सुरक्षा कमान्ड गठन, सुरक्षा व्यवस्था कडा पार्न गृहमन्त्रीको निर्देशन

स्ववियु निर्वाचन–२०८१

23.69k
Shares

– ७७ जिल्लाका प्रजिअलाई निर्देशन
-नेपाल प्रहरी र सशस्त्र प्रहरी तयारी अवस्थामा

काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले स्ववियु निर्वाचनमा पूर्ण सुरक्षा व्यवस्था गर्न ७७ वटै प्रमुख जिल्ला अधिकृतहरूलाई निर्देशन दिनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्टारसहितको बैठकमा गृहमन्त्री लेखकले प्रजिअसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखलाई पनि निर्देशन दिनुभएको थियो । सोही अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीका एआईजीको नेतृत्वमा चुनावका लागि सेल गठन भएको छ ।

मन्त्री लेखकले बुधबार बिहान गृह मन्त्रालयमा प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित उच्चपदस्थ प्रहरी अधिकारीलाई मुलुकका विभिन्न क्याम्पसमा हुने स्ववियु निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मजबुत बनाउन निर्देशन दिनुभएको थियो । उहाँले निर्वाचन हुने प्रत्येक जिल्लाको जिल्ला प्रहरी कार्यालयमा स्ववियु निर्वाचनकै लागि सम्पर्क व्यक्ति तोकेर सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिनुभएको छ ।

गृहमन्त्रीले स्ववियु निर्वाचनलाई आम निर्वाचनजत्तिकै गम्भीर रूपमा लिएर सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएपछि सरकारले सुरक्षा कमान्ड गठन गरेको छ । त्रिवि केन्द्रीय निर्वाचन समितिका संयोजक शिक्षाध्यक्ष प्राडा खड्ग केसीको संयोजकत्वमा गठित तीन सदस्यीय समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकारी छन् ।

चैत ५ गते हुने स्ववियु निर्वाचनको सुरक्षा अवस्था र उम्मेदवारको मनोनयनको दिन हुने अवस्थाबारे जानकारी लिन बुधबार सुरक्षा कमान्डको बैठक बसेको थियो । बैठकले आवश्यकताका आधारमा प्रहरी परिचालन गर्ने निर्णय गरेको छ ।
गृहमन्त्रीले लेखकले सबै क्याम्पसमा निर्वाचन सम्पन्न गर्न सुरक्षा सेल गठन गर्न दिएको निर्देशनको आधारमा त्रिविले चार दिनअघि तीन सदस्यीय कमान्ड गठन गरेको हो ।

बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, काठमाडांै, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको उपस्थिति थियो । बैठकमा कमान्डका प्रमुखले प्रजिअको निर्देशनमा प्रहरी परिचालन गर्ने निर्णय गरेको छ । त्रिवि निर्वाचन समितिका सदस्यसचिव एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले सुरक्षा कमान्डको बैठकले आवश्यकताको आधारमा सुरक्षाबल परिचालन गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा हुलहुज्जत गर्ने समूह पहिचान गरी नियन्त्रण गर्ने र फर्जि मतदाताको निगरानी गर्न सादा पोशाकको प्रहरी परिचालन गर्नेसमेत निर्णय भएको छ ।

गत फागुन १९ गतेबाट स्ववियु निर्वाचन प्रक्रिया शुरू भएको थियो । हिजो बुधबार मतदाता नामावली सार्वजनिक गरिएको छ । निर्वाचन प्रक्रिया स्थगित भएका उपत्यकाका रत्नराज्य, सरस्वती र नेपाल ल क्याम्पसमा प्रक्रिया थाल्ने तयारी भएको छ ।
देशभर ६२ वटा आंगिक क्याम्पसहरूमध्ये ५क्याम्पसमा मात्रै संगठन दर्ताको प्रक्रिया स्थगित भएको छ । विभिन्न क्याम्पसहरूमा झडप तथा विवाद सिर्जना भएको छ । काठमाडौं उपत्यकाभित्रका सरस्वती बहुमुखी क्याम्पस र नेपाल ल क्याम्पसमा निर्वाचन प्रक्रिया नै अगाडि बढ्न सकेन । नेविसंघ र अखिल क्रान्तिकारीले आफूहरूको विद्यार्थी भर्ना गर्न नपाएको जनाउदै प्रक्रिया स्थगित भएको थियो ।

२०७९ सालको निर्वाचनमा उपत्यकाका ४ र बाहिरका ८ गरी १२ आंगिक क्याम्पसमा निर्वाचन भएको थिएन । त्रिविले यो वर्ष सबै आंगिक क्याम्पसमा निर्वाचन गर्ने तयारी गरेको छ । कार्यतालिकाअनुसार फागुन २१ गते बिहान १० बजे मतदाता सूची प्रकाशन, २५ गते मतदाता सूचीउपर दाबी विरोध गर्ने, सोही दिन दिनको ५ बजे अन्तिम नामावली प्रकाशन गर्नेगरी तालिका सार्वजनिक भइसकेको छ ।

कार्यतालिकाअनुसार फागुन २६ गते मनोनयनपत्र वितरण गरेपछि २७ गते समानुपातिक र प्रत्यक्षतर्फको मनोनयन दर्ता, २८ गते प्रत्यक्ष समानुपातिकतर्फको उम्मेदवारको दाबी विरोध र सोही दिन ५ बजे उम्मेदवारको दाबी विरोधउपर छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

फागुन २९ गते दिनको १ बजेसम्म उम्मेदारको नाम फिर्ता लिई अन्तिम नामावली प्रकाशन गर्ने रहेको छ । कार्यतालिकाअनुसार चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान हुनेछ । निर्वाचनका लागि प्रचारप्रसार गर्ने समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्म र त्यसपछि मौनअवधि शुरू हुनेछ । मौनअवधि शुरू भएपछि निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न निषेध गरेको छ ।