विश्वभर बुद्ध शिक्षाले शान्ति कायम गर्न टेवा पुग्ने : उपप्रधान मन्त्री सिंह

लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन शुरु

470
Shares

बुटवल ।

बुद्ध जन्मस्थल लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन शुरु भएको छ । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले एक समारोहका विच त्रिपिटक (पाठ) को शुभारम्भ गरेका हुन् ।

अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचन शुरू गरिएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधान शहरी विकास मन्त्री सिंहले विश्वभर अस्थिरताको संकेत देखा परेको अवस्थामा बुद्धको शिक्षाले शान्ति कायम गर्न सक्ने बताए ।

उनले बुद्धको शिक्षाहरुलाई पुर्नताजगी गराई त्रिपिटक पाठले विश्वमै लुम्बिनीबाट शान्तिको सन्देश जाने बताए । बुद्धजन्मस्थल लुम्बिीलाई विश्वशान्तिको सन्देश दिने थलोका रुपमा विकास गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड छ । उनले लुम्बिनी विकास कोषले पूर्वाधार विकाससँगै त्रिपिटक जस्ता अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमलाई बढाउनुपर्ने सुझाव दिए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्धका उपदेशहरुलाई विश्वभर फैलाउन त्रिपिटक पाठ समरोह फलदायी हुने बताएका छन् । उनले त्रिपिटक पाठ बुद्धका शिक्षाहरुको सन्देश फैलाउने माध्यम भएकाले यस्ता कार्यक्रमलाई अझ ठूलो संख्यामा गर्दै जानुपर्ने बताए ।

उनले थेराबाद, महायान र ब्रजयाना सबै एक जुट भएर बुद्धको उपदेशलाई संसारभर फैलाउन सकिने बताए । बुद्ध दर्शनलाई विश्वले आत्मसाथ गरेको बताउँदै एक अर्ब बढि बुद्धिष्टहरुलाई लुम्बिनीमा आर्कषित गर्नुपर्ने बताए । उनले लुम्बिनी शान्ति र बुद्धदर्शनको उत्पती भएको स्थान भएकाले यहाँबाट शान्तिको सन्देश फैलाउन सकिने बताएका छन् ।

यस्तै कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलामान घिसिङले लुम्बिनी क्षेत्र अध्यारो देखिएको बताउँदै मायादेवी परिसर सहितको क्षेत्रलाई ‘स्प्रिच्यूल लाईटिङ’ बनाउने प्रतिबद्धता जनाए । गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको संग्रहित ग्रन्थका रुपमा त्रिपिटकलाई लिईन्छ ।

अपि धम्म शुत्र पिटक, शुत्त पिटक र सम्राट अशोकको पालामा दोस्रो शताब्दी ईशापूर्वमा लेखिएको विनय पिटक गरी ३ ग्रन्थलाई मिलाइ बनाइएको ग्रन्थलाई नै त्रिपिटक भन्ने गरिएकाे छ ।