सल्यान खड्गी सहायक प्रशिक्षक


काठमाडौं ।
ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीका सहायक प्रशिक्षक नियुक्त भएका छन् ।

खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । आइतवार मात्र एन्फाले अस्ट्रेलियन म्याट रोसलाई टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

राष्ट्रिय टोलीमा विनोद डंगोल गोलकिपर प्रशिक्षक, रमेश कुमार कार्कीले व्यवस्थापक, नकुल हमाल ठकुरीले सहायक व्यवस्थापकको जिम्मेवारी पाएका छन् । टोलीको फिजियोथेरापिस्टमा निशान्त जोशी छन् । सबैलाई राईले नियुक्ति पत्र हस्तान्तरण गरे ।

एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ गते मलेसियासँग हुने एएफसी एसियन कप छनोट खेलका लागि खड्गीसहितलाई विभिन्न जिम्मेवारी दिएको छ ।

एसियन कप छनोटमा नेपाल ग्रुप ‘एफ’ मा मलेसिया, भियतनाम र लाओससँग रहेको छ । नव नियुक्त प्रमुख प्रशिक्षक रोसले मंगलवार नै प्रारम्भिक चरणमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।