपछि मन्त्रालयले कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन महानगरलाई आग्रह गरेको हो । मन्त्रालयको पत्रपछि बालेन तनावमा देखिनुभएको महानगरले मन्त्रालयलाई लेखेको पत्रले पुष्टि गरेको छ ।
गुरागाईंले पुस ८ गतेदेखि कार्यालयमा हाजिर गर्न नदिएको भन्दै मन्त्रालयसमक्ष लिखित गुनासो गरेपछि मन्त्रालयले यस्तो आग्रह गर्दै पत्राचार गरेको हो । मेयर बालेन साहले आफ्नो कार्यकक्षमा ताला लगाई काम गर्न नदिएको तथा अनेक झुटा लाञ्छनासमेत लगाएको गुरागार्इंले मन्त्रालयमा निवेदन दिएको बताइएको छ ।
मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले बुधबार पत्राचार गर्दै भनेको छ, ‘तहाँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईंले आफूलाई खटाइएको कार्यालयको कार्यकक्षमा प्रवेश गर्न अवरोध सिर्जना गरी कार्यवातावरण बिथोलिएको तथा पुस ८ देखि हाजिर गर्न नपाएको अवस्था रहेकाले आवश्यक व्यवस्थापन गरी कार्यवातावरण सहज बनाइदिनु हुन भनी यस मन्त्रालयमा निवेदन पेस गर्नुभएको हुँदा निजलाई तहाँ महानगरपालिकामा हाजिर भई कार्य सम्पादनका लागि आवश्यक सहजीकरण गरिदिनुहुन अनुरोध छ ।’
प्रमुख प्रशासकीय अधिकृत गुरागार्इंलाई मन्त्रालयले गत भदौ २७ गते प्रमुख प्रशासकीय अधिकृत बनाएर काठमाडौं महानगरपालिकामा पठाएको थियो । मेयर साहका स्वीकय सचिव भूपदेव शाहले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउन आदेश दिनुभएको थियो भने अपमानजनक ढंगले गाडीको साँचो खोसिएको थियो ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीमाथि पनि स्वकीय सचिव शाहले नै दुव्र्यवहार गरेको आरोप छ । प्रमुख प्रशासकीय अधिकृत गुरागार्इंले पटकपटक हाजिर गर्ने प्रयास गर्दा पनि मेयर सचिवालयले अस्वीकार गरेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आफू हाजिर गर्न जान तयार भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘काम गर्ने वातावरण भए किन हाजिर गर्न कार्यालय नजानु र ?’ तर, मेयर सचिवालयले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिने सम्भावना छैन ।
काठमाडौं भ्यु टावर छानबिन समितिले डेढ महिनासम्म प्रतिवेदन दिन नसकेपछि मेयर साहले समितिको अस्तित्व समाप्त पार्नुभएको थियो । लगत्तै कामपाका तीन विभागीय प्रमुख सम्मिलित समितिले राय पेस गरेको थियो । सो रायमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि कारबाही गर्न सिफारिस गरेको छैन । त्यसैको आधारमा गुरागार्इंलाई हाजिर गर्न दिनुपर्ने जिकिर सरकारको छ ।
सोही आधारमा हाजिर हुने तयारीमा रहनुभएका प्रमुख प्रशासकीय अधिकृतमाथि मेयर सचिवालयले व्यवधान खडा गरिरहेको छ । मेयर साहले मन्त्रालयमा पेस गरेको रायमा कारबाहीको विषय उल्लेख छैन । कारबाही गर्ने अधिकार नभएको कामपाले प्रमुख प्रशासकीय अधिकृतमाथि सकस दिएको आरोप छ । मन्त्रालय मेयर साहको पत्रको पर्खाइमा रहेको छ । निर्दोष सावित हुनुभएका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई मन्त्रालयले हाजिर गर्न जान भनिरहेको छ ।
बक्स १
काठमाडौंमा निमित्तलाई आर्थिक अधिकार दिनु गलत ः मन्त्रालय
काठमाडौ महानगरले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर निमित्तलाई आर्थिक अधिकार दिन आग्रह गरे पनि त्यसो गर्न नसकिने मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयका सचिव रविलाल पन्थले एउटा प्रशासकीय अधिकृत हुँदाहुँदा निमित्तलाई आर्थिक अधिकार दिन नमिल्ने र त्यो कानुनविपरीत हुने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत नभएको दुर्गम ठाउँमा निमित्तलाई आर्थिक अधिकार दिइने अभ्यास भए पनि सुगम ठाउँमा त्यस्तो कार्य गर्न नसकिने सचिव पन्थले स्पष्ट गर्नुभयो ।
बक्स २
गुरागाईंलाई हाजिर गराउन सक्दैनांै:काठमाडौं महानगर
काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरोजप्रसाद गुरागाईंलाई पुनः हाजिर गराउँदा नकारात्मक असर पर्ने भन्दै हाजिर गर्न नसक्ने व्यहोराको पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएको छ ।
मन्त्रालयले बिहीबार काठमाडौं महानगरलाई पत्र लेख्दै गुरागार्इंलाई नै काम गर्ने वातावरण बनाउन आग्रह गरेको थियो तर महानगरले त्यसको जवाफ दिँदै हाजिर गराउन नसकिने जनाएको हो ।
महानगरले अर्को प्रमुख प्रशासकीय अधिकृत नपठाउँदासम्म निमित्त प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिई कार्यालय सञ्चालनमा सहयोग गर्न आग्रहसमेत गरेको छ ।











प्रतिक्रिया