काठमाडौं ।
अवैध रूपमा अमेरिका छिरेका ९ जना नेपाली बुधबार बिहान नेपाल फिर्ता भएका छन् । नेपाल फिर्ता भएका ९ जनालाई अमेरिकी सरकारले हातमा हतकडी र खुट्टामा लेन लगाएर चार्टर्ड फ्लाइटमार्फत नेपाल पठाएको हो भने एक जना भने नियमित फ्लाइटबाट नेपाल आइपुगेको प्रहरीले जानकारी दिएको छ ।
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि अवैध रूपमा अमेरिका छिरेका आप्रवासीलाई फिर्ता गर्ने घोषणा गरेपछि पहिलोपटक ९ जना नेपालीलाई स्वदेश फर्काइएको हो । अमेरिकी विमानमा आएका उनीहरूलाई अमेरिकी अध्यागमन कार्यालयका कर्मचारीले विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाई दिएको सो कार्यालयकी सूचना अधिकारी सीता परियारले जानकारी दिनुभयो ।
अध्यागमन कार्यालयले आफ्नो जिम्मामा लिएका ती नेपाली नागरिकलाई थप परामर्श र अभिभावकको जिम्मा लगाउन नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोलाई जिम्मा लगाइदिएको थियो । ब्युरोले शुष्मा घर्ती, लक्ष्मण कालेल, सुकुमार पुन मगर, हिमाल बिके, मोहन गौतम, टोपबहादुर घर्ती, कमलप्रकाश ओली, तीर्थबहादुर थापालाई अमेरिकी चार्टर्ड विमानले विभिन्न मुलुक हुँदै नेपाल ल्याएर छोडिदिएको थियो ।
अवैध रूपमा अमेरिका प्रवेश गरेका उनीहरुलाई आफुखुसी नेपाल फर्कन नमानेपछि हातमा हतकडी र खुट्टामा नेल ठोकेर नेपाल फर्काएको थियो । बुधबार नै अमेरिकामा अवैध रूपमा प्रवेश गरेकी डोटीकी बिनिता केसी भने कतार एयरवेजमार्फत आफ्नै खर्चमा नेपाल फर्कनुभएको थियो ।
नेपाल फर्किएका ९ जनालाई नै मानव बेचबिखन अनुसन्धान ब्युरोले आवश्यक परामर्श गरी आफन्तको जिम्मा लगाएको छ । ब्युरोका एसएसपी जर्नादन जिसीले नेपाल फर्काइएका ९ जना नै ५ महिनादेखि १० महिना अघिमात्रै अमेरिका प्रवेश गरेको पाइएको जानकारी दिनुभयो ।
फर्काइएकाहरूले आफूहरू नेपालबाट विभिन्न मुलुक हुँदै कष्टकर जीवन बिताउँदै ५ देखि ९ महिना लगाएर अमेरिका प्रवेश गरेको र आफूहरूलाई कसैले फसाएको नभई आफूखुसी नै अमेरिका प्रवेश गरेको जानकारी गराएको एसएसपी जिसीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।
एसएसपी जिसीका अनुसार डोटी, दाङ, बाग्लुङ, पर्वत, म्याग्दी घर भएका उनीहरू ५५ लाखदेखि एक करोड रुपियाँसम्म खर्च गरेर दक्षिण अमेरिका हुँदै अमेरिका प्रवेश गरेका थिए । ब्युरोले आफन्तको जिम्मा लगाउनु अघि कुन दलालमार्फत अमेरिका पुगेको भनेर सोध्दा उनीहरूले कसैलाई दोष नदिई आफूखुसी नै अमेरिका गएको बताएका छन् । अमेरिकाबाट फर्काइएका मध्ये कोही काठमाडौंबाट थाइल्यान्ड, भियतनाम, कम्बोडिया, घाना, मेक्सिको हुँदै अमेरिका प्रवेश गरेका थिए भने कतिपय काठमाडौंबाट सिंगापुर, मलेसिया, लाओस, दक्षिण अमेरिकाका विभिन्न मुलुक हुँदै अमेरिका प्रवेश गरेका थिए ।
अवैध बाटो हुँदै अमेरिका पुगेका उनीहरूलाई अमेरिका बस्दै आएका नेपाली र नेपाली भाषी भुटानीले अमेरिकी सरकारलाई सूचना उपलब्ध गराएपछि उनीहरूलाई पक्राउ गरेर विभिन्न जेलमा सार्दै नेपाल फिर्ता गराएको पाइएको प्रहरीले जनाएको छ ।
अमेरिकाले जबरजस्ती नेपाल फिर्ता गराइएका कारण जटिल मानसिक तनावमा परेको अवस्था देखिएकाले प्रहरीले फर्काइएका व्यक्तिहरूको अभिभावकलाई मानसिक परामर्शपछि मात्रै घर लैजान सुझाव दिएको छ ।











प्रतिक्रिया